Logo
Logo

विशेष अदालतमा चोलेन्द्रको छायाँ


5.6k
Shares

काठमाडौं । न्यायपरिषद्ले गलत फैसला गर्ने न्यायाधीशरुलाई धमाधम पदमुक्तिको सिफारिस गरिरहेको छ । तर अदालतमा बिचौलियाहरुको चलखेल घटेको छैन । सर्वोच्च अदालतदेखि जिल्ला तहसम्म गोलाप्रथाबाट पेशी तोक्न थालेपछि पनि बिचौलियाले सेटिङमा मुद्दामा प्रभाव पार्ने र आफूअनकूल आदेश गराउने क्रम रोकिएको छैन ।

अशोककुमार क्षेत्री

समाचार स्रोतका अनुसार पछिल्ला दिनमा भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतमा बढी सेटिङ हुँदैआएको छ । जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भ्रष्टाचारका मुद्दामा धमाधम भ्रष्टहरुले सफाइ पाउन थालेका छन् । दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएपछि विशेष अदालतमा आशालाग्दा न्यायाधीशको टीम आयो । तर त्यो टीम आएपछि पनि राष्ट्रिय गौरबको सिक्टामा गुणस्तरहीन निर्माण गरी अरबौं भ्रष्टाचार गर्नेहरुलाई सफाइ पाएका छन् ।

विशेष अदालतमा सेटिङ विशेष अदालतकै रजिष्टार अशोककुमार क्षेत्रीले गर्दै आएको स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भ्रष्टाचारमा मुद्दामा रजिष्टार क्षेत्रीले चलखेल गर्दैै सेटिङमा फैसला गराउँदैआएका छन् ।

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेलको नेतृत्वमा आएको न्यायाधीशको टीम पनि रजिष्टार क्षेत्रीको परिबन्दमा परी उनले भनेअनुसारका आदेश दिन बाध्य भइरहेको छ । क्षेत्रीले न्यायाधीशहरुलाई प्रभावमा पार्न सुरु सुरुमा होटलदेखि विभिन्न ठाउँमा लाने र पछि ब्ल्याकमेल गरी आफूले भनेअनुसार फैसला गर्न बाध्य पार्ने गरेको स्रोतको दाबी छ ।

विशेष अदालतमा क्षेत्रीको यति धेरै दबदबा छ कि फाँटवालादेखि न्यायायधीशसम्म उनको अगाडि बोल्नसक्ने अवस्था छैन । उनले भनेअनुसार फैसला गर्नुपर्ने, नगर्र्नेे न्यायाधीशका भए नभएका कुरा विभिन्न ठाउँमा लाउने गर्दछन् । उनले नै मुद्दामा सेटिङ गर्ने गर्दछन् । तर, अख्तियारका प्रमुख प्रेम राईलाई उनले न्यायाधीशहरुले आयोगको सुशासन कायम गर्ने कुरामा साथ नदिएको भन्दै कुरा लगाउने गरेका छन् ।

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै पथ अनुशरण गर्दै विशेष अदालतका मुद्दामा सेटिङ गर्दैआएका क्षेत्रीको उनका भाइ प्रभुसमशेरसँग घनिष्ट सम्बन्ध थियो । चोलेन्द्र प्रधानन्यायाधीश हुन्जेल उनका भाइसँग मिलेर उनले धेरै मुद्दा सेटिङमा फैसला गराएका थिए ।

न्यायालय सुधारमा लागेका कामु प्रधानन्याधीश दीपककुमार कार्कीले राणाका निकट र न्यायालयको बदनाम गर्नेहरुलाई सरुवा गरे पनि चोलेन्द्रका सबैभन्दा प्रिय क्षेत्रीलाई भने सरुवा गरेनन् । चोलेन्द्रको नाममा सबैभन्दा बढी मुद्दामा सेटिङ गर्ने रजिष्टार क्षेत्री नै हुन् भन्ने कुरा अकूत सम्पत्तिदेखि ठूला भ्रष्टाचारका मुद्दामा सफाइ दिने आदेशका पछाडिका अन्तरनिहीत कारण कार्कीले खोजेमा छर्लङ्ग हुने स्र्रोत बताउँछ ।

क्षेत्रीको चलखेलमा कस कसले पाए सफाइ ?

