Logo
Logo

समाजवादी केन्द्र निर्माणको औचित्य


15.4k
Shares

यतिबेला समाजवादी केन्द्र निर्माणको विषयले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ । यो वर्तमान परिस्थितिको सच्याई पनि हो ।

समाजवादी केन्द्र निर्माण कुन आधारमा गर्ने ? समाजवादी केन्द्रको औचित्य र मूल्य के हो ? समाजवादी केन्द्र निर्माण किन गर्ने ? माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका क्रान्तिकारी दलहरु मिलेर बन्ने समाजवादी केन्द्रको भविष्य के हुने ? एमाले बिनाको समाजवादी केन्द्र निर्माण सम्भव हुन्छ या हुँदैन ? यि विषयबारे चर्चा गर्नु यस लेखको आसय हो ।

समाजवादी केन्द्र निर्माण गर्ने विषयका बारेमा गम्भीर छलफल र बहस हुन आवश्यक छ । संविधानमा समावेश समाजवादी शब्दमाथि निष्कर्श निकाल्नुपर्छ । समाजवादी केन्द्र निर्माणको चर्चाले सार्थकता प्राप्त गर्ने कुरा के हो ? समाजवादी केन्द्र निर्माणको विश्वासिलो आधार के हो ? यसका बारेमा यथेष्ट मन्थन आवश्यक छन् कि छैनन् ? भन्ने खालका आम प्रश्नहरु सुनिन थालेका छन् ।

तथापि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, वामदेव गौतम जस्ता इतिहास बोकेका नेताहरु यस्ता गम्भीर विषयमा अनविज्ञ छन् भन्ने होइन । उनीहरु समाजवादी केन्द्र निर्माणको तीव्र तयारीमा जुटेका कारण पनि सर्वथा चासो बन्न स्वभाविक हो ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला कालिकोटको नरहरिनाथ गाउँपालिकाका माओवादी र समाजवादीका साथीहरुसँग मैले नेकपा (समाजवादी केन्द्र) निर्माणको बारेमा भनेको थिएँ । जुनबेला पहिलो पुस्ताका नेताहरु कसैले पनि समाजवादी केन्द्र निर्माणको बारेमा बोल्नु भएको थिएन !

संविधानले नै समाजवादी केन्द्र निर्माणको परिकल्पना गरेको र स्नाकोत्तर तहमा ‘नेपालमा समाजवादको कार्यान्वय र चुनौती’ शीर्षकमा थेसिस लेखेको अनुभवका आधारमा मैले साथीहरुसँग उक्त प्रसँग सुनाएको थिएँ ।

समाजवादी केन्द्र निर्माणको गन्तव्य र लक्ष्य मिहीन रुपमा केलाउनुपर्छ । निर्वाचनलाई ध्यानमा राखेर निर्माण गरिने समाजवादी केन्द्रको अर्थ हुँदैन । विशिष्ट औचित्य सम्झेर यसको निर्माण गरिनुपर्छ । यो युगको माग र अपरिहार्यता हो भन्ने सम्झिनुपर्छ ।

साथीहरुलाई सामान्य रुपमा बुझ्नलाई माओवादी केन्द्रको माओवादी हटाउने र एकीकृत समाजवादी पार्टीको एकीकृत हटाएर नेकपा (समाजवादी केन्द्र) निर्माण गर्ने हो, अहिलेलाई यत्ति बुझ्नुहोस् न भनेको थिएँ ।

तर, आज पहिलो पुस्ताका शीर्ष नेताहरुले नै यसको नेतृत्व लिन थालेका छन् । यो समाजवादीहरूका लागि खुसीको कुरा हो । साथै संविधानले घोषणा गरेको लक्ष्य हाँसिलका निम्ति समाजवादी केन्द्र निर्माण आजको कार्यभार पनि हो ।

शीर्ष नेताहरुको कर्तव्य पनि हो । सात दशकको जनसंघर्षको बलमा लेखिएको विद्यमान संविधानको कार्यान्वयन नै समाजवादको आधार हो । संविधान कार्यान्वयन भएमात्रै जनताको चाहाना र राजनीतिक दलको समाजवादी लक्ष्य भेटिने हो ।

उक्त लक्ष्य भेटाउनका निम्ति अग्रसर हुने शक्ति प्रगतिशील शक्तिका रुपमा स्थापित हुनेछ र जो समाजवादी केन्द्रका विपक्षमा उभिन्छन् उनीहरू प्रतिगामी ठहरिनेछन् । त्यतिमात्रै होइन समाजवादी केन्द्र निर्माण कार्यले सार्थकता भेटायो भने नेपाली राजनीतिको धार थप स्पष्ट हुनेछ ।

