Logo
Logo

उद्योगमा कुस्त असुलेपछि राजस्वमा फड्को हान्दै उपसचिव जोशी


13.4k
Shares

काठमाडौं । उद्योग विभागका ट्रेडमार्क शाखाका निर्देशक सुरेश जोशी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । उपसचिव जोशी विभागमा २ बर्षदेखि कार्यरत थिए ।

ट्रेडमार्क शाखालाई उद्योग विभागको आकर्षक शाखाका रुपमा लिइन्छ । क र ख दुई वटा शाखाको रुपमा रहेको ट्रेडमार्कका दुबै शाखाको निर्देशक रहिसकेका जोशी विभागको रस चुसेर सुरक्षित रुपमा प्रधानमन्त्री कार्यालयमा अबतरण भएको चर्चा छ ।

सुरेश जोशी

जोशीलाई प्रधानमन्त्री कार्यालयमा ल्याउनका लागि निजी सचिव जनक भट्टको ठूलो स्वार्थ जोडिएको छ । भट्ट र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई विभागमा रहँदा आफूले आकर्षक शाखा नपाएको, महानिर्देशक रामचन्द्र तिवारीले विभागको आकर्षक मानिने अनुमति शाखा नदिएको, कांग्रेसको नेतृत्वमा सरकार रहेको र उद्योग मन्त्री कांग्रेसकै हुँदा पनि आफू पीडित हुनुपरेको दुखेसो पोख्दै आएका थिए ।

उनी सुदूरपश्चिमकै प्रधानमन्त्री हुँदा पनि न्याय मैले नपाउने भन्दै पटक पटक प्रधानमन्त्री कार्यालय धाइरहेका थिए । ट्रेडमार्कका दुवै शाखामा रहँदा जोशीले मदिरा उद्योग, शक्तिबद्र्धक(इनर्जी) पेय पदार्थ लगायतका उद्योगहरुलाई नियमविपरीत मोटो रकम लिएर ट्रेडमार्क दिएको आरोप छ ।

उद्योग विभागको इतिहासमै अस्थायी ट्रेडमार्कको पत्र उद्योगीलाई दिंदा दररेट कायम गर्ने परम्पराको थालनी जोशीले गरेको सम्झनेहरु अहिले विभागमै छन् । आफूमातहतका अधिकृत र नासुहरुलाई ट्रेडमार्क दिंदा रकम कबोल गर्न लगाउने र दिने सर्तपछि मात्रै फाइल उठाउनू भन्ने जोशीले विभागमा रहँदा करोडौं उठाउन सफल भएको आरोप छ ।

तत्कालीन उद्योग मन्त्री लेखराज भट्टले सुदूरपश्चिमकै भएका कारण उनलाई उद्योग विभागमा सरुवा गरी लगेका थिए । उनको प्रवेशसँगै उद्योग बिभागलाई सुदूरपश्चिमेलीहरुको बाहुल्यता बढाउन उनको सशक्त भूमिका रहेको थियो । विभाग प्रवेश गर्दा माओवादी समर्थक बनेर गएका जोशी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनासाथ कांग्रेस समर्थक बन्न पुगेका थिए ।

उनी कांग्रेसको संगठन यस्तो हुनुपथ्र्यो, उस्तो हुनुपथ्र्यो भनेर सुझाव समेत दिन थालेका छन् । नवकांग्रेस जोशीले यही फाइदा उठाउँदै प्रधानमन्त्री कार्यालयमा सरुवा मिलाएका छ्न । रोचक पक्ष त के छ भने विभागमा रहँदा करोडौं असुलेका र विनापैसा हस्ताक्षर नै नगरेका जोशी राजस्व अनुसन्धान विभाग सुदूरपश्चिम कार्यालय धनगढीको प्रमुख हुने चक्करमा छन् ।

