Logo
Logo
टिप्पणी

ओलीमात्र होइन, पदाधिकारी सबै पराजित हुन सक्छन्


200.2k
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लिएर नेकपा (एमाले)का नेताहरूमा छटपटी सुरु भएको छ ।

आगामी निर्वाचनमा १६५ क्षेत्र मध्ये १० क्षेत्रमा मात्रै जित्न सकिने आन्तरिक रिपोर्टपछि एमालेका शीर्ष नेताहरू नै निराश बनेका छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गर्दा एमाले एक्लैले प्रत्यक्षमा ८० सिट जितेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले जसरी पनि जित्नुपर्ने भन्दै पूर्व पञ्चहरूको पार्टी राप्रपासँग तालमेलको नीति लिएका छन् । यद्यपि, ओलीको गृहजिल्ला झापाका मेयर राम थापाले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिएका कारण राप्रपासँग तालमेल गर्दा पनि ओलीलाई जित्न कठिन हुने देखिएको छ ।

थापा पाँचदलीय गठबन्धनको समर्थनमा गत स्थानीय तह निर्वाचनमा दमकको मेयर निर्वाचित भएका थिए । त्यति बेला थापाले प्रदेश र संघको निर्वाचनमा गठबन्धनलाई सघाउने बचन दिएका थिए ।

२०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी मात्र होइन, एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादी पनि अहिले पाँचदलीय गठबन्धनसँग जोडिएको छ ।

ओलीले २०७७ पुस ५ गते संसद विघटन गरेपछि संविधान र व्यवस्था जोगाउन देशमा पाँचदलीय गठबन्धन क्रियाशील छ । यही कारण एमालेले इतिहासकै सबभन्दा कमजोर अवस्थाको सामना गर्दै छ । तर पनि एमाले नेताहरूको ओलीको गलत कार्यशैलीको खुलेर विरोध गर्न सकेका छैनन् । भित्री रुपमा भने एमालेका धेरै नेताहरू ओलीसँग रुष्ट छन् । ओलीको विरोध गर्दा टिकट नपाइने भय एमाले नेताहरूमा छ ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पार्टी विभाजन र गठबन्धनका कारण एमाले अप्ठ्यारो स्थितिमा रहेको सार्वजनिक भाषण गर्दै हिडेका छन् । कास्कीमा आइतबार आयोजित एक कार्यक्रममा पाण्डेले भने, ‘२०५६ सालमा भएको निर्वाचनमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौती हाम्रा सामु छन् । यी दुबै चुनौतीलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौँ ।’

अझ १० भाइलाई जसरी पनि आगामी निर्वाचनमा सिध्याउने राण्नीति बालकोटको छ । बालकोट स्रोतले भन्यो, ‘१० भाइलाई सकभर टिकटै नदिने नीति हो । बाध्यताले टिकट दिनु परे पनि बामदेवको हालत बनाइदिने हो ।’

तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतम ओलीपक्षको अन्तर्घातका कारण गत निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए । गौतमले अन्तर्घातीलाई कारबाही गर्न पार्टी कार्यालयमा निवेदन दिए पनि त्यसलाई ओलीले रद्दीको टोकरीमा फालिदिएका थिए ।

गौतमले सूर्य चिह्नबाट पराजित हुने देखेरै माओवादीको हँसिया हथौडाबाट निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । वृहत कम्युनिष्ट पार्टी निर्माणको अभियान अन्तर्गत माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दलहरुले संयुक्त घोषणापत्र लिएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

आगामी निर्वाचनमा एमाले पदाधिकारीहरू नै हार्ने भएपछि तलदेखि माथिसम्मै छटपटी सुरु भएको छ । २०७४ को निर्वाचनमा अधिकांश पदाधिकारी निर्वाचित भएकोमा आगामी निर्वाचनमा प्रायः सबैले हार्ने देखिएको छ ।

