Logo
Logo

पत्रकार महासंघलाई पोल्याण्डका टंकले दिए १ लाख


3k
Shares

युरोप । पोल्याण्डका टंक कटुवालले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आपतकालीन कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

महासंघ यूरोप शाखामार्फत केन्द्रीय समितिले श्रमजीवी पत्रकारको राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गरेका हुन् । पोल्याण्डमा १६ वर्षदेखि बस्दै आएका कटुवालको पुख्र्यौली घर ताप्लेजुङ हो ।

उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च’को अन्तर्राष्ट्रिय कमिटीका सदस्यसमेत छन् । पोल्याण्डका सफल रेष्टुरेण्ट व्यवसायी उनी एनआरएनए पोल्याण्डका सल्लाहकार तथा नेपाली व्यवसायी संघ पोल्याण्ड लगायत विभिन्न संघ संस्थामा आबद्ध छन् ।

यूरोपको व्यस्त जीवनशैलीका बाबजुद महासंघको क्रियाशीलताबाट प्रभावित भएर सहयोग गर्ने भावना जागेको कटुवालले बताए । सहयोगी मनलाई नेपालका १९ हजार बढी श्रमजीवी पत्रकारका तर्फबाट अभार र सम्मान रहेको पत्रकार महासंघ यूरोपका अध्यक्ष प्रेम परियारले बताए ।

पोल्याण्डबाट यसअघि पत्रकार महासंघ यूरोप शाखाका सचिव शेरबहादुर परियारले १ लाख ११ हजार १ सय ११, एनआरएनए पोल्याण्डका पूर्वअध्यक्ष नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११ तथा नेपाली व्यवसायी संघ पोल्याण्डका अध्यक्ष डा.उदयदेव आचार्यले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।

महासंघले ३० लाख जम्मा गरेर सुरुवात गरेको कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य राखेको छ । जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्यामा परेका पत्रकारलाई राहत उपलब्ध गराउने उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस्