Logo
Logo

बीमा रकमकै लागि छोरीदेखि श्रीमानसम्मको हत्या


7.2k
Shares

काठमाडौं । राजनीतिसँगै समाजमा पनि भ्रष्टीकरण बढेको छ । बीमा रकमकै लागि छोरी र श्रीमानको हत्यासम्मका घटना हुन थालेका छन् । यो समाजको डरलाग्दो रुप हो ।

नेपाल प्रहरीले हालै सार्वजनिक गरेको एक घटनाले समाजमा पैसाका लागि कुन तहसम्मको अपराध हुन थालेको छ भन्ने देखाएको छ । बीमा रकमको लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा एक गरिब दलित युवकको हत्या भएको छ । घटनाको १६ महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले यसको पर्दाफास गरेको हो ।

कोहलपुरका सर्जन विकको स्थानीय सपना मल्लसँग नक्कली विवाह गराई दुर्घटनाका नाममा विकको हत्या गरिएको हो । बीमाको रकम युवतीको नाममा ल्याएर बाँडीचुँडी गर्न भएको यो घटनामा बीमा कम्पनीदेखि प्रहरी तथा न्यायाधीशसम्मको भूमिकामाथि प्रश्न उठेको छ ।

२ बैशाख २०७८ को राती ११ बजे बसको ठक्करबाट घाइते बनाई पछि किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे. १ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट गम्भीर घाइते भएका भे. १० प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो ।

घटनाका योजनाकार संजीव अर्यालले त्यो दिन सुरुमा सर्जनलाई संजीवले बियर पिलाएका थिए । बियरको नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै संजीव र सर्जन फरक–फरक मोटरसाइकलमा त्यतातर्फ गए । केही अघि बढेपछि संजीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढ्दै थिए । उनको हत्याका लागि बाटोमा एक बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्ने वित्तिकै सो बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो ।

ठक्कर दिँदा मृत्यु हुने पक्का नभएपछि उनलाई पछि तानेर टायरले किचेर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले योजनाकार संजीव, हत्यामा संलग्न गाडी चालक क्षेत्री, बीमा अभिकर्ता सरदर अहमद खाँ र अन्य दुई सहयोगी दीपक केसी र ललीता सापकोटालाई पक्राउ गरी विस्तृत अनुसन्धान गरिरहेको छ ।

यो अपराधको रहस्य नेपाल पुनर्बीमा कम्पनीमा खुलेको थियो । बिहे लगत्तै शंकास्पद रुपमा मृत्यु हुनले शंका बढेको थियो । एक सामान्य मजदुरको साढे २ करोड रुपैयाँको बीमा हुनु, बीमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुनसक्ने कम्पनीका कर्मचारीलाई लाग्यो । सोही आधारमा प्रहरीलाई खबर भएको थियो ।

यो घटनामा नेपाल रिलायन्स लाइफ इन्सोरेन्सका कर्मचारी पनि छानबिनमा छन् । किनकी यो बीमा गर्दा बीमाका आधारभुत प्रावधान मिचिएका थिए । सर्जनले वार्षिक आम्दानी दुई लाख रुपैयाँ भनेर स्वघोषणा गरेका थिए । आयको अधिकतमक ४० प्रतिशत मात्र बीमा गर्न सक्ने प्रावधान छ । तर, पहिलो बीमा शुल्क नै पाँच लाख ४० हजार बुझाइएको थियो ।

अर्काेतर्फ सामान्यतया एकै व्यक्तिले सावधिक र म्यादी जीवन बीमा गर्देनन् । तर, ठूलो रकमको यस्तो बीमा गरिएको थियो । बीमालगत्तै शंकास्पद मृत्यु भएको घटनामा विस्तृत छानबिनमा चासो नदिनुले यसमा बीमा कम्पनीको समेत कमजोरी देखिएको हो ।

घटनाका मुख्य योजनाकार संजीवले जीवन बीमा अभिकर्ताको तालिम लिएका थिए । उनले मेटलाइफ इन्स्योरेन्सबाट दुई वर्षअघि तालिम लिएका हुन् । तालिम लिएपछि उनले जीवनबीमाको फाइदाबारे थाहा पाएका थिए । त्यही ज्ञानलाई उनले अपराधमा प्रयोग गरेका हुन् ।

सुरुमा उनले आरती भनिने ललीता सापकोटालाई नै त्यसरी सर्जनसँग विवाह दर्ता गराएर आफ्नो योजनामा सहभागी गराउन लागेका थिए । तर, उनको उमेर नपुगेपछि उनको साथी खोज्न लगाए । त्यही क्रममा ललीताले सपना मल्ललाई सञ्जिवसँग भेट गराइदिइन् ।

सपना र ललीता स्कुलका सहपाठी हुन् । सपना जसरी पनि विदेश जान चाहन्थिन् । सञ्जिवले उनको महत्वाकांक्षा पूरा गरिदिने आश्वासान दिए । डिपेन्डेट भिसामा अष्ट्रेलिया पठाइदिने र पैसा पनि दिने भन्दै त्यसरी नक्कली बिहे गरेर बीमा रकम लिने योजना सुनाए । त्यसमा उनी सहमत भएकी थिइन् ।

सोही योजनाअनुसार दुई जनाले २ चैत २०७७ मा विवाद दर्ता गराएका थिए । कमजोर आर्थिक अवस्था भएका सर्जनलाई पनि उनले त्यसरी विवाह गर्दा आर्थिक फाइदा हुने आश्वासन दिएका थिए । त्यसरी विवाह दर्तापछि सर्जन र सपनाको कहिल्यै भेट भएन ।

