Logo
Logo

बर्थिङ्ग सेन्टर र हवाई उद्धारले रोकेन कर्णालीको मातृ मृत्यु


441
Shares

कर्णाली । सुरक्षित रूपमा घरमै सुत्केरी भएकी रुकुम पश्चिमकी २० वर्षीय सुशीला बीसीले साउनको दोस्रो साता ज्यान गुमाइन्।

घरमै छोरी जन्माएकी उनको अत्यधिक रक्तश्रावका कारण अकालमै ज्यान गयो। श्रीमान् अर्की श्रीमतीसँग भारत भागेपछि उनी घर परिवारसँग बस्दै आएकी थिइन। घरबाट आधा घण्टा पैदल दूरीमा रहेको प्रसूति गृहमा नगएर उनी घरमै सुत्केरी भएकी थिइन्। परिवारको लापर्बाहीले गर्दा सुशीलाको ज्यान गएको माइती पक्षको गुनासो छ।

त्यस्तै गत असारमा घरमै सुत्केरी हुँदा जाजरकोट कुशेकी नारायणकली रोकायको पनि मृत्यु भयो। स्वास्थ्य संस्थामा नगएर घरमै चौथो सन्तानलाई जन्म दिएकी उनको समयमै साल नझर्दा मृत्यु भएको उनका एक छिमेकीले बताए।

गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्धारको सुविधादेखि गाउँ-गाउँमा बर्थिङ्ग सेन्टर र यातायात खर्चको व्यवस्था गरेको छ। यस्ता सुविधाहरू हुँदाहुँदै पनि पछिल्लो चार वर्षमा कर्णाली प्रदेशमा सुशीला र नारायणकलीजस्ता ६७ जना सुत्केरी तथा गर्भवती महिलाले ज्यान गुमाएका छन्।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १३ जना, २०७६/७७ मा २१ जना, २०७७/७८ मा २० जना र २०७८/७९ मा १३ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको छ।

ढिलो स्वास्थ्य संस्थामा पुग्नु, नियमित गर्भ जाँच नगर्नु, स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुनु तथा पूर्व तयारीको अभाव मृत्युका कारण बनेका जानकारहरू बताउँछन्।

धेरैजसो गर्भवती तथा सुत्केरी महिलाको मृत्यु घरमा, स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा र अस्पतालमा भएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए। गाउँका बर्थिङ्ग सेन्टरमा प्रसूति गराउने तालिम प्राप्त दक्ष जनशक्तिको अभावका साथै गर्भवती तथा सुत्केरी भइसकेपछि हुने हेलचेक्रयाइँले गर्दा पनि ज्यान गएको उनको भनाइ छ ।

गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने चेतना नहुँदा गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ। सरकारी सेवा सुविधा सम्बन्धी जानकारीको अभाव, घरपरिवारको लापरबाही, घरमै सुत्केरी हुने चलन, हेलचेक्रयाइँ र छोराको आशमा धेरै सन्तान जन्माउन खोज्दा गर्भवती तथा सुत्केरीको मृत्यु हुने गरेको छ ।

यस्तै पायक पर्ने ठाउँमा प्रसूति गृह नहुँदा घण्टौँ हिँड्नुपर्ने बाध्यता, कमजोर आर्थिक अवस्था, उमेरै नपुगी विवाह गर्ने चलन, चाहिएको बेला गाडी/एम्बुलेन्स नपाउँदा पनि गर्भवती तथा सुत्केरी महिलालाई जोगाउन गाह्रो परेको यहाँका सरोकारवालाहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्