काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धन कायम रहने सहमति भइसकेको छ । प्रतिनिधि सभातर्फका १६५ र प्रदेश सभातर्फका ३३० निर्वाचन क्षेत्रको सिट बाँडफाँडको विषय टुङ्ग्याउन पाँचदलीय कार्यदलले काम गरिरहेको छ । अर्कोतर्फ नेकपा (एमाले)ले पनि राप्रपा, परिवार दल लगायतसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेको छ ।
वाम गठबन्धनका विषयमा पनि बहस चलिरहेको छ । यद्यपि, आगामी निर्वाचनमा वाम सहकार्यको सम्भावना निकै कम हुँदै गएको छ । राजनीतिमा असम्भव केही हुँदैन भन्ने मान्यतालाई विर्सने हो भने यो निर्वाचनमा वाम गठबन्धन सम्भव देखिँदैन । आगामी निर्वाचन, गठबन्धन र एकीकृत समाजवादीको स्थितिबारे नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग गरिएको कुराकानी प्रस्तुत छ :
वाम एकताको विषय उठाउँदै आउनुभएको छ, केही प्रगति छ ?
हाम्रो देश अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा छ । हामीले पूँजीवादी जनक्रान्ति सम्पन्न गरिसक्यौँ । यो युगीन विशेषता, आवश्यकता र मागअनुरुप मैले रणनीतिक हिसावले वाम एकताको विषय उठाउँदै आएको हुँ । अरु वामहरूलाई पनि मैले यो कुरा भन्दै आएको छु ।
सार्वजनिक रुपमै मैले यो विषय उठाएको छु । विभिन्न सूत्रमार्फत पनि कुराकानी हुँदै आएको छ । तर, म के स्थिति देख्छु भने, नेकपा एमालेको नेतृत्व अहिलेसम्म पनि मौन छ । अझ एमालेको नेतृत्व घरघरी वामपन्थी दलका नेताहरूलाई गाली गरेर हिड्छ । कहिले देशद्रोही भन्छ, कहिले बञ्चरोको बिँड भन्छ । एमाले नेतृत्वको यस्तो खाले रबैयाका कारण तत्काल वृहत वामपन्थी एकता सम्भव हुन सकिरहेको छैन ।
यद्यपि, एमालेका कार्यकर्ताहरू वाम एकताको पक्षमा रहेको देख्छु । एमालेका अधिकंश संसादहरू पनि वाम एकताको पक्षमा देख्छु । नेतृत्वको ठूलो हिस्सा पनि वाम एकताकै पक्षमा देख्छु । तर, एमालेको मूल नेतृत्वको चेत नखुलेका कारण आगामी निर्वाचनमा वाम एकताको सम्भावना कम हुँदै गएको छ ।
आगामी निर्वाचनमा वामपन्थीहरू बीच कार्यगत एकताको सम्भावना नि ?
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचन आयोगले पनि आफ्नो प्रक्रिया थालनी गरिसकेको छ । राजनीतिक दलहरूले पनि रणनीतिक छलफल थालिसकेका छन् । यो छोटो अवधिमा वामपन्थी एकता हुन्छ कि हुँदैन भन्ने प्रश्न अत्यन्त ज्वलन्त बनेको छ ।
चाहेको खण्डमा जहिले पनि सम्भव हुन्छ । यदि, चाहनै भएन भने त जति समय भएपनि हुने कुरा भएन । एकीकृत समाजवादी, एमाले र अन्य वाम पार्टीका कार्यकर्ता वाम कार्यगत एकताकै पक्षमा छन् । आ–आफ्नो ठाउँमा उनीहरूले कुरा उठाइरहेका छन् । तर, त्यसको सुनुवाइ भइसकेको छैन । कार्यकर्ताको आवाज ढिलोचाँडो सुनुवाइ नगरी सुखै छैन ।
वाम कार्यगत एकताको विषय अगाडि नबढ्नुको मुख्य कारण के हो ?
वाम कार्यगत एकताको विषय अघि नबढ्नुको मुख्य कारण भनेको सही दृष्टिकोण, सही अडान र सही नीति नहुनु हो । वामपन्थीहरूको सबभन्दा ठूलो दलको तर्फबाट गरिनुपर्ने पहलकदमी र सक्रियता नदेखाइनु नै हो ।
आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन नै रहने भयो ?
