Logo
Logo

एमाले-माओवादी गठबन्धन बने माओवादीलाई कम्तिमा २१ सिट फाइदा


152.5k
Shares

फाइल फाेटाे

काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । सबै दल तयारीमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तयारी राम्रै छ । तर, सत्तारुढ गठन्धन आवद्ध दल अलमलमा छन् ।

एक्लै निर्वाचन सामना गर्नुपर्ने बाध्यतामा रहेको एमालेलाई कम्तिमा अरु पार्टीको चिन्ता छैन । आन्तरिक टिकट बाँडफाँटमा केही सकस त हुने नै छ । तर, गठबन्धनमा आवद्ध दललाई भने सिट बाँडफाँटमै झमेला छ ।

सत्तारुढ गठबन्धनमा पाँच छन् । तर, गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाहेकको अस्तित्व सामान्य छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गन्तिमा आउँछन् । तर, राष्ट्रिय जनमोर्चा धार्नी न बिसौली मात्र हो ।

कांग्रेसलाई अलि–अलि चिन्ता माओवादीको मात्र हो । माओवादीले गठबन्धन तोड्दा कांग्रेसलाई धेरै नै घाटा हुन्छ । त्यो कुरा कांग्रेसले बुझेको छ । माओवादीलाई विश्वासमा लिन नसके एमालेसँग मिल्न सक्ने र घाटा आफूलाई हुने कांग्रेस सभापति शेरबहादुर देउवाको बुझाइ हो ।

माओवादी अध्यक्ष प्रचण्डको ‘मुभ’बारे देउवा राम्रै जानकार छन् । गठबन्धनमा सम्मानजनक स्थान नदिँदा प्रचण्डको ‘मुभ’ कांग्रेसका लागि घातक हुनसक्ने बुझाइका साथ देउवा प्रचण्डलाई फकाउने प्रयत्न गरिरहेका छन् । तर, प्रचण्ड एक्लै छैनन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई छोड्न सक्दैनन् ।

गठबन्धनभित्र सिट बाँडफाँटका लागि कार्यदल बनेको छ । कार्यदलले गृहकार्य गरिरहेको छ । कांग्रेसबाट कार्यदलमा सभागी नेताले कम्तिमा सय सिट दाबी गरेका छन् । कांग्रेसको दाबी अन्य दलले स्वीकार्न सकेका छैनन् । तर, कांग्रेस अझै लचक हुने अन्य दलले छनक पाएका छन् । सनिबार सम्पन्न स्थायी समिति बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नै कांग्रेस ८० सिटमा मान्न सक्ने ब्रिफिङ गरेका थिए ।

माओवादीले कति सिट पाउँछ ?
प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ १६५ सिटमा प्रतिस्पर्धा हुन्छ । यो सिट संख्या नै पाँच दलले बाड्नुपर्ने छ । कांग्रेसले ८० सिट लिने हो भने बाँकी ८५ सिट अन्य चार दलले बाँडफाँट गर्नुपर्ने हुन्छ ।

अघिल्लो निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । गठबन्धनका अन्य दललाई पनि समेट्नुपर्ने अवस्थामा माओवादीले यस पटक धेरै पाए ४५ सिटसम्म पाउने सम्भावना छ । माओवादीले ४५ सिट पाउने अवस्थामा बाँकी ४० सिट अन्य दलले बाड्नुपर्ने हुन्छ ।

जपाले कति सिट पाउला ?
जनता समाजवादी पार्टी (जसपा)ले तत्कालीन संघीय समाजवादी फोरमको रुपमा १० सिट जितेको थियो । पछि तत्कालीन राष्ट्रिय जनता पार्टीसँग मिलेर ३३ सिट भएको थियो । तर, यसबीचमा जसपा विभाजन भएर तीन वटा दल बनेको छ । विभाजन भएर कमजोर भएको अवस्थामा जसपाले धेरै पाए १५ सिट पाउन सक्छ ।

जसपाले १५ सिट पाएको अवस्थामा बाँकी २५ सिट रहन्छ । बाँकी रहेको २५ सिट अन्य दुई दल नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बाड्नु पर्ने हुन्छ ।

