एजेन्सी । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले यहा वर्षा र बाढीको अझै सम्भावना रहेको चेतावनी दिएका छन् । अधिकारीहरुले यहाँ बर्षा भइरहेको भन्दै यहाँका नदीहरुमा पानीको मात्रा अझै बढ्न सक्ने भन्दै मानिसहरुलाई अति आवश्यक बाहेक बाहिर ननिस्कन पनि भनेका छन् ।
विशेषगरी पाकिस्तानका उत्तरपश्चिमी प्रान्तहरुमा बर्षाको सम्भावना अझै रहेको र बर्षा पनि यहाँका नदीमा पानीको सतह अझै बढ्न सक्ने भएकाले सतर्क रहन पनि भनिएको छ ।
त्यसैगरी कालाबाग, चासमा लगायतका क्षेत्रमा इन्डस नदीको बहाब बढ्ने र यसबाट मानिसहरुको बस्तीमा पनि बाढी पस्नसक्ने भन्दै उनीहरुले सूचना जारी गरेका छन् ।
पाकिस्तानमा आएको बाढीका कारण शनिबार मात्र ४५ जनाको मृत्यु भएको छ । अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
यहाँ गएको दुई दिनदेखि जारी रहेको अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
शनिबारसम्मको अवस्था हेर्दा वर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ । सिन्ध प्रान्तमा मात्रै ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भएका छन् ।
पछिल्लो समय पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या नौ सय ८२ पुगेको प्राधिकरणले जनाएको छ । पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरु भएको हो । यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन् । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् ।