एजेन्सी । देशको दक्षिणी जाबुल प्रान्तमा मङ्गलबार विगतको युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा दुई बालबालिकाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
‘आज दिउँसो मिजान जिल्लामा बालबालिकाको एउटा समूहले खेलौना जस्तो वस्तु फेला पारेको थियो र खेल्ने क्रममा त्यो विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्,’ एक अधिकारीले सीन्ह्वालाई नाम नभन्ने शर्तमा बताएका छन् ।
यसैबीच जनस्वास्थ्य विभागका प्रान्तीय प्रमुख अब्दुल हाकिम हाकिमीले दुई जनाको शव र १० जना घाइते बालबालिकालाई अस्पताल लगिएको पुष्टि गरेका छन् । पछिल्लो पाँच दिनमा दक्षिणी क्षेत्रमा घटेको यो दोस्रो घटना हो ।
यसैगरी छिमेकी हेलमान्डको प्रान्तीय राजधानी लस्करगाहमा शुक्रबार यस्तै घटनामा एक बालकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
अफगानिस्तानलाई विश्वमा सबैभन्दा बढी खानी प्रदूषित देश मानिन्छ । युद्धबाट बचेका खानी र विस्फोटन नगरिएका हतियारहरूले प्रायःबालबालिकाहरूको ज्यान लिने घटनाहरू प्रायः घटिरहने गर्दछ।