Logo
Logo

युवा सहभागिताका लागि कांग्रेस नेता शाहीको ‘५०–५०’ अभियान


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले नेतृत्वलाई दबाब दिन र संसदमा युवा सहभागिता बढाउन ‘५०–५० अभियान’ सुरु गरेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५० वर्षमुनिका युवालाई ५० प्रतिशत सिटमा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव छ । राजनीतिक दलले देशभरिबाट युवा उम्मेदवारलाई प्राथमिकताका साथ मौका दिनुपर्ने उनको माग छ ।

उनले कांग्रेसबाट युवालाई उम्मेदवार बनाउन नेतृत्वसमक्ष माग गरेका छन् । ‘कांग्रेसमा युवाको आशा, विश्वास र भरोसा बढाउन आगामी निर्वाचनमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य दिइनुपर्छ,’ उनले भने, ‘पूरानो पुस्ताबाट जनता वाक्क दिक्क भइसकेको अवस्था छ । अब पालो नयाँ पुस्ताको हो, युवा पुस्ताको हो ।’

अभियानअन्तर्गत युवा नेताले शीर्ष नेतालाई निर्वाचनमा सिट बाँडफाँडमा ५० वर्ष मुनिकालाई ५० प्रतिशत टिकट र ५० वर्षमाथिकालाई ५० प्रतिशत टिकट वितरण हुनुपर्ने माग गरेको उनले बताए ।

उनले युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन, युवा मतदाताको आकर्षण बढाउन, युवाको ऊर्जा, क्षमता र जोस जाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग गर्न र कांग्रेसलाई बलियो, सशक्त, गतिशील र निर्वाचनमा बहुमत प्राप्त गर्ने अभियानको लागि ५०–५० अभियान महत्वपूर्ण हुने बताए ।

अन्य पार्टीका युवालाई पनि यो अधिभयानमा साथ दिन र आफ्नो दलका शिर्ष नेतालाई दबाब दिन अनुरोध गरेका छन् । शाही कांग्रेसको १४औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापतिका प्रत्यासी थिए । यसअघि ०७० को सविधानसभा र ०७४ सालको प्रतिनिधिसभा सदस्यमा कालिकोटबाट प्रत्यासी थिए ।

नेपाल दरुण दलको केन्द्रीय महामन्त्री भइसकेका शाही पार्टीमा क्रान्तिकारी स्वभावका कारण लोकप्रिय छन् । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः कालिकोटबाटै चुनाव लड्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्