एमालेको नेतृत्व चरम व्यक्तिवाद र अहंकारको चुलीमा छ । जो रुपान्तरण हुन तयार छैन । यदि आफूलाई असली कम्युनिष्ट भन्छन् भने एमालेसँग भएको जनमत र संगठन समाजवादी केन्द्र निर्माणमा विना सर्त जुट्नुपर्ने हुन्छ ।

माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुको प्रयासले राप र ताप नै नलिए पनि समाजवादी केन्द्र निर्माणको अभिभाराप्रति ठूलो धक्का पैदा गर्नेछ । क. वामदेव गौतमले केपी ओली कमरेडलाई भेटेर समाजवादी केन्द्र निर्माणबारे जानकारी गराएको र ओली कमरेडले अनिच्छा प्रकट गरेको सुन्नमा आएको खबर सत्य हो भने केपी ओली करेक्सन हुन तयार छैनन् र कम्युनिष्ट आन्दोलनलाई थप धरासायी गर्ने बाटोमै छन् भनेर बुझ्नुपर्ने हुन्छ ।

समाजवादी केन्द्र निर्माणको फाइदा, बेफाइदा, यसको गन्तव्य र लक्ष्यलाई मिहीन रुपमा केलाउन आवश्यक छ । आसन्न प्रदेश र संघको निर्वाचनलाई ध्यानमा राखेर निर्माण गरिने समाजवादी केन्द्रको कुनै अर्थ रहँदैन । विशिष्ट औचित्य सम्झेर यसको निर्माण गरिनुपर्छ । यो युगको माग र अपरिहार्यता हो भन्ने सम्झिनुपर्छ ।

जनता, मतदाता, कार्यकर्ता र नेताहरूको साझा लक्ष्य बन्नुपर्छ, समाजवादी केन्द्र । एकाध नेताहरुको स्वार्थमा बन्ने समाजवादी केन्द्रले विशाल औचित्य पुष्टि गर्न सक्दैन । परिर्वतनलाई संस्थागत गर्ने र बाँकी कार्यभार पूरा गर्ने लक्ष्यका साथ यसको निर्माण गरिनुपर्छ । जसका निम्ति ठोस नीति र कार्यक्रम तयसमेत गरिनुपर्छ ।

अन्त्यमा, समाजवादी केन्द्र निर्माणको कार्यभार पहिलो पुस्ताको मात्रै नितान्त जिम्मेवारी होईन । दोस्रो र तेस्रो पुस्ताको कर्तव्य पनि हो । पहिलो पुस्ताबाट मात्रै यो विशाल कार्य सम्भव छैन । कार्यान्वनको जिम्मेवार पक्ष नै दोस्रो र तेस्रो पुस्ता हुनुपर्छ ।

शीर्ष नेताहरुले अघि सारेको समाजवादी केन्द्र निर्माणको परिकल्पना असाध्यै सान्दर्भिक र अपरिहार्य विषय हो । यसको कार्यान्वयनका निम्ति दोस्रो र तेस्रो पुस्ता सम्पूर्ण रुपले तयार हुनुपर्छ । शीर्ष नेतृत्वले समाजवादी केन्द्र निर्माणको कार्यभार जीवनकालको अन्तिम र स्वर्णिम सपना ठान्नुपर्छ ।

साच्चिकै माधव, प्रचण्ड, झलनाथ, बाबुराम र वामदेवहरुले राजनीतिक स्थिरतासँगै समाज र देशलाई समाजवादी यात्रामा लैजानका लागि यो अभियानमा जुटेका हुन भने यो भन्दा सर्वथा राम्रो अर्को कुनै काम हुनेछैन । वर्तमान समयमा आफूले भोगचलन गर्दै आएको पद प्रतिष्ठालाई समाजवाद स्थापनाका निम्ति दान गर्न पहिलो पुस्ता तयार हुनुपर्छ ।

पुस्तान्तरण र हस्तान्तरणको संस्कार स्थापना गर्नु आफ्नो कर्तव्य सम्झिनुपर्छ । व्यक्तिगत टकरावले कम्युनिष्ट आन्दोलन कमजोर मात्रै होईन ठूलो नोक्सानी व्यहोर्नु पर्ने स्थितिमा आईपुगेको स्वीकार गर्नुपर्छ । फराकिलो लक्ष्य र सोच राखेर निर्माण गरिने समाजवादी केन्द्र साच्चिकै समाजको नेतृत्व गर्ने राजनीतिक दर्शन बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्