Logo
Logo

देव गुरुङ माओवादीको महासचिव बन्दै


6.9k
Shares

काठमाडौं । नेपका माओवादी केन्द्रले पदाधिकारीको लगभग टुंग्याएको छ ।

माओवादीले लामो समयदेखि थाती राखेको पदाधिकारी आज बस्ने स्थायी समिति बैठकबाट टुंगो लगाउने तयारी गरेको छ । पदाधिकारीको टुंगो लगाएर नाम पनि आजै सार्वजनिक गर्ने तयारी छ ।

माओवादीलाई स्थायी समिति, पोलिटब्युरो भन्दा पनि पदाधिकारी क-कसलाई बनाउने भन्नेमा बढी अप्ठेरो भएकाले पदाधिकारी चयनमा ढिलाइ भएको थियो । पदाधिकारीमध्ये पनि महासचिव को हुने भन्ने बहस माओवादीभित्र सबैभन्दा धेरै हुँदै आएको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव गर्ने छन् । बैठकमा अध्यक्ष प्रचण्डले नेता देव गुरुङलाई महासचिव प्रस्ताव गर्ने स्रोतको दाबी छ ।

दुई प्रभावशाली नेता वर्षमान पुन र जनार्दन शर्माको टकरावको कारण नेता गुरुङ महासचिव बन्ने भएका हुन् । महासचिवका दावेदारद्वय पुन र शर्मा उमहासचिव बन्ने भएका छन् । महासचिवमा यी दुबै नेताले चर्को दाबेदारी गरेपछि तेश्रो विकल्पमा प्रचण्ड पुगेको स्रोतको दाबी छ ।

अध्यक्ष प्रचण्डले भने दुवै नेतालाई उत्तिकै महत्वका साथ जिम्मेवारी दिने गरेका छन् । उनीहरूले समान रूपमा संगठन र राजकीय जिम्मेवारी पाउँदै आएका छन् । यसअघि पुनलाई उर्जामन्त्रीको जिम्मेवारी दिइएको थियो । शर्मालाई अहिले अर्थमन्त्रीको जिम्मेवारी दिएर सरकारमा पठाइएको छ ।

पुन र शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने बताइएको छ । उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।

वरिष्ठ उपाध्यक्षका रुपमा यस अघिको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्