काठमाडौं । द्रौपदी मुर्मुले भारतको १५औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छन् । द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीशले शपथ दिलाएका छन् । द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् ।
भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् । उनी स्वतन्त्र भारतमा जन्मिएर राष्ट्रपति बन्ने पहिलो व्यक्ति पनि हुन् ।
भारतको पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल थिइन् । सन्थाल जातिकी अल्पसंख्यक सदस्य उनको समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएका समाचार संस्था एपीले जनाएको छ ।
राजनीतिमा प्रवेश गर्नुअघि उनी विद्यालय शिक्षिका थिइन् । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद भएकी उनका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख थिए ।
यसै साता राष्ट्रपतिका लागि भएको निर्वाचनमा मुर्मुले दुई हजार आठसय २४ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार आठसय ७७ मत प्राप्त गरेका थिए । निर्वाचनमा चार हजार सातसय ५४ मत मत खसेको थियो, जसमा ५३ मत बदर भएको थियो ।