एकीकृत समाजवादीले कति सिट पाउँछ ?
एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी गठबन्धनभित्र निर्भिकल्प तेस्रो दल हो । स्थानीय तह निर्वाचनमा पनि एकीकृत समाजवादीले जसपलाई उछिनेको छ । यस्तो अवस्थामा आगामी आम निर्वाचनमा पनि एकीकृत समाजवादीले जसपाभन्दा धेरै सिट पाउन सक्छ ।

अहिलेसम्मको छलफललाई आधार मान्ने हो भने एकीकृत समाजवादीले २० सिटसम्म पाउने सम्भावना देखिन्छ । एकीकृत समाजवादीले २० सिट पाउने अवस्थामा बाँकी रहेको ५ सिट राष्ट्रिय जनमोर्चाको भागमा पर्न जान्छ ।

गठबन्धनमा दल थपिए सबैलाई घाटा
वर्तमान पाँच दलीय गठबन्धनमा अन्य दल पनि थपिने निश्चित छ । जसपा छोडेर नयाँ दल गठन गरेका डा. बाबुराम भट्टराई पनि आफू गठबन्धनमै रहेको भनिरहेको छन् ।

त्यसैगरी, जसपाबाटै विभाजन भएको लोकतान्त्रिक समाजवादी पार्टी पनि वर्तमान गठबन्धनमै रहेर निर्वाचनमा सहभागी हुने कोसिस गरिरहेको छ । यी साना दुई दल पनि गठबन्धनमा सहभागी हुने हो भने हाल गठबन्धनमा सहभागी दलको भाग कटाएर दिनुपर्ने अवस्था बन्छ ।

कांग्रेस मान्ला ८० सिटमा ?
गठबन्धन भित्रका दल नेपाली कांग्रेसलाई ८० सिटमा मनाउने कोसिसमा छन् । तर, कांग्रेसको दाबी सय सिट हो । कांग्रेस सारै अप्ठ्यारो परिस्थितिमा मात्र ८० सिटमा मान्न सक्छ । कांग्रेस सयबाट तल झर्दा ९० सम्ममा आइपुग्ने देखिन्छ ।

कांग्रेसले ९० सिट छोड्दै नछोड्ने अवस्थमा त्यसको मार गठबन्धनका अन्य दलमा पर्न जान्छ । त्यस्तो अवस्थामा वर्तमान गठबन्धनभित्र खटपटको वातावरण बन्न सक्छ । त्यसको फाइदा एमालेले लिनसक्छ ।

गठबन्धनमा माओवादी घाटा
एमाले र माओवादी नेताहरुबीच भित्रभित्रै एमाले–माओवादी गठबन्धनको कसरत पनि चलिरहेको छ । गठबन्धनमा कांग्रेसको पेलान धेरै भयो भन्ने माओवादी नेताहरु एमालेसँगै गठबन्धन गर्न ठीक हुने पक्षमा छन् ।

एमालेका नेताहरुले माओवादी नेतालाई ६०–४० का आधारमा गठबन्धनको प्रस्ताव गरेका छन् । माओवादी र एमालेबीच गठबन्धन हुने र माओवादीले ४० प्रतिशत पाउने अवस्थामा माओवादीले ६६ सिट पाउँछ । यो संख्या माओवादीका लागि गठबन्धनबाट पाउने संख्या भन्दा २१ सिट धेरै हो ।

के एमाले–माओवादी गठबन्धन सम्भव छ ?
अहिलेकै अवस्थामा एमाले–माओवादी गठबन्धन सम्भव देखिन्न । प्रचण्डले नेकपा एकीकृत समाजवादी ‘नहाप्दा’सम्म एमाले–माओवादी गठबन्धन बन्ने सम्भावना नै रहँदैन । प्रचण्ड अहिलेकै अवस्थामा माधवकुमार नेपालसँगको सम्बन्ध टुटाउने निर्णयमा पुग्न सक्दैनन्, त्यसका अनेक कारण छन् ।

प्रतिक्रिया दिनुहोस्