Logo
Logo

अझै पाँच-दश वर्ष गठबन्धनकै अभ्यास जारी रहन्छ : सहरी विकासमन्त्री


378
Shares

पाल्पा । सहरी विकास मन्त्री मेटमणी चौधरीले पाँच दलीय गठबन्धनले मुलुकलाई सही बाटोमा लैजाने दाबी गरेका छन् ।

उनले अहिलेको सरकारले महङ्गी, भ्रष्ट्राचार लगायत अनियमितता नगरेको दाबी गर्दै विगतका वर्षका सरकार सही ढंगले नचल्दा नै अहिलेको अवस्था सिर्जना भएको दावी गरेका छन् ।

एकीकृत सरकारी भवनको उद्घाटनका लागि पाल्पा आएका मन्त्री चौधरीसँग नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार तानसेन आयोजना गरेको भेटमा उनले अहिले पनि राजनीतिक संस्कृति मैले एक्लै गरेको मात्र होइन, धाक रवाफ देखाउने प्रवृत्तिले पनि समस्या उत्पन्न भएको बताए ।

मंसिर ४ गतेको निर्वाचनपछि पनि नेतृत्व दिन सक्ने भन्दै उनले जनताको माग सम्बोधन गर्ने र लोकतन्त्रलाई दिगो बनाउन गठबन्धन आवश्यक रहेको बताए । ‘मुलुकले गलत शासक पायो भने दुःख पाउँछ भन्ने अनुभव गरिसकेका छौं,’ उनले भने, ‘संविधानको विषयमा चिन्ता जाहेर गर्नुपर्ने, कानुनी राज्यको विषयमा चिन्ता गर्नुपर्ने अवस्था ल्याएको विगतका शासक, नेतृत्वका कारण हो भन्ने पुष्टि भइसकेको छ ।’

गलत शासक र नेतृत्वका कारण विगतमा दुःख पाएको भन्दै उनले अब दुःख नपाउने गरी पाँच दलीय गठबन्धन अघि बढेको बताए । मन्त्री चौधरीले भ्रष्ट्रचार, महङ्गीका विषयमा सरकार संवेदनशील रहेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि आगामी मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताए ।

पत्रकारको जिज्ञासामा उनले अब बिस्तारै दुई दलीय व्यवस्थाको अभ्यास भइरहेको पनि बताए । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचन लडेको स्मरण गराउँदै उनले थपे, ‘अघिल्लो संसदीय निर्वाचनमा एक्लै चुनाव लड्ने अभ्यासमा २०७४ देखि परिवर्तन हुन थालेको भोगिसकेका छौं ।’

एमालेले पनि अन्य दलसँग गठबन्धन गर्न खोजेको र पाँच दलमा थप केही दलले सँगै निर्वाचन लड्न चाहेको मन्त्री चौधरीले बताए । यस्तै अबको ५१० वर्षसम्म गठबन्धनको अभ्यास हुनसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्