Logo
Logo

तानसेनको खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग


378
Shares

रामपुर । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो ।

प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । खानेपानी सहज गराउनका लागि संरचना दिगो बनाउने र बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने उनको भनाइ थियो ।

तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत् गडबढी र कालीगण्डकीको योजना सञ्चालन हुन ढिलाइ हुँदा पनि खानेपानीको अभाव भएको बताए ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नागरिकलाई खानेपानी सहज ढङ्गले वितरण गर्ने व्यववस्था मिलाउन तानसेन खानेपानी उपभोक्ता समिति सक्रिय हुनुपर्नेमा जोड दिए। नागरिकले सहजरुपमा खानेपानी नपाउने अवस्था अन्त्य गर्नाका साथै विद्युत्को बिल घटाउन पनि वैकल्पिक ऊर्जाले सहयोग पुग्ने उनले जानकारी दिए ।

प्रदेशका मन्त्री रानाका साथै नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम, बेलायती राजदूतावासका प्रतिनिधिसहितको टोलीले खनेपानीको निरीक्षण गरी सोलार प्यानलको थप सम्भाव्यताबारे छलफल गरेको थियो ।

जिल्लाको भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी र खानीगाउँ क्षेत्रमासमेत सोलार राख्ने विषयमा अध्ययन भइरहेको छ । यसैगरी बतासेडाँडामा सोलारबाट १०९ किलोवाट बिजुली निकाल्नका लागि अध्ययन भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्