Logo
Logo

औषधि व्यवस्था विभागमा गाईजात्रा : वरिष्ठलाई ‘वनबास’ कनिष्ठको रजगज


2.8k
Shares

काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको सरुवा हुने चर्चा चल्नेबित्तिकै सेलाएको छ । भट्टराईको सरुवाको चर्चा चलाउनुका पछाडि स्वास्थ्य मन्त्री भवानी खापुङलाई बदनाम गराउने भित्री उद्देश्य रहेको स्रोतले बताएको छ । तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले भट्टराईलाई विभागको महानिर्देशक बनाएका हुन् ।

महानिर्देशक भरत भट्टराई र मन्त्री खापुङ

भट्टराईले कबोल गरेअनुसारको चन्दा नदिएको भन्दै खतिवडाले आफू बहिर्गमनमा परेपछि निकटस्थहरुसँग गुनासो पोख्ने गरेका छन् । उनले निकटस्थहरुसँग भन्ने गरेका छन्–‘पार्टीका सम्मानित नेता लगायतको करबल र दबाबमा भट्टराईलाई महानिर्देशक बनाइयो, महानिर्देशक बनाइदिएबापत चन्दा दिने प्रतिबद्धता पनि ब्यक्त गरे, पछि औषधिको मूल्यबृद्धि गर्दा पनि रकम दिने लोभ देखाए, तर प्रतिबद्धता गरेअनुसार चन्दा पाएको छैन ।’

खतिवडा जाँदाजाँदै महानिर्देशक भट्टराईले सिटामोल लगायत अन्य जीवनदायी औषधिहरुको मूल्यबृद्धि गर्न अनुमति दिलाउन सफल भएका थिए । सिटामोल जस्तो अत्यावश्यक औषधिको मूल्यबृद्धिपछि सरकारको चौतर्फी बिरोध भए पनि बहिरो सरकारले सुनेन । मूल्यबृद्धि कार्यान्वयन भयो । त्यसका योजनाकार महानिर्देशक भट्टराई र औषधि व्यवस्थापक सन्तोष केसीमाथि कारबाही हुन त कता हो कता उल्टै थमौतीमा परे । झन् केसी त आकर्षक मानिने अनुगमन तथा मूल्यांकन महाशाखाको प्रमुख बनाइए ।

खतिवडालाई समेत झुक्याएर महानिर्देशक भएका भट्टराई वर्तमान मन्त्री भवानी खापुङ त पूर्वकै भएकाले हिमचिम झन् बढाउन पुगेका छन् । बिराटनगरमा धेरै पहिलादेखि बसोबास गर्दै आएको उनको पुस्ता भए पनि भट्टराईले आफू मन्त्री खापुङको गृहजिल्ला तेह्रथुममा जन्मिएको भनेर नजिक हुँदैआएका छन् ।

मन्त्री खापुङले आउनासाथ भट्टराईका काण्डहरुबारे पूर्वजानकारी भएकाले सरुवा गर्न चाहन्थे । नारायणप्रसाद ढकाल वरिष्ठ भएका कारण उनलाई महानिर्देशक बनाउनुपर्छ भनेर खापुङ नलागेका पनि होइनन् । तर पार्टी नेताहरुको स्वार्थका कारण भट्टराईले खापुङलाई घुमाउन सफल भए । सामान्य समाचार आउँदा पनि एक प्याराग्राफ बिज्ञप्ति सार्वजनिक गर्दै १२ घन्टाभित्र आफ्नो कार्यकक्षमा हाजिर हुन उर्दी जारी गर्ने राज्यमन्त्री हिराचन्द्र केसी पनि भट्टराईका काण्डबारे जानकार रहे पनि मौन देखिएका छन् ।