मुख्य योजनाकार संजीव जुवाडे भएको र त्यसरी ठगीको पैसा उनले जुवामै सकाएको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरुले अन्य व्यक्तिको पनि यसरी हत्या गरेको हुनसक्ने प्रहरी आशंका छ । नेपालमा यो प्रकृतीको अपराध पहिलोपटक पत्ता लागेको सीआइबीका प्रमुख एआइजी उत्तमराज सुवेदीले बताएका छन् ।

बीमा रकमका लागि छोरीदेखि श्रीमतीसम्मको हत्या
तीन वर्षअघि बीमा रकमकै लागि रौतहटमा एक व्यक्तिले आफ्नै छोरीको हत्या गरेका थिए । रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरीको हत्या गरेका थिए ।

१७ असार २०७६ मा उनले छोरी लक्ष्मीको घाँटी थिचेर हत्या गरेको र पोखरीमा फालेका थिए । लक्ष्मीको बाबु रामकिशारले प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठ २०७६ मा छोरीको नाममा २५ लाखको जीवन बीमा गराएका थिए ।

हत्या गरी बीमाको रकम निकाल्ने योजनाअनुरुप नै यादवले छोरीको बीमा गराएको र बीमाको २९औं दिनमा छोरीको हत्या गरेका थिए । बीमा गरेको एक महिनाभित्रमा बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने प्रलोभमा उनले हत्या गरेका थिए । बीमा रकम लिनका लागि छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेपछि प्रहरीले उनको आर्थिक अवस्थाबारे पनि अनुसन्धान गरेको थियो ।

उनको आर्थिक अवस्था कमजोर भएको र धेरै पैसा एकै पटक कमाउने योजनामा छोरीको बीमा गरेका थिए । बीमा बापतको प्रथम किस्ता करिब पौने २ लाख यादवले बैंकमा जम्मा गरेका थिए । पहिलो किस्ता पनि ऋण खोजेर बुझाएका थिए ।

उनले छोरीको सुरक्षित भविष्यका लागि बीमा गरेर आफैंले हत्या गरेका थिए । पोखरीमा डुबेर मृत्यु भएको देखाएर उनी बीमाको रकम लिन चाहन्थे ।

तीन वर्षअघि पोखरामा पनि यस्तै घटना भएको थियो । बीमाको पैसा हात पार्नकै लागि भाडाका अपराधी प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका थिए । असारमा पोखरा–१५, कान्तिपुर चोककी लक्ष्मी परियारको यसरी हत्या भएको थियो । श्रीमान रमेश नेपालीले यस्तो क्रुर अपराध गरेका थिए ।

हत्याको चार महिनाअघि रमेशले श्रीमती लक्ष्मीको नाममा युनियन लाइफ इन्सुरेन्समा १ करोडको जीवन बीमा गरेका थिए । त्यही रकम हात पार्ने र नातामा साली पर्नेसँग बिहे गर्ने सोचका साथ उनले कन्ट्याक्ट किलरमार्फत श्रीमतीको हत्या गराएको अनुसन्धानमा खुलेको थियो ।

पोखराको रामबजारमा सामान्य मोबाइल पसल चलाउने रमेशले जंगलमा जडिबुटी खोज्न भनेर लगेर हत्या गराएका हुन् ।

हत्यापछि रमेशले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजतलास गरिदिन निवेदन दिए । उनले उक्त दिन श्रीमतीलाई पसल कुर्न भनी कालिकाचोकमा छोडेर आफू मोबाइलसम्बन्धी कामले साथी भेट्न गएको प्रहरीलाई बताएका थिए ।

यसका लागि रमेशले पोखराको महेन्द्रपुलमा मोबाइल पसल चलाउने सञ्जय शर्मा र सर्लाही ईश्वरपुर–३, तीनघरिया घर भई पोखरा पृथ्वीचोकमा मोबाइल पसल गर्ने चित्तरञ्जन साहसँग त्यसबारे सल्लाह गरे । साहले १० लाख रुपैयाँमा भारतबाट मान्छे झिकाउने र उनीहरुले हत्या गर्ने बताए ।

उनैले भारतस्थित आफ्नो मावलीतिरबाट ३ पेसेवर हत्यारालाई नेपाल बोलाएका थिए । जेठ ३० मा ३ भारतीय ‘कन्ट्याक्ट किलर’ पोखरा झिकाएर हत्या गरिएको थियो । त्यसका लागि रमेशले सञ्जयलाई एक लाख रुपैयाँ दिए । उक्त दिन हत्या गर्ने ठाउँ रोज्न पोखरा–२२ पुम्दीभुम्दीको कर्कले जंगलमा रमेश, सञ्जय, चित्तरञ्जन र ३ भारतीय पुगे ।

रमेशले जडीबुटी खोज्न भनेर त्यही दिन श्रीमतीलाई लिएर गएका थिए । योजनाअनुसार नै उनीहरुले हत्या गरेका थिए । तर, पछि रहस्य खुलेपछि एक करोड हात पार्ने र सालीसँग बिहे गर्ने उनको सपना अधुरै भयो । हाल उनी जेलमा छन् ।

बीमा क्षेत्रमा मौलाएका यी घटनाले समाजमा पैसाका लागि मान्छे कतिसम्म अपराधी बन्छन् भन्ने देखाएको छ । भाडाका अपराधी प्रयोग गरी पैसाकै लागि परिवारकै सदस्यको समेत हत्या हुन थालेको छ ।

बीमा क्षेत्रमा बलियो सिष्टम र नियमनको अभावको फाइदा उठाउँदै बीमाको रकमकै लागि हत्याका घटना हुन थालेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्