सुदूरपश्चिम नै घर भएका कारण आफू घरपायक बस्न्ुपर्ने भो भन्दै आकर्षक कार्यालय ताकेका जोशीले उक्त कार्यालयलाई उद्योग विभागभन्दा कमसल हो भन्दै प्रधानमन्त्रीका आसेपासेहरुलाई गुमराहमा राख्न सफल भएका छन् ।

ट्रेडमार्क दिने, पछि उजुरी हाल्न लगाउने र फेरि महानिर्देशकसँग मिलेमतो गरी मुद्दामा समेत मोटो रकम असुल्न सिपालु जोशीको आफैं धामी आफैं …जस्तो ब्यवहार रहँदैआएको थियो ।

विभागमा हरेक उद्योगीलाई सताएर मोटो रकम असुलेका उनै जोशी राजस्वको धनगढी प्रमुख भए भने त्यस क्षेत्रका भारतबाट नेपाल सामान आयात गर्ने ब्यापारीहरुले कति दुःख पाउने ह्ुन् आँकलन गर्न गाह्रो छ । उनी निकट जानकारहरु भन्छन्, जोशीको अवस्था अनुसार रङ बदल्ने र लाभ लिने स्वभाव जागिरमा प्रवेशदेखि नै कायम छ ।

उनी सबै पार्टीको निकट हुने कला भएका कर्मचारीका रुपमा चिनिन्छन् । घुस नआउने कार्यालयमा काम गर्नै नपरेको जोशीले प्रधानमन्त्रीका सचिवालयका कर्मचारीलाई समेत भ्रममा राख्न सक्नुलाई उनको कला नै मान्नुपर्छ ।

अधिकांश उपसचिवलाई स्थानीय तहमा कुनै न कुनै बेला पठाउनका लागि सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु सूची बनाउने गर्दछन् । तर जोशी यस्ता कर्मचारी हुन्, स्थानीय तहको अनुहारै देख्नुपरेको छैन । र, सामान्यका कर्मचारीका नजरमा समेत उनी भाग्यमानी कर्मचारीका रुपमा चिनिन्छन् ।

जोशी उद्योग विभागमा रहँदा हरेक महानिर्देशकलाई आफ्नो काबुमा राख्न सफल भएका थिए । महानिर्देशकहरु पनि भन्ने गर्थे, जोशी त विभागका लागि चाहिने कर्मचारी हुन् । प्रधानमन्त्री देउवाकै साथ पाएर उद्योग विभागमा उपसचिव शेरबहादुर बागचन्द सबैभन्दा कमजोर घरेलु शाखामा केही महिना बसेर बिभागबाट बाहिरिनुपरेको थियो ।

उद्योगको काबिल उपसचिव पूर्णिमा उपाध्याय प्रशासन शाखाबाटै बाहिरिइन् । कार्यक्षमतामा अब्बल देखिएका र समन्वयकारी चरित्रका उपसचिव ज्ञानेन्द्र पराजुलीले आकर्षक शाखा नपाइकनै विभागबाट बाहिरिए ।

कांग्रेसकै सत्ता हुँदा पनि कांग्रेस निकट मानिएका उपसचिव विनोद खड्काले जोशीजस्ताका अगाडि टिक्नै नसकी बाहिरिनुपरेको थियो । तर कार्यक्षमतामा कमजोर घुस असुलीमा मजबुत छवि बनाएका जोशी भने ट्रेडमार्कका दुवै शाखाको निर्देशक करिब २ बर्ष बसेर बाहिरिदंैछन् ।

जोशी बाहिरिँदा पनि राजस्व जस्तो आकर्षक निकायमा उनले सरुवा पदस्थापन मिलाउँदैछन् । राजस्व चुहावट हेर्ने राजस्व अनुसन्धान विभागलाई भन्सारछलीको आशंकामा ट्रक बरामद गरी अनुसन्धान गर्ने अधिकार छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीसँग समेत जोशीले सरुवाको चाँजापाँजो मिलाउन सफल भइसकेको बताइन्छ । जोशीले आफू त्यहाँ गए महानिर्देशकलाई पनि सक्दो सहयोग गर्ने बचन दिइसकेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्