Logo
Logo

देव गुरूङ- प्रचण्डलाई ‘गद्दार’ घोषणा गरेर हिँडेका थिए, प्रचण्डले नै महासचिव बनाए


143.8k
Shares

काठमाडौं । सेना समायोजन लगायत विषयमा असहमति जनाउँदै २०६९ असार ५ गते तत्कालीन एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले विद्रोह गरे ।

दश वर्षे जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को वैचारिक सारथिको रूपमा बलियो साथ दिएका किरणले बिद्रोह गर्दा रामबहादुर थापा ‘बादल’, सीपी गजुरेल, देव गुरूङ, पम्फा भुसाल, नेत्र विक्रम चन्द ‘विप्लव’ जस्ता घागडान योद्धाहरूले साथ दिए ।

किरणको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) गठन भयो । किरण समूहको निष्कर्ष थियो– ‘प्रचण्ड गद्दार भए । क्रान्ति तुहाए ।’

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न ‘अर्को क्रान्ति’ क्रान्तिकारी माओवादीको कार्यनीति बन्यो । सोही पार्टीका एक शीर्ष नेता थिए, देव गुरूङ ।

क्रान्तिको उद्घोषसहित बनेको उक्त पार्टीले २०७० सालमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनका क्रममा केही ठाउँमा बम विस्फोट जस्ता केही गतिविधि गर्यो । तर, संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न हुँदा क्रान्तिकारी माओवादी पहिलो एसल्टमै पराजित भयो ।

त्यसपछिका हरेक गतिविधिमा क्रान्तिकारी माओवादी चुक्दै जाँदा एक–एक गर्दै शक्ति गुमाउँदै गयो । भएका कार्यकर्ता माओवादीमै फर्कन थाले । जनयुद्धबाट स्थापित नेताहरू चरम आइसोलेसनमा परे ।

किरण पुरातन शैलीकै सशस्त्र क्रान्ति चाहन्थे । तर, परिस्थितिलाई आधुनिकताले गाँजिसकेको थियो । सशस्त्र क्रान्ति हुन सकेन । त्यस्तो अवस्थामा वर्तमान संसदीय व्यवस्था रोज्नुको विकल्प थिएन । तर, किरण तयार भएनन् ।

किरण संसदीय व्यवस्थामा फर्कन तयार नहुँदा क्रान्तिकारी माओवादीमा अन्तरसंघर्ष उत्कर्षमा पुग्यो । सोही अन्तरसंघर्षले क्रान्तिकारी माओवादीलाई विभाजनमा पुर्यायो । विद्रोहको नेतृत्व रामबहादुर थापा ‘बादल’ले गरे । २०७२ सालमा वृहत् वाम एकताको बहाना जुराएर बादलको नेतृत्वमा, देव गुरूङ, पम्फा भुसाल लगायतका नेता मूल पार्टीमा फर्के ।

बादलहरू माओवादीमा फर्केपछि माओवादी र एमालेबिच एकता भयो । त्यो एकतामा देव गुरूङहरूले आँखा चिम्लेर प्रचण्डलाई साथ दिए । बादल एकतापछिको शक्तिशाली गृहमन्त्री भए । तर, एमाले–माओवादी विभाजनको क्रममा बादल एमालेमै रहे । त्यसपछि देव गुरूङ बादल समूहका निर्विकल्प नेतृत्व बने ।

किरणको नेतृत्वमा पार्टी विभाजन भएपछि प्रचण्डलाई सबैभन्दा खरो आलोचना गर्ने मध्येका एक नेता हुन्, देव गुरूङ । उनले दर्जनौँ मञ्चहरूबाट देव गुरूङले प्रचण्डलाई अति घृणित रूपमा ‘गद्दार’ भनेका थिए ।

तर, माओवादी आन्दोलनमा निष्ठावान् नेतृत्वका रूपमा स्थापित देव गुरूङले पछिल्लो पटक माओवादीमा फर्केपछि अध्यक्ष प्रचण्डको हरेक कदममा आँखा चिम्लेर समर्थन गरे । होस्टेमा हैँसे थपे ।

राष्ट्रियताको मुद्दामा खरो उत्रने देव गुरूङ एमसीसी जस्तो औधी बहस भएको विषयमा प्रचण्डको लाइनभन्दा फरक रहेनन् । अर्थात् प्रचण्डको पछिल्लो इनिङमा देव गुरूङ थर्ड पोलबाट बलियो सारथिका रूपमा उभिँदै आएका छन् ।

०००

एमालेसँगको विभाजनपछि गत ११–१५ पुस २०७८ मा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा माओवादीको आठौँ महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनले पदाधिकारी चयन गर्न सकेन ।