राप्रपासँग मिल्दा झापा–५ मा ओली र काठमाडौँ–५ मा ईश्वर पोखरेलले जित्ने आकलन एमालेको छ । उपाध्यक्ष रामबहादुर थापा बादल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले हार्ने निर्वाचन नलड्ने भन्दै समानुपातिकमा बस्ने रुची देखाएका छन् ।

गत स्थानीय निर्वाचनमा झापा ५ मा एमालेको मत ४१ हजार ६ सय १९ र गठबन्धनको ३४ हजार ७ सय ९८ छ । ओलीको गृहजिल्ला दमकका मेयर राम थापाले गठबन्धनलाई बचन दिएकाले ओली धरमराएका छन् ।

काठमाडौं–५ मा स्थानीय तहमा एमालेको १९ हजार ७ सय ३ र गठबन्धनको मत १७ हजार ९ सय ६ छ । पोखरेलले वाम गठबन्धन भएका कारण मात्र २०७४ को निर्वाचन जितेका हुन् । यसअघिका निर्वाचनमा उनी हार्दै आएका थिए ।

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ मा एमाले धेरै पछाडि छ । गत स्थानीय तह निर्वाचनमा एमालेभन्दा पाँचदलीय गठबन्धन ६ हजार ६ सय ९० मतले अगाडि छ । चितवन–१ मा एमालेले ३९ हजार ६ सय ६ र गठबन्धनका उम्मेदवारले ४६ हजार २ सय ९६ मत ल्याएका थिए ।

अर्का उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ र सुवास नेम्वाङको निर्वाचन क्षेत्र इलाम २ मा पनि एमाले कमजोर देखिएको छ । दुबै निर्वाचन क्षेत्रमा ०७४ मा एमालेले जितेको थियो । स्थानीय तह निर्वाचनमा रुपन्देही–२ मा एमालेको ३३ हजार १ सय ८७ र गठबन्धनको ३९ हजार ७ सय १२ मत छ ।

हालसम्म सबै निर्वाचन जितेका नेम्वाङ यसपटक भने पराजित मानसिकतामा रहेको एमालेनिटक एक नेताले दृष्टिलाई बताए । स्थानीय तह निर्वाचनको परिणामअनुसार नेम्वाङको क्षेत्रमा एमालेभन्दा गठबन्धन ३ हजार ९ सय ९९ मतले अगाडि छ । उक्त क्षेत्रमा एमालेको ३२ हजार ५ सय २७ मत छ भने गठबन्धन मत ३६ हजार ५ सय २६ छ ।

वामदेव गौतमले सूर्य चिह्नबाट पराजित हुने देखेरै माओवादीको हँसिया हथौडाबाट निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । वृहत कम्युनिष्ट पार्टी निर्माणको अभियान अन्तर्गत माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दलहरुले संयुक्त घोषणापत्र लिएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले यसपटक प्रतिनिधि सभामा निर्वाचनमा लड्न चाहेका छन् । तर, उनको निर्वाचन क्षेत्र दाङ–२ मा स्थानीय तह निर्वाचनको परिणामले पोखरेललाई अप्ठ्यारो पर्ने देखाएको छ ।

उक्त क्षेत्रमा एमालेको ३३ हजार ५ सय ९४ मत छ भने गठबन्धनको ३६ हजार ७ सय २१ मत छ । त्यसकारण पोखरेल निर्वाचनको प्रचार गर्ने बाहना बनाएर समानुपातिकमा बस्न सक्ने एक नेताले दाबी गरे ।

एमालेका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा कमजोर देखिएका छन् । २०७४ मा ज्ञवाली प्रतिनिधिसभा र गुरुङले प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए ।

