Logo
Logo

पर्वतमा जमीन भास्सिदा गाउँ नै जोखिममा


567
Shares

पर्वत । पर्वतको जलजला गाउँपालिकामा जमीन भास्सिएर घर भत्किएपछि शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् ।

गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो ।

पहिरोले नजिकैका घर जतिबेला पनि खरतामा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँभन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए । पहिरोले घर तथा आँगन चर्किएको छ ।

जमिनको तल्लो आधार तहबाट पूरै फाटेका कारण माटो बग्दै जाँदा रुख र फलफूलका रुखहरू पनि ढलेका छन् । ठूलो क्षेत्रमा पहिरो सुरु भएकाले संरचना निर्माण गरेर वा ग्याबियन जाली भरेर पनि पहिरो रोकिने अवस्था नभएको अध्यक्ष आचार्यले बताए । पहिरो बढ्दै गए त्यो भन्दा माथिका सयौँ घर विस्थापित हुने अवस्था छ । पहिरो गाउँभन्दा तलबाट सुरु भएका कारण माथिका सबै घर पहिरामा पर्ने जोखिम रहेको आचार्यले बताए ।

तत्कालीनसमयमा पहिरो नियन्त्रणमा राख्न गाउँपालिकाबाट प्राविधिक र जनप्रतिनिधि गएर अवलोकन गरेर छलफल भएको छ । बग्दै गरेको जमिनमा थप क्षति हुन नदिन तत्कालीनरूपमा वर्षाका कारण बगेर आउने पानीलाई पहिरामा पस्न नदिन भल काटेर पहिरामा नपर्ने गरी तर्काउन सकिने देखिएको छ । बग्दै आएको पानीका लागि नहरजस्तो बनाएर पाइप जडान गरी एकातर्फको सुरक्षित ठाउँमा फाल्न प्राविधिकले सुझाव दिएकाले त्यसैअनुसार बाढी तर्काउने योजना गाउँपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्