Logo
Logo

सरस्वती र लोकतन्त्र कलीले जन्माए बच्चा


882
Shares

काठमाडाैं। हात्ती र समग्र प्रकृति संरक्षणमा चासो राख्नेका लागि खुशीको खबर छ । आइतबार एकै दिन २ वटा हात्तीले बच्चा जन्माएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कलीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कलीले हात्तिले पोथी छावा जन्माएका हुन् । दुवै आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले जानकारी दिए ।

हात्तीले एकै दिन भाले र पोथी बच्चा जन्माउनु खुशीको कुरा भएको महानिर्देशक डा. ढकाल बताउँछन् । ‘यिनीहरुको हेरचाहमा हात्तीसारमा काम गर्ने कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘ती कर्मचारीको सेवासुविधा वृद्धि गरी प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्छ ।’ हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ ।

नेपालमा हाल जंगली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाईसराई गरेर आउने (झापा र शुक्लाफाटामा) २ सय हाराहारी र घरपालुवा १७८ (सरकारी १०२ र निजी ७६) हात्ती छन् । घरपालुवा हात्ती कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका उनले बताए ।

हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ । सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जंगली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ । पर्यटन प्रर्बद्धनमा हात्तीको ठूलो योगदान रहेको डा. ढकालको भनाइ छ ।

हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ भत्काउने, बालीनाली नोक्सानी गर्ने, भण्डारण गरेको अन्न खाइदिने गर्दै आएको छ । यो समस्या न्यूनिकरणका लागि सरकारले पनि विभिन्न कार्यक्रम गरिरहेको छ । हात्ती कै विषयमा विद्यावारिधि गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार जंगली रैथाने हात्ती बढी पाइने स्थान बर्दिया निकुञ्ज र त्यसपछि पर्सा राष्टिय निकुञ्ज हो ।

हात्ती संरक्षणमा विभिन्न चनौती पनि बढ्दै गएका छन् । बढ्दो मानव-हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेण्ट लागेर हात्ती मर्ने गरेको छ ।

वासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी शिकारी मुख्य चुनौती भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्