महाधिवेशनबाट केन्द्रीय समिति मात्र चयन गरेको माओवादीले पदाधिकारी चयन गर्न नसक्नुका मुख्य कारण महासचिव पद थियो । दाबेदार थिए, वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ अनन्त र प्रभाकर दुवैले महासचिव नछोड्ने भएपछि यतिका समयसम्म माओवादीले पदाधिकारी टुङ्गो लगाउनै सकेन ।

शनिबार भने माओवादी अध्यक्ष प्रचण्डले हिम्मत गरेर स्थायी समिति बैठकमा पदाधिकारीको नाम प्रस्ताव गरे । चासोको रूपमा हेरिएको महासचिवमा उनै प्रचण्डलाई गद्दार भनेर छोडेर जाने देव गुरूङको नाम प्रस्ताव भयो । प्रचण्डले नै प्रस्ताव गरे ।

०००

महाधिवेशन र महाधिवेशनपछिका अनेकौँ प्रयासहरूमा महासचिवको दाबेदार देव गुरूङको नाम थिएन । देव गुरूङ आफैमा पनि त्यो चाहना कमै थियो सायद ! त्यसैले महासचिवका लागि उनको नाम कमै मात्र जोडियो ।

देव गुरूङ आफ्ना निकटहरूसँग भन्ने गर्थे– ‘अप्ठ्यारो समयमा छोडेर गएको पार्टीमा फर्केर आएका छौँ । हामीले बनाएको लिगेसीकै निरन्तरता भए पनि अहिले मूल नेतृत्वको चाहनाभन्दा बाहिर जान सकिन्न ।’

यस अर्थमा उनी प्रचण्डले दिएको जिम्मेवारी निर्वाह गर्ने पक्षमा थिए । यो नै चाहिन्छ भन्ने पक्षमा थिएनन् । सम्मानजनक सम्बोधन होस भन्ने मात्र चाहन्थे ।

महासचिवमा अनन्त र जनार्दनको विकल्पको रूपमा कृष्णबहादुर महरा, शक्ति बस्नेत र पम्फा भुसालको नाम चले पनि देव गुरूङको खासै चर्चा थिएन । तर, प्रचण्डले सर्प पनि मर्ने, लौरो पनि नभाँचिने नीति लिए । प्रचण्डको त्यो नीतिमा देव गुरूङ महासचिव बने ।

०००

प्रचण्ड अनन्तलाई महासचिव बनाउन चाहन्थे । तर, अनन्तलाई बनाउँदा पार्टी भित्र अलग सत्ताको अभ्यास गरिरहेका प्रभाकर समूह झनै चिढिने प्रचण्डको बुझाइ थियो । त्यसैले विकल्पको खोजिममा थिए प्रचण्ड । विकल्प खोज्दै जाँदा प्रचण्ड अन्ततः देव गुरूङमा पुगे । यसका विभिन्न पाटा छन् ।

अनन्त र प्रभाकरको पहिलो विकल्पको रूपमा हेरिएका थिए, कृष्णबहादुर महरा । तर, सांस्कृतिक विचलनको दाग लागेका महरालाई महासचिव बनाउँदा खेप्नुपर्ने आलोचनाका लागि प्रचण्ड तयार भएनन् ।

महरालाई महासचिव बनाउन प्रचण्ड तयार नहुनुको अर्को पनि कारण छ । अनन्त र जनार्दनको मुख्य लडाइँ ‘रूकुम र रोल्पा’ हो । ‘सबैभन्दा ठूलो सङ्ख्यामा बलिदान दिए पनि अवसर सबै रोल्पाले खायो’ भन्ने रूकुमका माओवादीको मनोभाव छ ।

महरा रूकुमकै नेता हुन । महरालाई महासचिव बनाउँदा ‘प्रचण्डले अन्ततः रोल्पा नै रोजे’ भन्ने आरोप लाग्दथ्यो । त्यो आरोप खेप्न तयार नहुँदा पनि प्रचण्डले महरा नरोजेका हुन् ।

महासचिवको रूपमा पम्फा भुसाल र शक्ति बस्नेतलाई अन्तिम विकल्पको रूपमा मात्र चर्चा गरिएको हो । भुसाल र बस्नेतलाई महासचिव बनाएर पार्टी चल्दैन भन्ने प्रचण्डको भित्री बुझाइ थियो । अब बाँकी रहे देव गुरूङ ।

देव गुरूङलाई महासचिव बनाउन प्रचण्डले मुख्य चार आधार समातेका छन् । एक, महासचिवका दाबेदार मध्ये सबैभन्दा सिनियर नेता । दुई, एकताको सन्देश । तीन, निष्ठावान नेता । चार, खरो आलोचक भए पनि राजनीतिक सुझबुझ राख्ने नेता ।

प्रचण्डले यिनै आधारहरू समातेर विगतमा आफूलाई ‘गद्दार’ घोषणा गरेका देव गुरूङलाई नै महासचिव बनाउने हिम्मत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्