Logo
Logo

‘कांग्रेस बाहेकको गठबन्धन बने निकै राम्रो हुन्छ’


धर्मनाथ साह, उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)

2.1k
Shares

काठमाडौं । पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको छलफल जारी छ । एकीकृत समाजवादीले प्रतिनिधि सभामा ४० सिटमा दाबी गरेको छ । समानुपातिकमा २० लाखको हाराहारीमा मत ल्याउने समाजवादीका नेताहरूको दाबी छ । समाजवादीले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रबाट उम्मेदवार छनोटको काम गरिरहेको छ । निर्वाचन क्षेत्रीय समितिले १ महिलासहित चार जनाको नाम सिफारिस गर्ने छ । त्यसमध्ये जिल्लाले तीन जना छनोट गरेर प्रदेशमा पठाउने छ ।

प्रदेश कमिटीले तीन जनाकै विषयमा टिप्पणीसहित केन्द्रमा पठाउने छ । त्यसपछि केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गर्ने छ । आगामी निर्वाचन, गठबन्धन र एकीकृत समाजवादीको तयारीबारे नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष एवं मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहसँग दृष्टिले गरेको अन्तर्वार्ता-

आगामी निर्वाचनको तयारी कसरी गरिरहनु भएको छ ?
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हामीले बैठक, भेला गरिहेका छौँ । हामी हाल उम्मेदवार सिफारिसको चरणमा छौँ । प्रत्यक निर्वाचन क्षेत्रबाट लोकतान्त्रिक विधिबाट उम्मेदवार सिफारिस हुन्छ । हामीले उम्मेदवार सिफारिस एवं छनोट गर्न ८ मापदण्ड तय गरेका छौँ । पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र सक्रिय, समावेशीताको सिद्धान्तविपरीत नहुने गरी उम्मेदवार तय गरिने छ ।

कुन प्रक्रियाबाट कहिलेसम्म उम्मेदवार छानिन्छन् ?
हामीले उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रियासमेत तय गरेका छौँ । प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चार जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्छ ।

कांग्रेसका लागि मात्रै गठबन्धन गर्ने जस्तो देखियो भने फरक ढंगले सोच्नुपर्ने हुन्छ । कांग्रेसले सय सिट नै चाहिन्छ भनेर अडान राख्ने हो भने हामी किन कांग्रेसको पुछार बनेर हिड्ने ? त्यस्तो अवस्थामा कांग्रेस बाहेकको गठबन्धन बन्न सक्छ ।

जिल्ला कमिटीले उक्त चार जनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्छ । प्रदेश कमिटीले उक्त तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउँछ । मातहत कमिटीबाट सिफारिस भइआएका तीन जनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउने निर्णय केन्द्रीय कमिटीले गर्ने छ ।

एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ । विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्न सक्ने छन् । मातहत कमिटीबाट सिफारिस भइआएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी केन्द्रीय कमिटीले बन्दसूची तयार गर्ने छ ।

उम्मेदवारको नाम सिफारिसमा विवाद भयो भने कसरी निरुपण हुन्छ ?
उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्न भनेका छौँ । यदि पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट निर्णय गरेर माथिल्लो कमिटीमा पठाउन सकिने छ । कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्छ । हामीले समय नै तोकेर उम्मेदवारको टुंगो लगाउने निर्णय गरेका छौँ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले २०७९ भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्नुपर्छ । जिल्ला कमिटीले २०७९ भदौ १२ गतेभित्र प्रदेश कमिटीमा र प्रदेश कमिटीले २०७९ भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्छ । मातहतका कमिटीको सिफारिसको आधारमा केन्द्रीय कमिटीले २०७९ भदौ २० गतेभित्र निर्णय गरिसक्छ ।

उम्मेदवार सिफारिस गर्न सबै निर्वाचन क्षेत्रलाई भनिएको छ । गठबन्धन हुँदा कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हामीले प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रबाट १ महिलासहित तीन जनाको सिफारिस रायसहित केन्द्रमा पठाउन भनेका छौँ । यदि, स्थानीय तहको निर्वाचनमा जस्तै गठबन्धनका अन्य दलबाट धोका भयो भने हामी सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने छौँ । गठबन्धनमा सहमति भयो भने हामी सोही अनुसार अगाडि बढ्ने छौँ । स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर पनि हामीले अहिले व्यापक तयारी गरेका हौँ ।

