Logo
Logo

फोहोर बोकेका गाडी सिसडाेलमा रोकिए


1.4k
Shares

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् । स्थानीयको अवरोधका कारण केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका हो ।

दुई दिनदेखी जारी स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्‍याइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ ।

हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका थिए । सडक मर्मतको काम पूरा नगरी फोहर लैजान थालिएको र फोहर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयबासिन्दाले आन्दोलन गरेका हुन् ।

यसअघि लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङले बताए। स्थानीयबासिन्दाको अवरोधकै बीच हिजो काठमाडौं महानगरपालिकाले १ सय ९० वटा गाडीलाई बञ्चेडाँडा पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्