काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)लाई गृह मन्त्रालयकै मातहत राख्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जोड दिएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा विशेष सेवा विधेयकमाथिको छलफलमा उनले विभाग प्रधानमन्त्री कार्यालय मातहत भन्दा गृहमन्त्रालय अन्तर्गत हुँदा प्रभावकारी हुने बताए । चार वर्षअघि विभागलाई गृहबाट प्रधानमन्त्री कार्यालय मातहत पु¥याइएको थियो ।
विधेयकमाथिको शंसोधनकर्ता समेत रहेका थापाले विधेयकको दफा ४ मा केन्द्रित हुँदै राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै रहनुपर्छ भन्ने नेपाली कांग्रेसको पूर्ववत निर्णयबाट पछि नहट्ने उल्लेख गरे।
कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकबाट पनि यही निर्णय भएको थापाले बैठकमा बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा विभागलाई गृहमा फर्काउने पक्षमा देखिएका छैनन् ।
थापाले भने, ‘हिजो प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने गरी विभाग चलाइयो भन्ने आशंका थियो, आजको मत पनि त्यही हो। परम्परा, प्रचलन, अभ्यास हेर्दा राष्ट्रिय अनुसन्धान विभाग संचालन गर्न सक्ने क्षमता गृह मन्त्रालयसँग छ, कि प्रधानमन्त्री कार्यालयको पुनर्संरचना धेरै ठूलो हुनुपर्छ। त्यसैअनुसार आवश्यकता र औचित्य पूरा हुने गरी पुनर्निमार्ण गर्नुपर्छ। नभए विभागलाई गृहमै फर्काउनुपर्छ।’