गठबन्धनमा एकीकृत समाजवादीको कति सिटमा दाबी हो ?
हामीले पाँचदलीय गठबन्धन हुँदा प्रतिनिधि सभामा कम्तिमा ३०–४० सिट पाउनुपर्छ । समानुपातिकमा कम्तीमा १५–१६ सिट जित्ने गरी हामी मत ल्याउँछौँ ।

मधेस प्रदेशको अवस्था कस्तो छ ?
मधेस प्रदेशमा ८ जिल्ला छन् । प्रत्यक जिल्लामा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । मधेसमा ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रको भेला गराएर हामीले उम्मेदवार छनोट गरेका छौँ । प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्णय गरेर राखेका छौँ । गठबन्धन नभएको अवस्थामा ३२ वटै प्रतिनिधि सभा र ६४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने हाम्रो तयारी छ । यदि, गठबन्धन भयो भने सोही सहमतिका आधारमा उम्मेदवार उठाउँछौँ ।

गठबन्धनमा सिट बाँडफाँडको टुंगो कहिलेसम्म लाग्ला ?
हामीले सिट बाँडफाँड छिटो टुंग्याउनुपर्छ भनिरहेका छौँ । कम्तीमा यही भदौ १५ गतेसम्म सिट बाँडफाँड हुनुपर्छ भन्ने हाम्रो माग छ । यदि, बाँडफाँड टुंगो लागेन भने हामी उम्मेदवार घोषणा गरेर अगाडि बढ्छौँ ।

एक्लै निर्वाचनमा जाँदा एकीकृत समाजवादीले मधेसमा जित्ने अवस्था छ त ?
जित्ने आधार हामीले तयार पारेका छौँ । स्थानीय तह निर्वाचनमा गठबन्धनमा विश्वास गरेका कारण हामीले सबै तहमा उम्मेदवारी दिन सकेनौँ । गठबन्धनको तर्फबाट हामीलाई आश देखाएर धोका दिने काम भयो । हाम्रा कार्यकर्ता गठबन्धन भइहाल्छ भनेर उम्मेदवारी दिने अघिल्लो दिनसम्म पनि ढुक्कले बस्नुभयो । गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्छ भनेर हामी लाग्यौँ । तर, अन्तिममा गठबन्धन भएन । त्यस्तो अवस्थामा एक्लै निर्वाचन लडेर मधेसमा हामीले मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ९६ जना जनप्रनिधि जिताउन सफल भएका छौँ । सुरुदेखि नै हामीले राम्रो ढंगले तयारी गरेको भए परिणाम निकै राम्रो आउने थियो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच तालमेलको सम्भावना कतिको छ ?
विभिन्न चरणमा छलफल भइरहेका छन् । यदि कांग्रेसका लागि मात्रै गठबन्धन गर्ने जस्तो देखियो भने हामीले पक्कै पनि फरक ढंगले सोच्नुपर्ने हुन्छ । कांग्रेसले सय सिट नै चाहिन्छ भनेर अडान राख्ने हो भने हामी किन कांग्रेसको पुछार बनेर हिड्ने ? त्यस्तो अवस्थामा कांग्रेस बाहेकको गठबन्धन पनि बन्न सक्छ । मेरो व्यक्तिगत विचार भन्नुहुन्छ भने त, कांग्रेस बाहेकको गठबन्धन भयो भने निकै राम्रो हुन्छ । त्यो सफल हुन्छ । त्यसले परीणाम पनि राम्रो दिन्छ । हामी गठबन्धनप्रति पूरै प्रतिवद्ध हुन्छौँ । तर, सबै कांग्रेसीले इमान्दारिपूर्वक गठबन्धनका उम्मेदवारलाई मत दिँदैनन् । उनीहरू गठबन्धन त भन्छन तर, उपस्थिति निकै कम हुन्छ ।

माओवादी केन्द्रसँग एकता कहिले हुन्छ ?
अहिले नै एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता भएर निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जाने भन्ने होइन । अहिले हामी कार्यगत एकताको दिशाबाट अगाडि बढ्छौँ । चुनावमा तालमेल गर्ने प्रयत्न गर्छौँ । आ–आफ्नो चुनाव चिह्नमा अगाडि बढ्छौँ । संगठनको विस्तारमा व्यापक रुपमा अगाडि बढ्छौँ । कार्यगत एकताको बाटोबाट अगाडि बढ्दै बैचारिक, राजनीतिक, सांगठनिक विषयमा छलफल गर्छौँ । हामीले आधार पहिल्यायौँ भने पार्टी एकता पनि गर्छौँ । अहिले नै त्यसको बारेमा निरुपण गरिहाल्दैनौँ ।

