Logo
Logo

अपहरणकाण्डमा प्रहरीले धम्की दिएर गरायो मिलापत्र


11.7k
Shares


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा एक अपहरणकाण्डमा जाहेरी नलिई जबर्जस्ती मिलापत्र गराइएको छ ।

आइतबार भरतपुरबाट अपहरणमा परेका दयाराम वस्तीलाई चितवन प्रहरीले नै पाल्पा र नवलपरासीको सीमामा पर्ने डेढगाउँबाट मुक्त गरेको थियो । पाल्पा रामपुरका आसिन सेखले वस्तीलाई चितवनबाट अपहरण गरी गैंडाकोट, प्रगतिनगर, कावासोती हुँदै जंगलैजंगल लगेका थिए ।

वस्तीकी श्रीमती मालिका ढकाललाई अपहरण गरिसकेपछि आसिन खानले फोन गर्दै कहिले गैंडाकोट त कहिले प्रगतिनगर र कहिले कावासोतीमा बोलाएका थिए । मालिकाले आफ्नो श्रीमानलाई अपहरण गरिएको र आफूलाई बिभिन्न ठाउँमा बोलाए पनि त्यहाँ समेत उनीहरु नभेटिएको जानकारी दिएपछि चितवन प्रहरीले नै कलडिटेल चेक गरी उनको फलो गरी डेढगाउँबाट मुक्त गरेको थियो ।

चितवनका एसपी नवराज अधिकारी आफैंले वस्तीको अपहरण गरेको स्वीकार गरी उनलाई मुक्त प्रहरी परिचालन गरेका थिए । तर सोमबारदेखि उनले ‘लेनदेन रहेछ, अपहरण होइन रहेछ’ भन्दै वस्ती र उनकी श्रीमतीलाई जबर्जस्ती मिलापत्र गर्न दबाब दिन सुरु गरे ।

आफ्नो श्रीमान दयाराम वस्तीलाई च्याप्प समातेर भ्यानमा हालेर लाने र मलार्ई फोन गरी पैसा लिएर आइज, नत्र भन्दै तर्साउने कार्य अपहरण नै भएकाले जाहेरी लिन पटक पटक मालिकाले आग्रह गर्दा पनि चितवनका एसपी नवराज अधिकारीले सुनुवाइ गरेनन् । मंगलबार उल्टो अपहरणमा परेका पीडित वस्ती र उनकी श्रीमती मालिकालाई थुन्ने धम्की दिएर जबर्जस्ती मिलापत्र गराएका छन् ।

अपहरण गर्ने आसिन सेख र भरत वस्ती दुवै रामपुरका हुन् । उनीहरुबीच लेनदेन थियो । रामपुरमा कन्सलटेन्सी संचालन गर्ने भरत वस्ती चितवनमै बस्न थाले । वस्तीसँग आफ्नो लेनदेन भएको र त्यो असुल्न सहयोग इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका डीएसपी हेम केसीसँग अनुरोध गरे ।

स्रोतका अनुसार डीएसपीलाई समेत लेनदेन मिलेमा आकर्षक लाभ हुने प्रस्ताव आसिन सेखले राखेपछि उनले रामपुरमा ल्याएमा थुनेर असुली गर्ने आश्वासन दिएका थिए । डीएसपी केसीको आड पाएपछि आसिन सेखसहितका ३ जना चितवन पुगे । वस्ती बस्ने ठाउँक पत्ता लगाएर उनी मोटरसाइकलमा सालासँग आइरहेको अवस्थामा समातेर भ्यानमा हाली लगेका थिए । लेनदेन छ भने पनि इच्छाबेगर गाडीमा जवर्जस्ती लानु अपहरण नै हो ।

वस्तीलाई त झन् गाडीमा हालेर लगेको मात्र होइन, उनकै मोवाइलबाट फोन गरी श्रीमतीलाई विभिन्न ठाउँमा बोलाइएको थियो । बोलाएको ठाउँमा कहीँ पनि नभेटिएपछि आफ्नो श्रीमान अपहरण भएको भन्दै चितवन प्रहरीमा पुगेकी मालिकाको जाहेरी प्रहरीले नलिई जबर्जस्ती मिलापत्रको कागजमा सहीछाप गर्न लगाएको पीडित परिवारको गुनासो छ ।

मालिकाले अन्तिमसम्म पनि जाहेरी दर्ता गर्न आग्रह गरिरहेकी थिइन् । तर एसपी अधिकारीले मंगलबार साँझ धम्कीको शैलीमा उल्टै थुनिदिने भनी कागजमा लेखिएको ब्यहोरासमेत पढ्न नदिई सहीछाप गराएको गुनासो पीडितले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्