कुनै पनि वामपन्थी दलहरूसँग आग्रह, पूर्वाग्रह राखेर हामीले सोच्नु हुँदैन । फलामे पर्खाल खडा गरेर, ढोका बन्द गरेर जानुपर्छ भन्ने म ठान्दिनँ । तर, अहिलेको वास्तविक अवस्था के छ भने, हामी पाँचदलीय गठबन्धनको अवस्थामा छौँ । यो गठबन्धनलाई अगाडि बढाएर लानुको अर्को विकल्प अहिले देखिँदैन । यही गठबन्धनलाई दह्रो बनाएर अगाडि बढ्नुपर्ने स्थितिमा हामी छौँ ।
गठबन्धन अब कसरी अगाडि बढ्ला ?
पाँचदलीय गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा जाने सहमति भयो । पाँचदलीय गठबन्धनले सिट बाँडफाँडबारे निर्णय गर्न कार्यदल बनाएको छ । आधार र मापदण्ड बनाएर कार्यदलले सिट बाँडफाँडबारे गृहकार्य गर्छ । कार्यदलले भदौ पहिलो हप्ताभित्र तालमेलको मोडालिटी टुङ्ग्याउने छ । कार्यदलको सुझावको आधारमा निष्कर्षमा पुगेर त्यसलाई कार्यान्वयनमा लैजाने छौँ । यो प्रक्रियालाई जतिसक्दो छिटो टुंगोमा पुर्याएर हामी चुनावी अभियानमा होमिने छौँ ।
पाँचदलीय गठबन्धनमा सिट बाँडफाँड टुङ्ग्याउन सजिलो छ त ?
हामीसँग प्रतिनिधि सभामा १ सय ६५ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभातर्फ ३ सय ३० निर्वाचन क्षेत्र छन् । यी क्षेत्र बाँडफाँट गर्नुपर्ने छ । सिट बाँडफाँट लेनदेन भएकाले कतिपय उतार–चढाव पनि आउन सक्छन् । तर असम्भव भने छैन । एकले अर्कालाई समान देखेर, हामी सबैको भूमिका छ भन्ने सोचेर सहयोग गर्न तयार भए असम्भव भन्ने हुँदैन । पहिला कार्यदलमा छलफल हुन्छ, त्यसको आधारमा शीर्ष तहबाट निर्णय गरेर अगाडि बढ्छौँ । यस्तो अवस्थामा पाँचदलीय गठबन्धन अझ बलियो भएर अगाडि बढ्छ ।
लोसपा पनि गठबन्धनमा थपिँदा सिट बाँडफाँडमा थप कठिनाइ होला नि ?
मोर्चा कहिले विस्तृत हुन्छ, कहिले साँघुरो हुन्छ । मोर्चा विस्तार गर्दा औचित्यको आधारमा हुन्छ । नीतिगत रुपमा र मुलुकको आवश्यकताको आधारमा मोर्चा गठन र विस्तार हुन्छ । हचुवाको भरमा मोर्चा बन्ने र विस्तार हुने कुरा हुँदैन । हामी यावत् विषयमा छलफल गरेर टुंगोमा पुग्छौँ ।
सत्तारुढ दलहरूको वाम–समाजवादी मोर्चाको विषय पनि उठेको थियो नि ?
एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, मसाल (राष्ट्रिय जनमोर्चा) र जसपाबीच धेरै विषयमा समानता छ । त्यसकारण हामी एउटै मोर्चा बनाएर किन नजाने भन्ने हिसावले केही कुरा भएको हो । देश र जनताको पक्षमा काम गर्ने सवालमा मिल्ने आधार भएकाले विभिन्न कोणबाट हामीले छलफल गरेका हौँ । तर, निर्णयमा भने पुगिसकेका छैनौँ ।
एउटै घोषणापत्र र चुनाव चिह्नको सम्भावना कतिको छ ?
सामान्यतया एउटै घोषणापत्र लिएर जाने सम्भावना अहिले पनि प्रचुरै छ । एउटै घोषणा पत्र बनाएर निर्वाचनमा जान चाहेको खण्डमा त्यो सम्भव छ । यद्यपि, त्यसबारेमा हामीले कुनै निर्णय गरिसकेका छैनौँ । जहाँसम्म चुनाव चिह्नको कुरा छ, त्यो चाहिँ अलि जटिल देखिएको छ । चुनाव चिह्नको विषयमा हामी धेरै जटिलतातर्फ जाने पक्षमा छैनौँ ।
कलम चिह्नलाई नै ब्रान्डिङ गर्ने भन्ने हो ?
