Logo
Logo

करातेका दुई प्रशिक्षकविरुद्ध सामुहिक बलात्कारको मुद्दा


3.8k
Shares

मोरङ । सामुहिक बलात्कार आरोपमा विराटनगरबाट पक्राउ परेका करातेका दुई प्रशिक्षकविरुद्ध बिहीबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले करातेका प्रशिक्षक विराटनगर महानगरपालिका-३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर-४ का ५० वर्षीय सुरज भनिने अमर सुवेदीविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेको हो ।

राउत र सुवेदीलाई प्रतिवादी बनाइएको मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् । १५ वर्ष कैद सजायको मागदाबीसहित वकिल कार्यालयले मुद्दा दायर गरेको हो । सुरज भनिने असर सुवेदी र विनोद राउत क्षेत्रीले १८ वर्ष पूरा भएकी पीडित किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ ।

‘मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १ र २ बमोजिम कसूर गरेकाले निज प्रतिवादीहरूलाई सोही संहीताको दफा २१९ को उपदफा ३ को देहाय (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने तथा सामूहिक करणीतर्फ सोही संहिताको दफा २१९ (७) बमोजिम पाँच वर्षसम्म कैद सजाय थप हुनुका साथै निज प्रतिवादीहरूलाई मुलकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३ क) को खण्ड ‘ग’ बमोजिम तीन लाख जरिवाना गरी उक्त जरिवाना रकम पीडित राहत कोषमा जम्मा गरी पाउनसमेतको मागदाबी लिई अभियोगपत्र पेस गरिएको छ,’ अभियोग पत्रमा भनिएको छ ।

सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग पत्रमा भने दुवै अभियुक्तले जबरजस्ती करणी गरेको अस्वीकार गरेका छन् । तर, पीडितको बयान र अनुसन्धानका क्रममा संकलन गरिएको प्रमाणले सामुहिक करणी गरेको देखिने सरकारी वकिल कार्यालयको दाबी छ ।

अभियुक्तसँग आगामी आइतबार अदालतले बयान लिने छ । बयान सकिएसँगै वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि मुद्दामा अदालतबाट आदेश आउने सूचना अधिकारी बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्