Logo
Logo

एसपीको जागिर धरापमा


146.2k
Shares

काठमाडौं । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलको जागिर जोगाउन गृहमन्त्री बालकृष्ण खाणदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म लागेका बेला जिल्लामा भने प्रहरीभित्र आन्दोलनको तयारी अघि बढेको छ ।

लेनदेनसम्बन्धी विवादमा एसपी कँडेलले निर्दाेष व्यक्तिलाई नियोजित रुपमा लागुऔषध मुद्दामा फसाएको खुलेपछि हंगामा भइरहेको छ । शनिबार सत्तारुढ नेपाली कांग्रेसकै नेताहरुले समेत पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका छन् ।

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले एसपी कँडेलमार्फत भारतीय नागरिक रामा गुप्तालाई फसाएका हुन् । छानबिनमा सो कुरा पुष्टि भइसकेको छ । तर, एसपीको जागिर जोगाउन पक्राउ परेकालाई ५० दिनदेखि थुनामा राखिएको छ ।

उनीहरुलाई छुटाउन डिआइजी नलप्रसाद उपाध्याय नै लागेका छन् । त्यसका लागि बरामदी मुचुल्का सच्याउन उनले इन्सपेक्टर धर्म खत्रीलाई दबाब दिएका थिए । तर, आफुले गल्ती नगरेको र एसपीको आदेश मानेकाले आफुले मुचुल्का नसच्याउने उनको अडान छ ।

योजनाकार एसपीलाई जोगाएर आफुलाई फसाउन लागेको थाहा पाएपछि इन्सपेक्टर खत्रीले मुचुल्का सच्याउन नमानेका हुन् । खासमा इन्सपेक्टरलाई त्यो घटनाबारे जानकारी नभएको स्रोत बताउँछ । घटनास्थलमा पनि उनी गएका थिए ।

लागुऔषध छेउमा राखेर पक्राउ गर्न लगाउने रघुनाथ धोवी हाल पक्राउ परिसकेका छन् । उनी पाल्हीनन्दन गाउँपालिकाका कर्मचारी हुन् । अध्यक्ष गुप्ताले नै उनलाई त्यसमा प्रयोग गराएका थिए । पछि घटना बाहिर आएपछि उनलाई प्रहरीमा उपस्थित हुन लगाई सबै घटना आफैंले गरेको हो भन्न लगाई अरुलाई उन्मुक्ति दिने प्रयास भएको छ ।

गाउँपालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । प्रचण्डको पनि निकट भएकाले उनी नै यतीबेला सो मुद्दा डिसमिस गराउन लागिपरेका छन् । यो घटनामा प्रचण्डले गृहमन्त्रीलाई समेत दबाब दिएको स्रोत बताउँछ । तर, कांग्रेसकै देवेन्द्रराज कँडेल लगायत भने गाउँपालिका अध्यक्ष र एसपीलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्