Logo
Logo

गुप्तचरमा तीनथरि चलखेल


2.5k
Shares

काठमाडौं । चुनावको मुखमा देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग अस्तव्यस्त बन्न पुगेको छ । सरकारको राजनीति र विभागका उच्च तहका अधिकारीहरुको व्यक्तिगत स्वार्थले विभाग निकम्मा बन्न पुगेको हो ।

यतिबेला विभागमा तीन थरी चलखेल चलिरहेको छ । विभागका प्रमुख यदुलाल खरेल उमेरअवधि बढाएर जागिर लम्बाउने दौडधुपमा लागेका छन् । विभागका प्रमुख अनुसन्धान निर्देशकको उमेरहद हाल ५८ वर्ष छ । उमेरहदका कारण भदौको अन्तिम साता उनले अवकाश पाउँदैछन् । त्यसकारण ६० वर्ष बनाएर दुई वर्ष लम्बिने भएकाले उनी त्यसअघि नै उमेरहद बढाउन लागेका छन् ।

हाल संसदमा विचाराधिन बिशेष सेवा ऐनको बिधेयकमा उमेरहद ६० वर्षको प्रस्ताव गरिएको थियो । त्यसलाई छिटो पास गराउन उनको सक्रियता छ । तीन वर्षदेखि विचाराधिन बिधेयकमाथि अहिले छलफल अघि बढ्नुले पनि यसमा उनकै चलखेलको आशंका गरेका छन् ।

अर्काेतर्फ एआइजी बढुवाको टकराव नयाँ मोडमा पुगेको छ । हुतराज थापा र ओम जोशीबीचको प्रतिस्पर्धाले बैशाखदेखि एआइजीको एक पद रिक्त छ । जो एआइजी हुन्छ उही एक महिनापछि विभागको प्रमुख हुने, बढुवा नहुनले भदौ १२ मै अवकाश पाउने भएकाले टकराव बढेको छ । यसमा एआइजीको एक पद थपेर दुवैलाई बढुवा गर्ने र दुवैलाई पालैपालो विभागको प्रमुख बनाउने सहमति भएको थियो ।

जोशी प्रधानमन्त्री शेरबहादुर देउवा तथा थापा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निकट भएकाले दुवैलाई बढुवा गर्न लागिएको हो । तर, अहिलेसम्म संगठन तथा व्यवस्थापन सर्वेक्षण अघि बढ्न सकेको छैन । १२ भदौसम्म पनि निर्णय नभएमा अनुसन्धान निर्देशकको पाँच वर्षे पदावधि हदका कारण दुवै जनाले अवकाश पाउने सम्भावना छ । थापा, जोशी बाहेक हरिहर शर्मा पौडेल र सुनिल ढकालको पनि पाँच वर्षको अवधि पुग्दैछ ।

सबैलाई अवकाशमा लगेर आफूहरु प्रमुख हुने खेलमा जुनियर अनुसन्धान निर्देशकको टोली लागेको छ । जसमा अनुसन्धान निर्देशकहरु प्रकाश पाण्डे, टेकेन्द्र कार्की, सुमन बैद्य, मधु कार्की छन् । उनीहरु यतिबेला एकजुट भएर यसका लागि राजीतिक लबिइङमा लागेका छन् ।

चुनावको बेला विभाग सूचना संकलनमा केन्द्रीत हुनुपर्नेमा यसरी उच्च अधिकारीहरु अनेक दाउमा लागेका छन् । प्रधानमन्त्रीको प्रत्यक्ष मातहतको विभागमा सरकारले नै राजनीति घुसाउँदा विभाग कमजोर बन्न पुगेको छ । जसले विभागको तल्लो तहसम्मको वृत्ति विकास प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्