Logo
Logo

संविधानमा उल्लेखित विदेशनीतिका आधारलाई पूर्ण पालना गर्नुपर्छ : नेता खनाल


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको संविधानको निर्देशक सिद्धान्तमा उल्लिखित विदेशनीतिका आधारलाई नै पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका छन् ।

समाजवादी पत्रकार संगठन नेपालका प्रतिनिधिसँग आफ्नै निवास डल्लुमा कुरा गर्दै उनले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्ति र अन्तरराष्ट्रिय कानुनको पालनाका साथै एक चीन नीति र नेपालको भूभाग विदेश राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषय नै हाम्रो विदेशनीतिका आधार भएको स्पष्ट पारे ।

पार्टीका सम्मानित नेता खनालले २०४६ सालको आन्दोलनपछि गठित अन्तरिम सरकारका पालामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले टनकपुर ब्यारेज निर्माणका क्रममा नेपालको विनास्वीकृति नेपाली भूमिमा संरचना बनिरहेकामा रोक्न सकेको स्मरण गराउँदै टंकप्रसाद आचार्य, बिपी कोइराला, कीर्तिनिधि विष्ट, मनमोहन अधिकारीका पालामा नेपालको हितमा विदेशनीति सञ्चालन भए पनि पछिल्ला दिनमा राष्ट्रहितलाई सर्वाेपरि राखी विदेशनीति सञ्चालन हुन नसकेको विचार राखे ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘नेकपा सरकारका पालामा सो दलका नेताहरूको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एक मत निर्णय गरेर नीति तथा कार्यक्रममा सो विषय राख्न सक्यौँ, यस्तो विषय त नेताहरु आफैँले बुझेर सरकारको नीति तथा कार्यक्रममा राख्न सक्नुपर्ने हो ।’

अर्को एक प्रश्नमा पार्टी विदेश विभाग प्रमुख खनालले बिआरआई परियोजनाका लागि पहिले ३५ परियोजनाको सूची दिइएकामा पछि नौ वटा दिइएपनि कार्यान्वयन हुन नसकेकामा असन्तोष व्यक्त गरेका छन् । उनले प्रतिनिधिसभाबाट हालै पारित नागरिकता विधेयक विषयमा पार्टीको संस्थागत निर्णय नभएको स्विकारे ।

अर्काे जिज्ञासामा उनले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहले आफूले तयार गरेको प्रतिवेदन नेपाल सरकारलाई भएपनि बुझाइदिन सकेमा त्यो सार्वजनिक सम्पत्ति बन्ने भई जनता र दुवै सरकारहरूको धारणा आउन सक्ने बताए ।

सो भेटमा संगठनका महासचिव भूपराज खड्का, विभागका अध्यक्ष ऋतुराज सुवेदी, सदस्य परमेश्वर देवकोटालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्