भनिन्छ, एउटा असल मानिसको जीवन नै विशाल पुस्तकालय हो । त्यस्तै थिए, प्रदीप गिरी । बाल्यकालमा उनलाई एउटा ज्योतिषीले जोगी बन्छ भनेका रहेछन् ।
हुन पनि राजनीतिमा उनको वास्तविक जीवनी जोगीजस्तै बित्यो । आफ्नो जीवनप्रति उनको कुनै गुनासो रहेन । जीवनमा जे जति भोगे, त्यो उनको लागि शिक्षा बन्यो ।
सादा जीवन, उच्च विचारका धनी गिरीको विपी कोइराला, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग निकटता थियो । गिरीमा माक्र्सवादसम्बन्धी गहिरो अध्ययन थियो ।
उनी नेपालका कुनै पनि कम्युनिष्ट नेताहरुभन्दा बढी माक्र्स, लेनिनका विद्यार्थी थिए । तर, उनी कम्युनिष्ट भने थिएनन् । उनी जतिबेला राजनीतिमा लागे, त्यो बेला नेपालको राजनीतिक अवस्था कठिन थियो ।
एउटा राजनीतिक कार्यकर्ता बन्न कति अध्ययन गर्नुपर्छ, कति जेलनेल भोग्नुपर्छ भन्ने कुराको उदाहरण प्रदीप गिरी हुन् । उनको जीवनीलाई अधययन मात्र गर्न सक्यो भने राजनीतिकर्मीहरुको नैतिकता उँचो हुनेछ ।
राजनीतिमा लागेदेखि नै समाजवादको वकालत गर्ने गिरी समाजवादको पनि प्रखर वक्ता हुन् । सानै उमेरमा भारतका नरेन्द्र देव, रायमनोहर लोहिया र जयप्रकाश नारायणजस्ता समाजवादी नेताको निकट रहेका गिरीले कांग्रेसले उदारवादी अर्थतन्त्र अँगाल्दा त्यसको विरोध गरेर ढोलमा समाजवादको खोल ओढाएर मात्र समाजवाद आउन्न भनेर पोखरा महाधिवेशनमा बोलेका थिए ।
लेनिनका विषयमा धेरै अध्ययन गरे । लेनिनको जस्तै जिउने चाहना थियो । लेनिन कतिबेला उठ्थे, कतिबेला सुत्थे, कतिबेला पढ्थे ? उनलाई जानकारी थियो । लेनिन जसरी नै गिरीको पनि सुत्ने, उठ्ने र पढ्ने निश्चित समय थिएन ।
उनी बोल्दा दीपेन्द्र सभागृह तालीले गड्गडाहट भएको थियो । कांग्रेसका कुनै पनि तहका नेता उनीसँग वैचारिक बहसमा उत्रन सक्दैन थिए । त्यसको एउटै कारण हो, माक्र्सवादी दर्शनको गहिरो अध्ययन ।
उनले जीवनमा लेनिनका विषयमा धेरै अध्ययन गरेका छन् । लेनिनको जस्तै जिउने उनको रहर थियो । त्यसैले लेनिनले कतिबेला उठ्छन्, कतिबेला सुत्छन्, कतिबेला पढ्छन् भन्ने कुराको उनलाई जानकारी थियो ।
लेनिनजस्तै गिरीको पनि सुत्ने, उठ्ने समय थिएन । जुनसुकै बेला पनि अध्ययनमै रमाउने र अध्ययन सकिएपछि मात्र सुत्ने बानी थियो । गिरीले भनेका थिए– ‘लेनिनको जीवन पढ्दा लेनिन मितव्ययी, परिश्रम, लगनशिलता, सरल र सहिष्णु नेता थिए । जसले सोभियत संघमा पहिलोपटक कम्युनिष्ट झण्डा फहराउन सफल भए ।’
अध्ययनलाई आफ्नो रुचि बनाउने गिरीको प्रेम प्रसंग पनि अनौठो छ । प्रेममा विछोड हुँदाको पीडाको प्रसंगमा गिरी भन्छन्– ‘मानिसलाई जिन्दगीमा के आपत् विपद् आइलाग्छ त्यो कुरा ठूलो होइन । मानिसले त्यसलाई कसरी ग्रहण गर्छ, त्यो कुरा ठूलो हो ।’
भारती सिलवालसँगको प्रेममा गिरी ‘पागल’ जस्तै भए । जीवनमा प्रेम के हो, पीडा के हो उनले सिलवालबाटै सिके । त्यसपछि पनि उनको प्रेम यात्रा जारी रह्यो । यो कुरा रहस्यमय छ । किनभने, उनी भन्छन्– ‘महिलाहरु इष्र्यालु हुन्छन् ।’ त्यसैले सिलवालबाहेक उनको प्रेम को–को सँग भयो त्यो उनैलाई थाहा होला ।
सन् १९७० मा जेलबाट निस्किएपछि उनको परिवारले गिरीलाई अमेरिका पढ्न पठाउने निर्णय गर्याे । त्यो निर्णयलाई स्वीकारेर विपीसँग बिदा माग्न गए । विपीले भने– ‘किन अमेरिका जान्छौं, काम गर्न, पैसा कमाउन वा डिग्री लिन, यो सानो कुुरा हो ।’
विपीको मुखबाट यति शब्द निस्कनासाथ उनले अमेरिकाको सपना त्यागे । उनी भन्थे– ‘अमेरिका गएको भए म सबथोक हुन्थे, मान्छे बन्ने थिइनँ ।’
जीवन भोगाइ हो । जस्तोसुकै जीवन बाँचे पनि प्रदीप गिरीमा कुनै गुनासो थिएन ।
हार्दिक श्रद्धा सुमन !