काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणमा अध्यक्ष केपी शर्मा ओलीको एकाधिकार कायम रहने स्पष्ट भएपछि नेकपा (एमाले)का थुप्रै आकांक्षी निराश छन् ।
पार्टीका पुरानै नेता-कार्यकर्ता निराश भएपछि निर्वाचनमा एमालेबाट टिकट लिएर जितिने आशाका साथ उक्त पार्टीमा प्रवेश गरेका नवप्रवेशीहरू पनि उत्साहित छैनन् ।
ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले मूल निर्वाचन परिचालन कमिटीको संयोजकमा स्वयं अध्यक्ष ओली र सचिवमा उपमहासचिव विष्णु रिमाललाई चयन गरिसकेको छ । यससँगै सम्पूर्ण उम्मेदवारको मनोनयन पत्र (टिकट) अध्यक्ष ओलीकै हस्ताक्षरबाट प्रमाणित गरिने निर्णय निर्वाचन आयोगमा पठाइएको छ ।
निर्वाचनपूर्व प्रत्येक राजनीतिक दलले निर्वाचन आयोगलाई दलको निर्णय पठाएर कोद्वारा प्रमाणित मनोनयन पत्रलाई आधिकारिक मान्ने भन्ने व्यहोरा खुलाउनुपर्ने व्यवस्था छ ।
एमालेको च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा त्यो विषयलाई एजेण्डाका रुपमा प्रस्तुत गरिएन । तर, ‘बैठकको निर्णय’ भनी आयोगमा एमालेको पत्र पुगिसकेको छ । त्यसमा महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेका छन् ।
केन्द्रीय कमिटी बैठकमा निर्वाचन मूल समिति गठन गर्ने विषयमा महासचिव पोखरेलले प्रस्तुत गरेको नामावली पेश गरियो । तर, छलफल गर्ने मौका नदिई पारित भएको घोषणा गरिएको थियो । उक्त कमिटीको सचिव विष्णु रिमाललाई बनाइएको छ । जबकी, एमालेमा रिमालभन्दा सिनियर थुप्रै नेता छन् ।
अध्यक्षको संयोजकत्वमा गठन भएको कमिटीमा महासचिव स्वतः सचिव हुने व्यवस्था प्रचलनमा छ । तर, निर्वाचनको टिकट वितरणमा एकल हस्ताक्षरसँग एकल निर्णय गर्ने मनशायका साथ ओलीले कोहीसँग सल्लाह नै नगरी रिमाललाई सचिव तोके । रिमाल ओली समूहका भित्री खेलाडी हुन् ।
विगतमा दुईपटक प्रधानमन्त्री हुँदा ओलीको सम्पूर्ण बद्नामीका पछाडि रिमालकै हात रहेको थियो । उनी ओलीका ‘एसम्यान’ का रुपमा चिनिन्छन् ।
निर्वाचन परिचालन कमिटीको संरचना र गुपचुपमा आयोगमा पेश गरिएको निर्णयले ओलीलाई मन नपरेका व्यक्तिहरु उम्मेदवार बन्न नसक्ने कुरा निश्चित भएको छ । विशेषतः लामो समय माधव नेपालको पक्षमा रहेर अन्तिममा उनको साथ छोड्ने तत्कालीन स्थायी कमिटीका १० भाइ र तिनका पक्षधर आकांक्षीहरु उम्मेदवार नबन्ने कुरा करिव करिव निश्चित भएको हो ।
१० भाइमध्ये योगेश भट्टराई र सुरेन्द्र पाण्डे ओलीको छनोटमा पर्ने सम्भावना छ । तर, यी दुईबाहेकका उनीहरूको पक्षमा लागेर एमालेमै रहेका थुप्रै आकांक्षी खतरामा परेका छन् । त्यसमाथि विभिन्न जिल्लामा फोन गरेरै ओलीले व्यक्तिको नाम तोक्दै तिनलाई सिफारिसमा समेत नपार्नु भनी निर्देशन दिएको हल्लाले एमालेभित्र अर्को आतंक सिर्जना भएको छ ।