भट्टराईले राज्यमन्त्री केसीलाई पनि प्रभावमा लिइसकेका छन् । राज्यमन्त्रीको सचिवालयलाई समेत आफूले प्रभावमा पारिसकेको बताउने उनका लागि स्वास्थ्य सचिव डा. रोशन पोखरेल त घरकै सदस्य जस्तै भए । गतहप्ता स्वास्थ्यले उच्च तहका आधा दर्जन अधिकारीको जिम्मेवारी हेरफेर गर्दा भट्टराईको पनि सरुवा हुने आँकलन गरिएको थियो । विदेशी औषधि कम्पनीको निरीक्षणमा भएको अनियमितता प्रकरण, सिटामोल जस्ता अत्यावश्यक औषधिको मूल्यबृद्धि, निजी औषधि कम्पनीहरुसँग मिलेर उनीहरुले उत्पादन गरेको औषधिको मूल्यवृद्धिमा सहमति दिएका जस्ता दर्जनौं आरोप भट्टराईमाथि छ । तर बिडम्बना उनै भट्टराई मन्त्री, राज्यमन्त्री र सचिवका प्रियपात्र छन् । उनीमाथि कुनै कारबाही हुँदैन । उल्टै महानिर्देशकमा थमौती भएका छन् ।

गतहप्ता सरुवाको चर्चा चलेपछि भट्टराईको बास कार्यालय समयमा पनि कार्यकक्षमा हुन सकेन । उनी सरुवा थमौतीका लागि नेकपा एकीकृत समाजवादीका शीर्षनेतादेखि ब्यापारीको शरणमा पुगे । जसका कारण थमौतीमा पर्न सफल भए ।

तीन दिन सरकारी कामको नाममा सिन्कोसमेत नभाँचेर सरुवा थमौतीमा कुदेका आफ्नोमात्र थमौती गर्न सफल भएनन्, आफ्ना प्रतिस्पर्धी नारायण ढकाल प्रदेश १ को प्रदेश स्वास्थ्य निर्देशनालयमा पठाउन सफल भए । आफूभन्दा वरिष्ठ ढकाललाई प्रदेश सरकारमातहतको निर्देशनालयमा काजमा पठाउन सफल भएका भट्टराईले त्यसपछि भने सन्तोषको सास फेरेका छन् ।

मन्त्री खापुङले आउनासाथ भट्टराईका काण्डहरुबारे पूर्वजानकारी भएकाले सरुवा गर्न चाहन्थे । नारायणप्रसाद ढकाल वरिष्ठ भएका कारण उनलाई महानिर्देशक बनाउनुपर्छ भनेर खापुङ नलागेका पनि होइनन् । तर पार्टी नेताहरुको स्वार्थका कारण भट्टराईले खापुङलाई घुमाउन सफल भए ।

उनले विभागका सन्तोष केसी सहितका अधिकारीकै सामुन्नेमा भन्ने गरेका छन्, प्रतिस्पर्धीलाई थानकोट कटाइयो, अब ढुक्क भइयो । मन्त्री र सचिवलाई प्रभावमा पारी ढकाललाई प्रदेश पठाउन सफल हुनुभएछ नि भन्ने जिज्ञासामा महानिर्देशक भट्टराई पूरै टकटकिएर भने–‘आफूलाई यसबारेमा कुनै जानकारी छैन ।’

विभागको कार्यकक्षमा बसेर जहिले पनि ढकाललाई गालीगलौज गर्ने भट्टराईले आफूलाई जानकारी नभएको बताउनुले उनी कतिसम्म निर्लज्जतामा उत्रिएका रहेछन् भन्ने स्वतः पुष्टि हुन्छ । जागिर खाएदेखि अधिकांश समय सँगै काम गरेका ढकाललाई उनले कतिपय ब्यक्तिसँग नचिनेको समेत भन्ने गरेका छन् । विगतमा ढकाल महानिर्देशक हुँदा अख्तियार, मन्त्रालय, सतर्कता लगायतका निकायमा उजुरी हाल्ने, हाल्न लगाउने काम समेत भट्टराईले गरेको आरोप छ ।

प्रदेशको दरबन्दीमा काजमा पठाउने खापुङको निर्णय भने विवादमा परेको छ । उनले वरिष्ठ कर्मचारीको तेजोबध गर्न त्यस्तो निर्णय गरेकाले सच्याउनुपर्ने माग पनि भएको छ । खतिवडाकै पालामा बेथितिले उग्ररुप लिंदै गएको स्वास्थ्य मन्त्रालय अहिले खापुङ आएपछि झन् मन्त्रीले होइन, पार्टीका नेता र बिचौलिया ब्यापारीले मन्त्रालय चलाउन थालेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्