क्षेत्रीले अख्तियारले दायर गरेका अरबौं भ्रष्टाचार, अकूत सम्पत्ति आर्जन र स्टीङ अप्रेसनका मुद्दामा सेटिङ गरी छिटो छिटो पेशी तोक्नेदेखि फैसला गराउने भूमिका खेल्दैआएका छन् ।

राष्ट्रिय गौरवको बहुचर्चित सिक्टा सिँचाइ आयोजनामा २ अर्ब १३ करोड रूपैयाँ भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा क्षेत्रीकै सेटिङमा कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे, इआरएमसीका उद्धवराज चौलागाई र सिंचाई विभागका तत्कालीन महानिर्देशक सरोज पण्डितसहित २१ जनालाई सफाइ पाएका छन् ।

क्षेत्रीले विशेष अदालतका तत्कालीन अध्यक्ष प्रेमराज कार्कीलाई विक्रम पाण्डेसँग १० पटक भन्दा बढी होटलमा भेट गराई उनकै पालामा सफाइ दिनेगरी सेटिङ गरेका थिए । तर, कार्कीको सरुवा अकस्मात भएपछि सिक्टाको मुद्दा टुंगिन सकेन । तर, क्षेत्रीले हालको टीमलाई पनि परिबन्दमा पारी माटोमाथि ढलान गर्ने कालिका कन्ष्ट्रक्सन र सुपरभिजन नै नगरी परामर्शको भ्ुक्तानी लिने इआरएमसीलाई सफाइ दिलाउन सफल भएका छन् । राष्ट्रिय गौरबको आयोजनामा गरेको चरम भ्रष्टाचारमा सफाइ दिएपछि न्यायपालिकाप्रतिको जनविश्वास धरमराउन पुगेको छ ।

२५ अर्ब लागतको आयोजनामा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोग लगाउने अख्तियारको प्रयासमा पानी खन्याउने काम गरिएको छ ।

२०७४ साल माघ १ देखि फागुन २५ सम्म जारी गरेका कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी अनुत्तीर्णलाई उत्तीर्ण गराएको प्रमाणसहित अख्तियारले २०७५ असोज २३ मा यातायात कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाबिरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीहरुले परीक्षामा सहभागी नै नभएका कैंयौको नाम थपघट गरेका थिए । उनीहरूले प्रतिलाइसेन्स ३० हजारदेखि ४० हजार रुपैयाँ लिएर वितरण गरेको प्रमाणसहित अख्तियारले दायर गरेको मुद्दामा पनि यादवसहितलाई सफाइ दियो । यादवले सेटिङ गरेरै फाष्टट्रयाकमा सफाइ पाएर पुनः बुटवल यातायातको हाकिम भई लाइसेन्सबाट मुद्दा जित्दा लागेको लगानी असुल्न ब्यस्त छन् ।

रजिष्टार क्षेत्रीले राजस्व समूहका अकूत सम्पत्ति आर्जनका मुद्दामा ५ जनाको म्ुद्दामा सेटिङ गरी सफाइ दिलाइसकेका छन् भने बहुचर्चित कर फस्र्यौटको मुद्दामा २१ अर्ब अनियमितता गरेको आरोप लागेका चुडामणि शर्माको मुद्दामा उनको डिल भइसकेको स्रोतको दाबी छ ।

अकूत सम्पत्ति आर्जनको मुद्दामा परेका राजस्व समूहका अधिकृत मानप्रसाद विकबिरुद्ध परेको मुद्दामा पनि फाष्टट्रयाकमा पेशी राखी सफाइ दिएका छन् । अख्तियारले भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकबिरुद्ध २०७५ चैत ८ मा भ्रष्टाचार गरी झण्डै २ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेकोमा मुद्दा दायर गरेको थियो ।

राजस्व समूहका अर्का उपसचिव टीकाराम भूसालले पनि क्षेत्रीकै सेटिङमा अकूत सम्पत्ति आर्जनमा सफाइ पाएका छन्् । भूसाल विवादित सहसचिव चुडामणि शर्माका अति निकट भएर लाभ लिने भनेर अर्थमन्त्रालयभित्र चिनिन्थे । भूसालबिरुद्ध २०७४ फागुन ३० मा १ करोड ५८ लाख ६३ हजार ६ सय ५७ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेकोमा त्यति नै बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो । तर क्षेत्रीसँग सेटिङपछि उनले पनि सफाइ पाएका छन् ।

अर्को ठूलो भ्रष्टाचार काण्डका रुपमा चिनिएको धादिङको राजमार्गछेउ र खोलानालाका सयांै रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेहरुबिरुद्धको मुद्दामा २०७९ साउन १ गते पेशी राखी हेर्दाहेर्दैमा राखिएको छ । यसमा पनि क्षेत्रीसँग सेटिङ भइसकेको छ । धादिङस्थित विभिन्न गा.वि.स. क्षेत्रका सरकारी, सर्वजनिक, खोला, नदी, खोल्सारखोल्सी, बन–जंगलको जग्गा गैरकानूनी रुपमा ब्यक्तिविशेषको नाममा कायम गरी नेपाल सरकारलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न नापी कार्यालय धादिङका तत्कालीन प्रमुख दीपककुमार सापकोटासहित थुप्रै जनाबिरुद्ध २०७५ असार ४ मा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । यो मुद्दामा सापकोटाले नै क्षेत्रीसँग डिल गरिरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्