ज्ञवालीको क्षेत्र गुल्मी–१ मा कांग्रेस नेता चन्द्र चण्डारीले चुनाव जित्ने आकलन गरिएको छ । गुल्मी–१ मा एमालेको ३५ हजार ७ सय १ मत छ भने गठबन्धनको ३८ हजार ३ सय ६१ मत छ । यहाँ एमालेभन्दा गठबन्धन २ हजार ६ सय ६० मतले अगाडि छ ।
उपमहासचिव गुरुङको निर्वाचन क्षेत्र लमजुङमा एमालेभन्दा गठबन्धन १ हजार ३ सय ९६ मतले अगाडि छ । उक्त क्षेत्रमा एमालेको ४० हजार १ सय ९७ र गठबन्धनको ४१ हजार ५ सय ९३ मत छ ।

गुल्मी–२ मा गोकर्ण विष्टको विरासत भत्कने भएको छ । गत निर्वाचनमा विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, स्थानीय तह निर्वाचनको परिणामअनुसार एमालेको ३१ हजार २ सय ५३ र गठबन्धनको मत ३२ हजार ३ सय २० छ । गठबन्धनबाट एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री निर्वाचनको तयारीमा होमिइसकेका छन् ।

गत निर्वाचनमा माओवादीबाट जितेका एमाले सचिव टोपबहादुर रायमाझीले यसपालि अर्घाखाँची गुमाउने देखिएको छ । अर्घाखाँचीमा एमालेभन्दा गठबन्धनको मत ५ हजार ५ सय १२ बढी छ । रायमाझीको क्षेत्रमा एमालेको ४८ हजार २ सय ६० र गठबन्धनको ५३ हजार ७ सय ७२ मत आएको छ ।

०७४ मा माओवादीबाट निर्वाचन जितेका एमालेका अर्का सचिव लेखराज भट्टले कैलाली–४ गुमाउने देखिएको छ । कैलाली ४ मा गठबन्धनको मत ३७ हजार २ सय १३ र एमालेको मत २० हजार ८१ छ । एमालेभन्दा गठबन्धन १७ हजार १ सय ३२ मतले अगाडि देखिएको छ ।

अर्का सचिव रघुवीर महासठेले पनि यसपालि निर्वाचन हार्ने देखिएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेसमा एमालेले दुई ठाउँमा जित्दा धनुषा–४ मा महासेठ विजयी भएका थिए । तर, गत स्थानीय तहको निर्वाचन परिणामअनुसार धनुषा–४ मा एमालेभन्दा गठबन्धन २२ हजार ५ सय ४१ मतले अगाडि छ । यो क्षेत्रमा एमालेले २३ हजार ६ सय ३० मत आउँदा गठबन्धनले ४६ हजार १ सय ७१ मत ल्याएको छ ।

अर्का सचिव योगेश भट्टराई २०७४ को निर्वाचनमा ताप्लेजुङबाट विजयी भएका थिए । काठमाडौँबाट पटक–पटक हारेपछि उनी निर्वाचन लड्न ताप्लेजुङ गएका थिए । अब भने ताप्लेजुङबाट पनि भट्टराईले हार्ने देखिएको छ । ताप्लेजुङमा एमालेकोे २४ हजार २ सय ८६ मत आएको छ भने गठबन्धनको २५ हजार १२ मत छ ।

एमाले सचिव पदमा अर्यालले पनि यसपालि स्याङ्जा–२ गुमाउने देखिएको छ । अघिल्लो पटक वाम गठबन्धनको जगमा अर्यालले कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेका थिए । गत स्थानीय तह निर्वाचनमा अर्यालको क्षेत्रमा एमालेको मत ३४ हजार ८ सय ९ छ भने गठबन्धनले ३८ हजार २ सय ८२ मत पाएको छ ।

अर्का सचिव छविलाल विश्वकर्माले अघिल्लो निर्वाचन रुपन्देही–१ बाट जितेका थिए । विश्वकर्माको क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा एमालेको मत गठबन्धनभन्दा १४ हजार ७ सय ४५ ले कम छ । उक्त क्षेत्रमा एमालेको ३० हजार ३ सय ९४ र गठबन्धनको मत ४५ हजार १ सय ३९ मत छ ।

प्रतिक्रिया दिनुहोस्