Logo
Logo

सुरेन्द्र पाण्डेले भने- एमाले २०५६ सालकै अवस्थामा छ


94.2k
Shares

पोखरा । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिले एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । उनले अहिले २०५६ सालको जस्तै एमालेको अवस्था आएकोे बताएका हुन् ।

फाइल फोटो

आइतबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले २०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भएपनि कसैको गठबन्धन नभएको बताउँदै भने, ‘अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं ।’

नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ ।

अहिलेको गठबन्धन मुलुकका निम्ति आफैं समस्या बनेर आउन सक्ने उनको भनाइ छ । उनले भने, ‘गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानका लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो । यो गठबन्धनले मुलुकलाई थप संकटतिर पनि लान सक्छ ।’

नेता पाण्डेले वर्तमान राजनीतिक समस्याको समाधान अबको चुनावले पनि गर्न नसक्ने आशंकाबीच चुनावमा हुन गइरहेको बताए । आगामी ५ वर्षले यसअघि भएका राजनीतिक अस्थिरता समाधान गर्न सक्यो भनेमात्रै देशले सही दिशा लिने पाण्डेको भनाइ छ ।

उनले भने, ‘परिस्थिति कस्तो देखिँदैछ भने आउने चुनावले पनि कुनै बहुमतको सरकार नहुने र कम्तिमा २÷३ सरकार बन्ने सम्भावना बोकिरहेको हो कि भन्ने म देख्छु । जुन ढंगले सरकारमा बसिरहेका दलहरुले वार्ता अगाडि बढाइरहेका छन् । कसैलाई बहुमत नदिने वार्ता गर्नुपर्छ भन्ने एकाथरी र बहुमत त गर्नैपर्छ भन्ने अर्को थरी । यसैले चुनावमा कुनै एउटा दलको बहुमत नहुने देखिन्छ ।’

उनले बहुमत नपुगेपछि खिचातानी हुने र त्यसले अहिलेको असन्तुष्टि हटाउने भन्दा जारी राख्ने सम्भावना बढी रहेको दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउन भनेर लाग्नेमध्येमा आफू एकजना पनि रहेको तर त्यो आंशिकमात्र सफल भएको पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्