Logo
Logo

जेलमा लाखौंको खेल


504
Shares

काठमाडौं । देशभरीका जेलमा अवैध धन्दा चलिरहेको छ । संविधान दिवसमा कैदी छुटाउन भन्दै पैसा लेनदेन भइरहेको स्रोत बताउँछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेव घिमिरेकै नाममा यस्तो चलखेल भइरहेको छ । महानिर्देशक घिमिरेको कतिपय गतिविधि पनि शंकास्पद भएको र उनको नाममा जेलमा पैसा उठाउनुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन ।

घिमिरेले केन्द्रीय कारागारमा रानीबारी हत्याकाण्डका कैदी मनराज गुरुङलाई चौकीदार बनाएका छन् । केन्द्रीय कारागारमा हालीमुहाली जमाउँदै आएको समूहकै सेटिङमा उनी चौकीदार बनेका हुन् । उनलाई घिमिरेले जेल बाहिर निस्कने अधिकार समेत दिएको कारागार स्रोत बताउँछ । महानिर्देशक घिमिरेसँग मनराजको दोस्ती भएकाले जेलर डोरेन्द्र निरौला समेत निरिह बनेका छन् ।

यही समूहले केन्द्रीय कारागारमा पसल सञ्चालनको ठेक्का हात लिएर कैदी–बन्दीमाथि शोषण गर्दै आएको छ । नियमअनुसार कैद पाएर छुट्नेलाई पनि उनीहरुले कारागार प्रशासनसँग मिलेर पैसा दिएमात्र छुटाउने गरेका छन् ।

यसअघि झुम्का कारागारमा पनि महानिर्देशक घिमिरेले चलखेलकै आधारमा चौकीदार राखेका थिए । पछि लेनदेन नमिलेपछि हाल नयाँ चौकीदार बनाउन चलखेल भइरहेको छ । यसबारे विभिन्न निकायमा उजुरी परेपछि छानबिन हुन सकेको छैन ।

यसअघि पनि निमित्त महानिर्देशक, तथा निर्देशक भएर कारागार व्यवस्थापन विभागमा बसेका घिमिरे यसपटक मागेरै त्यहाँ पुगेका हुन् । जेलभित्रको आर्थिक चलखेलमा पहिलेदेखि नै लेनदेन गर्दै आएकाले उनले यतीबेला ठूला जेलहरुमा सेटिङ चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्