पार्टी एकता संयोजन समिति बनाउनुपर्ने आवश्यकता किन भयो त ?
माओवादी केन्द्रसँग पार्टी एकताको दिशामा अग्रसर हुने भन्ने हाम्रो निर्णय हो । अहिले नै पार्टी एकता भइहाल्ने होइन । हामी पुनर्गठनको प्रक्रियाबाट अगाडि बढेको १ वर्ष हुन लाग्यो । नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्गठित, पुनर्परिमार्जन र रुपान्तरणको दिशामा अगाडि बढाउने अभिभारा हाम्रो अगाडि छ । कुनै बेला हामीले कम्युनिष्ट पार्टीको एकीकरण प्रक्रिया अगाडि बढायौँ । त्यसलाई केपी शर्मा ओलीले जालसाझीको हिसाबले विघटनको अवस्थामा पु¥याउने काम गरे । अब हामीले सचेत ढंगले त्यो अभिभारालाई पूरा गर्नुपर्छ ।

यसअघि हतारमा एमाले र माओवादी मिल्दाको परिणाम देखिएकै छ । नीति मिलेको छैन, कार्यक्रम मिलेको छैन भने, त्यस्तो अवस्थामा एकता गरिहालेर काम छैन । विगतबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ । पार्टी एकताबारे पहिले नै धेरै कुरा सोचविचार गर्नुपर्ने हुन्छ । निर्वाचन जित्नलाई त गठबन्धन नै काफी छ । पार्टी एकता गर्नु नै पर्दैन । तर, वास्तविक रुपमा पार्टी एकता गर्नु छ भने सम्मानजनक अवस्था सिर्जना गरेर गर्नुपर्छ । विचार, सिद्धान्त, कार्ययोजना सबै विषयमा सहमति जुटाएर मात्र एकता गर्नुपर्छ । यी विषयमा ख्याल नगरी एकता गर्दा भोलि फेरि भताभुंग हुन्छ ।

एकताका लागि के–के कुरामा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिला हामी बैचारिक रुपमा एक ठाउँमा उभिनुपर्छ । आगामी रणनीति र कार्यनीति मिल्नुपर्छ । व्यवहारिक पाटोलाई पनि हेरिनुपर्छ । कार्यकर्ताबीच घुलमेल हुन पनि आवश्यक छ । नेताहरूको व्यवस्थापनको विषय पनि जोडिएर आउँछ । सबै विषय सम्मानजक रुपमा अगाडि बढ्यो भने पार्टी एकता सम्भव छ । आगामी चुनावमा कार्यगत एकता गरेपछि कार्यकर्ता तहमा घुलमेल हुन्छ । कार्यकर्ता तहबाटै गरिएको एकता मात्र दीगो हुन्छ । त्यस्तो अवस्थामा पार्टी चलाउन पनि सजिलो हुन्छ ।

काठमाडौँमा बसेर पार्टी एकता भयो, एउटै पार्टी बनायौँ भनेर मात्र हुँदैन । यदि, भोलि फेरि वैचारिक र व्यवस्थापनको विषयमा विवाद आएर विभाजित हुने अवस्था बन्यो भने कम्युनिष्ट आन्दोलनमा उठ्न नसक्ने गरी धक्का लाग्ने छ । जनताले विश्वास गर्ने वातावरण नै गुम्छ । जनताले हामीलाई मार्फी दिँदैनन् । र, कम्युनिष्ट आन्दोलनलाई एकत्रित गरेर अगाडि बढ्ने बाटो नै अवरुद्ध हुन पुग्छ । यी यावत विषयमा ध्यान दिएर आगामी कदम चाल्नुपर्छ ।

माओवादीसँग विचार र सिद्धान्तमा कति फरक छ ?
बाहिर झट्ट हेर्दा त उस्तै उस्तै देखिन्छ । फेरि विगतमा नेकपामा हामी एउटै पार्टीमा काम गरेका पनि हौँ । माओवादीहरूको जनयुद्धको पृष्ठभूमि छ । हामी शान्तिपूर्ण राजनीतिमार्फत जनताको मन जितेर आएका हौँ । जनतासँग घुलमेल भएर आएका कार्यकर्ता हामीसँग छन् । बोलचाल, व्यवहारमा पनि हामीबीच भिन्नता छ । उहाँहरु माओवाद मान्नुहुन्छ । हामी माक्र्सवाद, लेनिनवाद मान्छौँ । हाम्रो स्कुलिङ नै फरक छ । हामी जनतासँग घुलमेल हुन रुचाउँछौँ । हामीलाई हाम्रो कार्यकर्ताप्रति गर्व छ ।

