Logo
Logo

निर्मला पन्त हत्याकाण्ड : कांग्रेस-एमालेको राजनीतिक मुद्दा मात्रै !


3.1k
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगको छ ।
चार वर्षअघि आजकै दिन अथात् १० साउन २०७५ मा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । तर, अहिलेसम्म दोषीको पहिचान हुन सकेकाे छैन ।

गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला ११ साउनको बिहान उखुबारीमा मृत अवस्थामा भेटिएका थिए । निर्मलाको हत्या भएकाे चार वर्ष बितिसक्दासमेत घटनाको सत्यतथ्य पत्ता लाग्न सकेको छैन ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डबारे अनुसन्धानका लागि थुप्रै प्रयास भए । प्रहरी अनुसन्धान अधिकृत परिवर्तन फेरिए । तर, अझै यथेष्ट प्रमाण भेटाउन सकेको छैन । अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यमै छ ।

यति धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर यसरी अनुसन्धान गरेको याे पहिलो घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सुरुदेखि नै अनुसन्धानमा प्रहरीले लापरवाही आरोप लगाउँदै आएको छ । सुरुमै प्रहरीले पीडित परिवार र सर्वसाधारणको विश्वा गुमाएको थियो । त्यो विश्वास अझै फर्काउन सकेको छैन । निर्मला हत्याको चार वर्ष पुग्दा अनुसन्धान जारी छ भन्नेबाहेक सरकार तथा प्रहरीसँग अरू कुनै जवाफ छैन ।

कांग्रेस-एमालेको राजनीतिक मुद्दा !

निर्मलाको हत्या भएको बेला केपी शर्मा ओली नेतृत्वको सरकारको थियो । प्रमुख प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेस थियो । ओली सरकारमाथि कांग्रेसले लगाउने एउटा प्रमुख आरोप निर्मला पन्त हत्या प्रकरणमा सरकारको अक्षमता थियो ।

०७५ सालको फागुन १७ गते शेरबहादुर देउवाले उल्टाखामस्थित निर्मलाकै घरमै पुगेर हत्यारालाई कुनै हातलमा नछोड्ने आश्वासन दिए । उनले निर्मलाका परिवासँग भनेका थिए- ‘निर्मलाको न्यायका लागि हामी सरकारलाई दबाब दिन्छौँ । यस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई कुनै पनि हालतमा छाड्नु हुँदैन् । हामी हत्यारा पत्ता लाग्नुपर्छ भन्ने पक्षमा उभिएका छौँ ।’ त्यो बोल उक्त विषयलाई लिएर कांग्रेसले सरकारको चर्को आलोचना गर्यो ।

तर, समय फेरियो । सरकार फेरियो । परिस्थिति फेरियो । कांग्रेसको सरकार बन्यो । एमाले प्रमुख प्रतिपक्षी बन्यो ।

अहिले एमालेले निर्मला हत्या प्रकरणलाई लिएर सरकारको आलोचना गरिरहेको छ । कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको एक वर्षभन्दा धेरै भइसक्यो । तर, देउवाले पनि निर्मला प्रकरण सल्झाउन सकेको छैन ।

ओली नेतृत्वको सरकार हुँदा निमर्ला हत्या प्रकरणमा सरकार असफल भन्थे कांग्रेस । देउवा नेतृत्वको सरकार हुँदा निर्मला हत्या प्रकरणमा सरकार असफल भनिरहेकाे छ, एमाले । अहिले निमर्लाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमालेले सरकारको आलोचना गरिहेको छ ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरुले निर्मला हत्या घटनाको दोषी पक्राउ पर्न नसक्नु दुखद् भएको भन्दै सरकारको आलोचना गरे । एमाले सांसद केदार सिग्देल र गंगा चौधरीले निर्मला हत्या घटनालाई लिएर सरकारमाथि खनिए ।

तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन खोजेको आरोप लगाउने तत्कालीन प्रतिपक्षी दलका सांसदहरुको आवाज अहिले सत्तामा पुगेपछि बन्द भएको उनीहरुको आरोप छ ।

‘तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन अनुसन्धान नगरेको भन्दै कांग्रेसका माननीयज्यूहरुले यो हलै थर्कनेगरी बोलेको सुनिन्थ्यो,’ सांसद सिग्देलले संसद बैठकमा भने, ‘म सोध्न चाहान्छु, देउवा सरकारले यो एक वर्षसम्म अपराधी पत्ता लगाउन के के काम गर्यो ? सिन्को भाँचेको छैन । अपराधीलाई पत्ता लगाइ कारबाही गर्र्न प्रतिपक्ष दल सहयोग गर्न चाहन्छ, दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्छु ।’

गंगा चौधरीले निर्मला पन्तले न्याय पाएकी हुन् भन्दै प्रश्न गरे । ‘निर्मला पन्तले न्याय पाएकै हुन् ? हत्यारा पत्ता लागेकै हो ? हत्यारा पत्ता लागेको हो भने कुन कारागारमा राखेको छ ? दोषीलाई किन सार्वजनिक गरेको छैन ?’

आफ्नो राजनीतिक हैसियत फेरिएपछि निर्मला पन्तबारे ओलीको बोली पनि फेरिएको छ । सत्ता गठबन्धनको सरकार बनेको ६ महिनापछि ओलीले एउटा सर्वाजनिक कार्यक्रमा प्रश्न गरे- निर्मला पन्त, निर्मला पन्त भनेर यिनीहरू (सत्तारूढ दलहरू) कराए । छ महिनासम्म निर्मला पन्त….के हेरेर बस्याछन् ? किन छानबिन गर्दैनन् यिनीहरू ?

आफू सरकार हुँदा निमर्ला पन्तबारे अनुसन्धान गिजोलिएको ओलीले भुले । उनमाथि हत्यामा संलग्नलाई राजनीतिक संरक्षण दिएको आरोपसमेत लागेको थियो । लगाउने तत्कालीन प्रमुख विपक्षी दलका नेता हालका प्रधानमन्त्री देउवा थिए ।

ओलीले पुस ५ गते संसद विघटन गरे । पुस २४ गते धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न गए । त्यहाँ पाँच जना युवा पक्राउ परे । पक्राउ पर्नुको कारण थियो- ‘निर्मला पन्तको हत्यारा खै ?’ लेखिएको टिसर्ट लगाउनु ।

सरकारलाई दबाब दिन उत्रिएकालाई गिरफ्तार गरेपछि ओली विवादित बन्न पुगेका थिए । घटना घटेको छिमेकी जिल्ला पुग्दा पनि ओलीले निर्मलाको हत्याबारे एक शब्द पनि बोलेनन् ।

ओली सरकारमा रहँदासम्म निर्मलाले न्याय पाएनन् । पछि चाहिँ आरोप लगाए- ‘घटनालाई राजनीतिकरण गरियो ।’ यससँगै निर्मलाको हत्यारा पनि समय क्रममा पक्राउ पर्ने र घटनालाई राजनीतिक गर्नेहरूको खुलासा हुने चेतावनी दिन भ्याए । देउवालाई प्रश्न गरे– निर्मला पन्तको हत्याको घटनामा छानबिन नगरेर के हेरिबसेका छन् ?

यता ‘ओली सरकारले बलात्कारीलाई पक्रिन सक्दैन’ भन्ने देउवा प्रधानमन्त्री हुँदा पनि निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन । अर्थात् देउवा र ओलीको प्रतिपक्षमा रहँदा ‘निर्मला हत्याकाण्ड’ राजनीतिक मुद्दा मात्रै बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्