साझा घोषणापत्र लिएर जाँदा पनि आ–आफ्नो पार्टीको चिन्हलाई चिनाएर जानुपर्ने अवस्था छ । हाम्रो पार्टी नयाँ भएकाले हाम्रो चुनाव चिह्न ‘कलम’ र विचार ‘समाजवादी क्रान्ति र रुपान्तरण’लाई व्यापक बनाउनुपर्ने आवश्यकता छ । त्यसलाई समेत ध्यानमा राखेर हामी अगाडि बढ्छौँ । एउटै चुनाव चिह्न लिएर जाँदा हुने फाइदा–बेफाइदा केलाएर मात्रै हामी टुंगोमा पुग्छौँ । साझा चुनाव चिह्न लिएर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने सम्भावना निकै कम छ ।
फरक–फरक चुनाव चिह्न लिएर जाँदा स्थानीय तह निर्वाचनमा जस्तो मत बदर होला नि ?
स्थानीय चुनावमा जस्तो जटिल प्रतिनिधि सभा र प्रदेश सभामा हुँदैन । निश्चित पार्टीहरू निर्वाचनमा जाने भएकाले चुनाव चिह्न पनि थोरै हुन्छन् । त्यसकारण जनतालाई चुनाव चिह्न छान्न समस्या हुँदैन । र, मत बदर हुने सम्भावना पनि निकै कम हुन्छ ।
कांग्रेसले त बहुमत आफूले सुरक्षित गरेर तालमेलमा जाने निर्णय गरेको छ नि ?
त्यस्तो निर्णय त अरु कुनै पार्टीले पनि गरिदिन सक्छ । एउटा पार्टीले निर्णय गर्दैमा त्यो लागू हुन्छ भन्ने होइन । गठबन्धनमा व्यापक छलफल हुन्छ, सिट लेनदेनमा सहमति हुन्छ । त्यही आधारमा अगाडि बढ्ने हो । माग त जसले पनि राख्न सक्छ । तर, सबैको सम्मान हुने विन्दु पत्ता लगाएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै गठबन्धनलाई दह्रो बनाउँछ ।
खाली सिट बाँडफाँडमा मात्रै सहमति कि कार्यक्रमिक कुरा पनि आउँछन् ?
हामी कार्यक्रमिक कुरा पनि गछौँ । हामी जितेर आएपछि कस्तो सरकार बनाउँछौँ ? कस्तो नीति लिन्छौँ ? सेवा प्रवाह कसरी गर्छौ ? विकास, निर्माणमा हाम्रो दृष्टिकोण के हुन्छ ? कस्तो अर्थतन्त्र निर्माण गर्छौ ? जस्ता विषयमा हाम्रो धारणा स्पष्ट रुपमा आउँछ ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एकीकृत समाजवादीको कति सिटमा दाबी हो ?
हामीले त्यसरी अंकगणित निकालेका छैनौँ । तर, सिट बाँडफाँड गर्दा २०७४ मा भएको निर्वाचनमा अहिले कुन पार्टीसँग कति सांसद छन् भन्ने कुरालाई आधार बनाउनुपर्छ । पछिल्लो विकसित घटनाक्रमलाई पनि ख्याल गरेर सिट बाँडफाँड गर्नुपर्छ ।
एकीकृत समाजवादीको शक्ति कति हो ? समानुपातिकमा कति मत ल्याउने आकलन छ ?
आगामी संसदमा हामी सशक्त शक्तिको रुपमा उपस्थित हुन्छौँ । एकीकृत समाजवादीले समानुपातिकमा मत ल्याउने स्पष्ट आधारहरू छन् । हामीले लिएका नीति, विचार र व्यवहारका कारण छोटो अवधिकै हामी देशव्यापी शक्तिको रुपमा स्थापित भइसकेका छौँ ।
हामीले १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा मात्र होइन, अधिकांश पालिका र वडातहसम्म संगठन विस्तार गरिसकेका छौँ । संगठन विस्तारको काम अझ व्यापक मात्रामा भइरहेको छ ।
हाम्रो मत २० देखि २५ लाख छ । स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा हाम्रा उम्मेदवार नभएका हुनाले अरु उम्मेदवारलाई हामीले मत हालेका छौँ । स्थानीय तहमा हामीले सबै ठाउँमा उम्मेदवार उठाएका हुन्थ्यौँ भने २० लाख प्लस मत सजिल्यै प्राप्त गथ्र्यौँ । त्यसबाट पनि हाम्रो शक्ति कति छ भन्ने बुझ्न सकिन्छ ।
आगामी निर्वाचनमा पनि गठबन्धनका कारण सबै क्षेत्रमा उम्मेदवार उठाउने अवस्था त छैन नि ?