हाम्रा कार्यकर्ता सैद्धान्तिक र व्यवहारिक रुपमा स्पष्ट छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादीमा पनि धेरै सुधार भएको छ । तर, अहिले पनि माओवादीका कार्यकर्तामा जनतासँग घुलमेल गर्ने खालको व्यवहार छैन । त्यसकारण घुलमेल हुन समय लाग्छ । सैद्धान्तिक, वैचारिक र व्यवहारगत विषयमा व्यापक बहस चलाउनुपर्छ । त्यसरी गरिएको एकता मात्र दीगो बन्छ र परीणाम दिन्छ ।

भनेपछि, तत्काल एकता भइहाल्ने अवस्था छैन ?
फुटेर सानो–सानो पसल थालेर मात्र पनि काम छैन । कम्युनिष्टहरू मिलुन भन्ने आम जनताको धारणा छ । मिलेर जाँदा हामी सबैको भविश्य छ । नीति, कार्यक्रम, विचार, सिद्धान्त मिल्नेसँग एकता गर्दै जानुपर्छ । त्यसका लागि आधार तयार हुनुपर्छ । चुनाव जित्नका लागि मात्र त एकता नै चाहिदैन । गठबन्धन गरेर जाँदा नै काफी हुन्छ ।

एमालेसँग एकता वा तालमेलको सम्भावना छ कि छैन ?
एमालेसँग अहिले तालमेलको कुरा छैन । मधेसमा एउटा भनाइ छ,– डोरी जलिसक्यो, तर खरानीको त्यान्द्रो देखिरहेको छ । ओलीले डोरी जलाइसके, तर खरानीको डोरी देखाएर धाक लगाइरहेका छन् । दुई–दुई पटक असंवैधानिक रुपमा संसद विघटन गरेकोमा उनलाई अझै पछुतो छैन ।

ओलीले आफ्नै नेताको मानमर्दन गरे, कार्यकर्तामाथि भेदभाव गरे । ओलीकै कारण एमालेले सबै कुरा गुमाइरहेको छ । एमालेले संघीय सरकार मात्र होइन, प्रदेश र स्थानीय सरकार पनि गुमायो । राष्ट्रिय सभा सदस्य निर्वाचन पनि गुमायो । अब, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पनि गुमाउँदै छ । तर, ओलीको घमण्ड अझै समाप्त भएको छैन । ओली यसरी नै अगाडि बढ्ने हो भने आगामी चुनावमा साइजमा आइहाल्छ ।

मधेसमा एमालेको स्थिति के छ ?
मधेसमा एमालेको स्थिति अत्यन्त नाजुक छ । एमालेले मधेसमा एक सिट पनि जित्ने अवस्था देख्दिनँ । मधेसमा मात्र होइन अन्त पनि एमालेले गुमाउने नै हो ।

नेकपा (एकीकृत समाजवादी) स्थापना भएको एक वर्ष लाग्यो । एमालेबाट विद्रोहको औचित्य पुष्टि भयो त ?
हामीले विद्रोह नगरेको भए अहिलेको व्यवस्था नै तलमाथि भइसक्थ्यो । हामीले विद्रोह गरेर संसदले पाँच वर्ष काम गर्न पायो । यसबीचमा थुप्रै विधेयकहरू संसदबाट पारित भएको छ । स्थापनाको छोटो अवधिमै हामी राष्ट्रिय शक्तिको रुपमा स्थापित भएका छौँ । प्रत्यक जिल्लामा हाम्रो संगठन छ ।

अधिकांश वडामा समेत हामीले संगठन विस्तार गरिसकेका छौँ । हाम्रा विभाग, जनसंगठनहरू क्रियाशील भइरहेका छन् । अहिले पनि आम जनताले माधवकुमार नेपाल नभएको भए लोकतन्त्र, संविधान बाँच्ने थिएन भनिरहेका छन् । संसद पुनस्र्थापनाको मामिलामा हामीले ठूलो जोखिम बहन गरेका छौँ । संसद पुनस्र्थापना नभएको भए हामी सडकमा आउने थियौँ । लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालाई जोगाउन हामी जीवन–मरणको सवालबाट अगाडि बढेका हौँ । हामीले स्थापनाकालदेखि नै हरेक निर्वाचन जित्दै आएका छौँ । हाम्रो विद्रोहको औचित्य जनताले नै पुष्टि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्