काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्की सुन तस्करी विवादमा मुछिएका छन् । तस्करीको सुन लुकाएको आरोपमा उनले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ ।
त्यससम्बन्धि उजुरी परेपछि उनीमाथि छानबिन सुरु भएको छ । कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । डिएसपीको नेतृत्वमा उनीमाथि छानबिन थालिएको छ ।
गत गत असारमा दुबईबाट आएका पाँच व्यक्तिले ५० ग्रामका दरले ल्याएको सुन फिर्ता नगरेपछि भएको विवादमा गृहमन्त्रीका पिएसओ जोडिएका हुन् । जसमा उनले चितवनका एक व्यक्तिलाई पक्राउ गरी त्यो सुन बराबरको पैसा फिर्ता दिन दबाब दिएका हुन् ।
करिब २० लाख रुपैयाँ बराबरको तस्करीको सुन चार जनाले गायब बनाएपछि तस्करका नाइकेले गृहमन्त्रीका पिएसओ कार्कीलाई प्रयोग गरी सार्वजनिक मुद्दामा थुनाएर पैसा असुलेका हुन् । तर, सुन तस्करी गर्ने व्यक्तिमाथि छानबिन सुरु भएको छैन ।
सुन तस्करीको भएकाले कतै उजुरी पनि नपर्ने भन्दै दुबईबाट आएका युवकहरुले गायब बनाउन खोजेका थिए । तर, तस्करीमा संलग्न समूहको प्रहरी अधिकारीसँग समेत सेटिङ भएकाले उनीहरुले यसरी थुनाएर पैसा असुल्न खोजेका हुन् । यो घटनामा गौशाला वृत्तका तत्कालिन डिएसपी केशब भट्टराई पनि छानबिनमा तानिने प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
०००
प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकाले खण्डन प्रकाशन गरिएको छ । –सम्पादक
खण्डन
दृष्टिन्यूजले प्रकाशन गरेको ‘गृह मन्त्रीका पिएसओ सुन तस्करीमा मुछिए’ शीर्षकको समाचारप्रति मेरो ध्याकर्षण भएको छ । म उक्त समाचारलाई खण्डन गर्दछु । म नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालमा मिति २०५८।०३।०१ गतेदेखि कार्यरत रही हाल प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा गृह मन्त्रीको सुरक्षार्थ डयूटीमा खटीएको छु ।
म आफनो काम जिम्मेवारी ईमानदारीका साथ कतव्र्यनिष्ट भई कार्यरत रही रहेकै अवस्थामा मिति २०७९।०५।०५ गतेका दिन सूचना विभाग काठमाडौंमा द.नं. २४०१।०७७।०७८ मा दर्ता रहेको का.जि.का.म.न.पा. नक्साल स्थित कार्यालय रहेको दृष्टिन्यूजले अनलाईनमा प्रकाशन गरेको समाचारको शीर्षक ‘गृह मन्त्रीका पिएसओ सुन तस्करीमा मुछिए’ भनीएको उक्त समाचारको सम्बन्धमा मेरो कुनै पनि सँलग्नता रहेको छैन ।
मेरो चरित्रहत्या हुने गरी झुठा कपोल कल्पित भ्रामक समाचार सम्प्रेषण गरी मेरो ईज्जत, मान प्रतिष्ठामा समेत आघात पुग्ने गरी मलाई नेपालको प्रचलित ऐन, कानून, मुलुकी देवानी सहिंता, २०७४ को दफा–५,६,८,९,१७,२० र नेपालको संविधान, को धारा–१६,१८,२० समेतका विपरीतको कार्य गरी मेरो चरीत्र हत्या गरी मान मर्दन हुने गरी लिखित गाली बेईज्जति गरेको हुँदा म स्तब्ध भएको छु ।
मेरो चरित्रहत्या हुने गरी त्यस अनलाईनमा प्रकाशन गरेको समाचारको शीर्षक ‘गृह मन्त्रीका पिएसओ सुन तस्करीमा मुछिए’ भनी मेरो फोटोसहित के कुन प्रमाणका आधारमा उक्त समाचार सम्प्रेषण गरीएको हो सो को सम्बन्धमा प्रमाण के छ सो समेत खुलाई पाँउ भनि माग गर्दछु ।
यू.ए.ई.बाट आएका व्यक्तिहरुसँग मेरो नाम जोडेर के कुन प्रमाणको आधारमा मेरो चरित्रहत्या गरी समाचार प्रकाशन किन गरीएको हो यसबारे समेत जानकारी चाहन्छु ।
सुन तस्करीका कुनै पनि व्यक्तिसँग निकटको सम्बन्ध नभएको र निजहरुसँग मेरो कुनै पनि चिनजान सम्बन्ध नभएको हुँदा समाचारमा भनिएको व्यहोरा के कुन प्रमाणको आधारमा समाचार प्रकाशन किन गरीएको हो भन्नेबारे पनि खुलाउन अनुरोध गर्दछु ।
माथि उल्लेख भए बमोजिम समाचारको शीर्षक ‘गृह मन्त्रीका पिएसओ सुन तस्करीमा मुछिए’ भनी मेरो चरित्रहत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण गरेको हुँदा उक्त समाचारको म खण्डन गर्दछु ।
टंकबहादुर कार्की
प्रहरी वरिष्ठ नायव निरीक्षक
८ भदौ २०७९