Logo
Logo

निमित्त आइजिपीको निर्देशन–कुनै पनि प्रकारका गुन्डागर्दीविरुद्ध निर्मम बन्नु


261.8k
Shares


काठमार्डाैं । निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले प्रदेश प्रहरी प्रमुख, ब्यूरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् मंगलबार निर्देशन दिएका छन् । उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक थापाले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडबाड केन्द्रीत सुरक्षा योजना बनाई काम गर्न निर्देशन दिएका छन् । प्रविधिजन्य तथा आर्थिक अपराधको अनुसन्धानमा अझ बढि संवेदनशील हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा आउन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई आगाडि बढ्नुपर्नेमा उनको जोड रहेको प्रहरी बुलेटिनमा उल्लेख छ ।


निमित्त प्रहरी महानिरीक्षक थापाले चाडबाडको बेलामा हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी अगाडि बढ्न समेत निर्देशन दिएका छन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधली रहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न निर्देशनमा भनिएको छ ।
राजनीतिक दलहरुसँग समदुरी कायम गरी सम्भावित झडपहरुको पूर्व आँकलन गरी सुरक्षा योजना बनाउन निमित्त महानिरीक्षकबाट निर्देशन भएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । म्यादी प्रहरी र थप मद्दतमा प्रहरी परिचालनसम्बन्धि योजना बनाउन उनले भनेका छन् । कुनै पनि स्वरुपको गुन्डागर्दीविरुद्ध निर्मम रुपमा प्रस्तुत हुन भनिएको छ । जुनसुकै किसिमका गुन्डागर्दीविरुद्ध निर्मम रुपमा प्रस्तुत हुन भनिएको छ ।


पेन्डिङ मुद्दाको अनुसन्धानमा ध्यान दिन, मिटरब्याज, सहकारी ठगी जस्ता आर्थिक अपराधको अनुसन्धानमा ध्यान दिन निर्देशन दिइएको छ । चाडपर्वको समयमा दुर्घटना बढ्न सक्ने भएकाले न्यूनीकरणका लागि पनि भनिएको छ । सादा पोशाकमा खटिने प्रहरीले गैरव्यवावसाियक क्रियाकलाप गर्न सक्ने भएकाले कार्यालय प्रमुखले सचेत गराउन नत्र कार्यालय प्रमुखलाई नै कारबाही हुने निमित्त महानिरीक्षकको चेतावनी छ ।


प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह अमेरिका भ्रमणमा गएकाले वरिष्ठतम् एआइजी थापाले निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हालेका हुन् ।


कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार बिसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव महानिरीक्षक श्याम ज्ञवाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणा लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्