तालमेल गर्दा प्रत्यक्षतर्फ कतिपय ठाउँमा हामीले पाउने अनि कतिपय ठाउँमा नपाउने हुन्छ नै । यो निर्वाचनमा समानुपातिक मतको समेत हिसाब हुने भएकाले असजिलो हुँदैन । २०७४ मा निर्वाचनका आधारमा कुन पार्टीसँग कति सांसद छन् त्यसलाई आधार बनाएर अघि बढ्नु पर्छ । त्यस आधारमा सिटको बाँडफाँट गर्नुपर्छ । त्यसपछिका विकशित घटनाक्रमलाई पनि हेर्नुपर्छ ।
गठबन्धन गर्दा कार्यकर्ताको व्यवस्थापनमा समस्या आउँदैन ?
हाम्रो पार्टी राष्ट्रव्यापी रुपमा क्रियाशील छ । सबै क्षेत्रमा हाम्रो संगठन छ । ती क्षेत्रमा उम्मेदवार उठाउन हामीलाई समस्या छैन । स्वाभाविक रुपमा तालमेल गर्दा कतिपय ठाउँमा हामीले पाउँछौँ, कतिपय क्षेत्र हामीले छाड्नुपर्ने हुन्छ । हामीले व्यक्तिगत स्वार्थका लागि एमालेबाट विद्रोह गरेका होइनौँ ।
मूल्य र मान्यताका आधारमा हामीले हाम्रो यात्रा निर्धारण गरेका छौँ । पार्टीमा लागेपछि एकै पटक सबैले टिकट पाउँछन भन्ने हुँदैन । हामी सबै पार्टीलाई जिताउने अभियानमा लाग्छौँ । दृढ संकल्पमा साथ लागेकै कारण हामीले एक वर्षमा राष्ट्रव्यापी पार्टी बनाउन सकेका हौँ । गठबन्धन गर्दा प्रत्यक्षतर्फ कम सिट भए पनि समानुपातिकतर्फ हाम्रो सबै सिटमा उम्मेदवार हुनुहुन्छ । हामी सामूहिक हित सोचेर अगाडि बढ्छौँ । कार्यकर्ता व्यवस्थापनको विषय सहज रुपमा नै हुन्छ ।
एमालेले त एकीकृत समाजवादीका कार्यकर्तालाई भित्र्याउन आह्वान गरिरहेको छ नि ?
एकीकृत समाजवादी अग्रगामी पार्टी हो । माक्र्सवादी, लेनिनवादी र क्रान्तिकारी पार्टी हो । समाजवादी क्रान्ति र रुपान्तरण गर्ने पार्टी हो । यस्तो स्पष्ट विचार भएको अन्य पार्टी नेपालमा छैनन् । एमालेको नेतृत्व त रणभुल्लमा छ । एमालेले नेपाली समाज कहाँ आइपुग्यो भन्ने पनि देखेको छैन ।
वैज्ञानिक समाजवाद कसरी प्राप्त हुन सक्छ भन्ने पनि एमालेले देखेको छैन । एमालेको १०औँ महाधिवेशनबाट पारित दस्तावेज हेर्नुस त कस्तो रणभुल्लमा छ ? स्पष्ट देखिन्छ । त्यस्तो अन्योलमा भएको पार्टीतर्फ हाम्रो पार्टीका कार्यकर्ताको बर्हिगमन हुन्छ भन्ने कुनै कल्पना गर्न सकिन्छ र ?
एकीकृत समाजवादीमा अध्यक्ष र सम्मानित नेताबीच विवाद छ भन्ने समाचार पनि आइरहेका छन् नि ?
अनेकथरिले अनेक खिचडी पकाउँछन । हाम्रो पार्टीमा विवाद छ भन्ने बेकारको कुरा हो । हाम्रो पार्टी एकताबद्ध छ । हामी जति छौँ, एकतावद्ध छौँ । सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटीदेखि तल्ला तहसम्म हामी एकतावद्ध भएर पार्टी निर्माणमा लागेका छौँ । समाजवादी क्रान्ति र रुपान्तरण गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने हाम्रो लक्ष्य हो । त्यसका लागि पार्टी एकतावद्ध भएर राष्ट्रव्यापी रुपमा क्रियाशील छ ।