Logo
Logo

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक


315
Shares

झापा । झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।

यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६औँ वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटै जिल्ला वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ ।

सत्र वर्षअघि रु दुई करोड पूँजीमा स्थापित यो बैंकले आफ्ना एक लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । ग्राहकको सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यतामा उभिएर आफ्ना गतिविधि गरिरहेको एक्सेलमा २६६ कर्मचारी कार्यरत छन् ।

बैंकको साधारणसभाले कम्पनीको जारी र चुक्ता पूँजी रु एक अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ बाट बढाएर रु एक अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७० पुर्याउने निर्णय गरेको छ ।

साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनका अनुसार आव २०७८ चैतसम्ममा बैंकले रु ११ अर्ब २५ करोड ९४ लाख ९७ हजार निक्षेप सङ्कलन र रु १० अर्ब ६९ करोड ८९ लाख ५८ हजार कर्जा लगानी गरेको छ । सोही अवधिसम्मको बैंकको खुद नाफा रु १० करोड ५८ लाख ६५ हजार रहेको जनाइएको छ ।

साधारणसभाले ८.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयरको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्