काठमाडौं । तानसेन ऐतिहासिक पर्यटकीय र सांस्कृतिक सहर हो । यस नगरको विशेषता भनेको टुँडिखेलदेखि कैलाशनगरसम्म ढुंगाले छापेको बाटो हो र हरेक टोल र चोकमा परम्परागत शैलीको मठमन्दिर हो ।
युरोपका कतिपय देशले आजसम्म पनि ढुंगाले छापेको बाटोको संरक्षण गरेका छन् । पुराना भवनको पुरानै शैलीमा मर्मतसम्भार गरेका छन् । तानसेनका नेवारहरु काठमाडौं, भक्तपुर र ललितपुरबाट गएकोले नेवारहरुले टोलको नाम पनि काठमाडौंको जस्तै असन, मखन, वसन्तपुर, भीमसेन टोल आदि राखेका छन् ।
त्यस्तो पुरातात्विक महत्व बोकेको तानसेन आज हेर्दाहेर्दै कंक्रिटको जंगलमा परिणत भएको छ । तानसेनको मौलिकता छोपिएको छ । तानसेनको कुरुप दृश्यले श्याम दाइको चित्त दुख्थ्यो ।
उहाँ भन्नुहुन्थ्यो– ‘नगरपालिकाले नै नेवारी संस्कृति झल्कने नक्सा र मापदण्ड बनाउनुपर्छ । नगरभित्र बन्ने नयाँ घर संरचना नगरपालिकाले तयार गरेको नक्साबमोजिम हुनुपर्छ अनि मात्र तानसेनको मौलिकता झल्कन्छ ।
उहाँको अर्को सोच पाल्पा छाडेर काठमाडौं, बु्टवल, पोखरा, नेपालगञ्जलगायतका ठाउँमा बसाइँ सरेका तानसेनवासीलाई पाल्पा फर्काउने । त्यसका लागि बतासेडाँडामा रहेको उहाँको जग्गामा अपार्टमेन्ट होटल खोल्ने योजना थियो ।
होलिडे अपार्टमेन्ट होटलको फ्ल्याट पाल्पालीलाई बेच्ने र त्यसमा आधुनिक सुविधासम्पन्न होटल खोल्ने । जसले गर्दा फ्ल्याट किन्नेलाई रकमसमेत फिर्ता हुन्छ । आफू आएर बस्न चाहेको बेला आफ्नो फ्ल्याट बुकिङ गर्ने, अरु बेला होटलको जिम्मा लगाएर त्यसवापत आम्दानी गर्ने । वास्तवमा यो नौलो सोच थियो । तर, त्यो सपना पनि अधुरो रह्यो ।
तानसेनको अर्को आकर्षक ठाउँ बतासेडाँडा हो । त्यहाँ रहेको क्याम्पसलाई अर्को ठाउँमा सारेर त्यो क्षेत्रलाई दार्जिलिङको चौरास्ता जस्तो बनाउने कल्पना गर्नुहुन्थ्यो । यस्ता धेरै सोच लिएर सुन्दर पाल्पाको सपना बुन्नुहुन्थ्यो श्याम दाइ ।
तानसेनदेखि भैरहवा ६० किलोमिटरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ । तीन, चार घण्टा पोखराको दूरी छ । ८० किलोमिटर लुम्बिनी र तीन घण्टाको दूरीमा सौराहाजस्तो पर्यटकीयस्थल छन् । पोखरा, सौराहा र लुम्विनीमा आउने पर्यटकहरुका लागि तानसेन पर्यटकीय गन्तव्य बन्न सक्छ । त्यसका लागि ट्राभल एजेन्टहरुसँग सम्पर्क गरेर दीर्घकालीन ‘रोडम्याप’ बनाउनुपर्छ भन्ने सोचमा श्याम दाइको थियो ।
एक्लो सोचले केही बन्दैन । सबैको साथले सफलता मिल्ने हो । तानसेनका विषयमा बाहिर बसेर सोच्नेभन्दा तानसेनमै बसेर पर्यटन व्यवसाय गर्नेहरुले आफ्नो व्यवसायलाई गुणस्तर बनाउन सोच्नुपर्छ । कति पाल्पालीहरुले आफ्नो जन्मथलो छोडेर हिँडे, त्यसको लेखाजोखा छैन ।
समय क्रममा कतिपयले पाल्पा छाडेर गए पनि आफ्नो जन्मभूमिप्रति अगाध माया, प्रेम देखाउनेहरुको संख्या औंलामा गनिने मात्रको छ । त्यसमध्ये एक हुनुहुन्थ्यो श्याम कक्षपति । श्याम दाइसँग मैले धेरैपटक भेटेको छु । धेरै सन्दर्भमा । तर, जतिपटक भेटे पनि पाल्पाको विकासमा चिन्ता लिने व्यक्तिमध्येका एक उहाँ हुनुहुन्थ्यो ।
काठमाडौंको प्रदूषित वातावरण । तनावमुक्त दैनिकीलाई छल्न बेला–बेला पाल्पा पुग्थे श्याम दाइ । तानसेन बजारदेखि माथि बतासेडाँडामा उहाँले आफू बस्न दुई कोठाको सानो कटेज बनाउनुभएको छ । चिसो हावा, बादलु घुम्टो, स्वच्छ सफा र हरियाली वातावरण छ त्यो कटेजभित्र । कुरिनटारमा रिभर साइड रिसोर्ट बनाउँदै गर्दा कुरिनटारको गर्मी छल्न श्याम दाइले पाल्पामा उक्त कटेट बनाउनुभएको थियो ।
सायद, त्यही यात्राले उहाँमा पाल्पामा पनि नाङ्लो रेष्टुराँ खोल्ने सोच आयो । नाङ्लो खुल्नु अगाडि पाल्पा घुम्न जाने पर्यटकहरुका लागि स्तरीय रेष्टुराँ थिएन । भएका रेष्टुराँहरु पनि व्यवस्थित थिएनन् । तर, नाङ्लो रेष्टुराँ आज पाल्पाको पहिचान भएको छ । पाल्पामा पाइला टेक्ने जो कोहीले पनि नाङ्लोको स्वाद जिब्रोमा झुन्ड्याएर फर्किने गरेका छन् ।
पाल्पामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘पाल्पाली छेँ’ बेड एण्ड ब्रेकफाष्ट पनि खोल्नुभयो । तर, कोभिडको कारण उक्त होटल बन्द गर्नुप¥यो ।
नेपालजस्तो सुन्दर देश विश्वमा कहीँ पनि छैन । नेपालको आर्थिक अवस्था पर्यटन क्षेत्रको विकासबाटै सम्भव छ । तर, पर्यटन क्षेत्रमा निजी क्षेत्रले जति लगानी गरेको छ, त्यसबमोजिम नेपालले गुणस्तरीय पर्यटक भित्र्याउन नसकेको उहाँको धारणा थियो ।
विश्वका प्रमुख गन्तव्यहरुमा नेपाल वायुसेवा निगमको पहुँच पु¥याउन सकियो भने सोझै नेपालमा गुणस्तरीय पर्यटक आउँछन् । त्यसका लागि नेपाल एयरलाइन्सलाई बलियो बनाउनु पर्छ । त्यसमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गरिनुपर्छ भन्नुहुन्थ्यो श्याम दाइ ।
नाङ्लो टेष्टुराँ त एउटा उदाहरण मात्र हो । पाल्पाका अन्य रेष्टुराँले पनि आफूलाई नाङ्लोकै स्तरमा स्तरोन्नति गरोस् भन्ने चाहना श्याम दाइको थियो । तर, श्याम दाइको त्यो सोचलाई पाल्पाले पछ्याउन सकेन । र, आज २० वर्ष बितिसक्दा पनि सित्तलपाटीमा नाङ्लो ठिङ्ग एक्लो उभिएको छ । जुन रेष्टुराँसँग श्याम दाइको ‘सेन्टिमेन्ट’ जोडिएको छ ।
श्याम दाइको निधनले सिंगो पाल्पा स्तब्ध र मर्माहत बनेको छ । मुखको क्यान्सर रोगबाट बैंककमा निधन भएको उहाँको पार्थिव शरीरमा एक थुँगा फूल अर्पण गरेर पाल्पालीहरु उहाँलाई अन्तिम बिदाइ गर्न चाहन्थे । तर, कोभिडका कारण त्यो सम्भव भएन । उहाँको पार्थिव शरीरलाई बैंककमै अन्त्येष्टि गरियो ।
हजारौं लाखौंको मन मस्तिष्कमा एक जना असल व्यक्ति गुमाउनुको पीडा छँदै छ । त्यो पीडाभित्र उहाँको पार्थिव शरीरमा एक थुँगा फूल अर्पण गर्ने पाल्पालीहरुको अधुरो सपना अधुरै बनेको छ । मानिस जन्मिएपछि मर्नु पर्छ, त्यो सबैले बुझेको कुरा हो, तर, मरेर सबैको स्मृतिमा बस्न सक्नु जीवनको सार्थकता हो, जो मरेर पनि हाम्रो मन मस्तिष्कमा बाँचिरहनुभएको छ ।
अलविदा श्याम दाइ !