ओलीले झापामा रविन कोइराला, मोरङमा लालबाबु पण्डित, सुनसरीमा भीम आचार्य, बारामा पुरुषोत्तम पौडेल, चितवनमा कृष्णभक्त पोखरेल, नुवाकोटमा नारायण खतिवडा, सिन्धुपाल्चोकमा अरुण नेपाल, रुपन्देहीमा घनश्याम भुसाल, पाल्पामा ठाकुर गैरे, गुल्मीमा गोकर्ण विष्ट, कैलालीमा झपट रावल, अछाममा भीम रावल, बझाङमा लालबहादुर थापा, कञ्चनपुरमा डा. दिपकप्रकाश भट्टसहितको नाम सिफारिसमै नपार्न निर्देशन दिएको स्रोतले बताएको छ । उनले केही व्यक्तिको नाम तोकेर एकल सिफारिस पठाउनसमेत निर्देशन दिएका छन् ।
एमालेले जिल्लाहरुबाट उम्मेदवारको नाम सिफारिस गर्न भदौ २२ गतेसम्मको समयसीमा तोकेको छ । प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका लागि तीन-तीन जनासम्मको नाम जिल्ला कमिटीले सिफारिस गर्नुपर्ने छ ।
कतिपय जिल्ला कमिटीबाट नाम आउँदा काट्न नमिल्ने नामहरुलाई सिफारिसबाटै हटाउन दिइएको निर्देशनबारे थाहा पाएपछि केही जिल्लामा पार्टीका संगठित सदस्यबीच निर्वाचन गराई नाम तय गर्नुपर्ने कुरा उठेको थियो ।
पार्टीका पुराना नेता र थुप्रै कार्यकर्ताले यो विधिलाई अबलम्बन गर्न जिल्ला–जिल्लामा दबाब दिएपछि सोमबार ओलीले निर्वाचन परिचालन कमिटीको बैठकमा कतै पनि निर्वाचनको विधिमा प्रवेश नगर्न निर्देशन दिएका छन् ।
उनले निर्वाचनमा जाँदा गुटबन्दी हुने र हार्ने उम्मेदवारले जित्ने उम्मेदवारलाई निर्वाचनमा सहयोग नगर्दा क्षति हुन्छ भन्दै त्यसो नगर्न भनेका थिए । तर, त्यसो भन्नुका पछाडि आफूले नचाहेका मान्छे जिल्ला-जिल्लामा बढी भोट ल्याएर सिफारिसमा परेपछि केन्द्रबाट काट्न अप्ठेरो पर्ने मुख्य कारण रहेको छ ।
केही व्यक्तिका हकमा ओलीले ‘छुटाउनै नहुने’ र ‘सकेसम्म पारिदिनु’ भनी तोकेका छन् । ओलीको सूचीमा ‘छुटाउनै नहुने’ मा झापाबाट आफू, सुनिता बरालसहित भोजपुरबाट शेरधन राई, तेह्रथुमबाट विजय सुब्बा, मोरङबाट भानुभक्त ढकाल, सिराहाबाट जुलीकुमारी महतो, धनुषाबाट रघुवीर महासेठ, बाराबाट अच्युत मैनाली, पर्साबाट वीरगञ्जको मेयरमा पराजित विजय सरावगी, चितवनबाट भरतपुरको मेयरमा पराजित विजय सुवेदी, काभ्रेबाट नविना लामा, सिन्धुपाल्चोकबाट सरेश नेपाल, दोलखाबाट पार्वत गुरुङ, सिन्धुलीबाट प्रदीप कटुवाल, प्यूठानबाट सूर्य थापा, दाङबाट कोमल वली, काठमाडौंबाट उषाकिरण भण्डारी, अञ्जान शाक्य, सुजिता शाक्यसहितको नाम छन् ।
दैलेखबाट विष्णु रिजाल, जाजरकोटबाट निरज आचार्य, बाँकेबाट रत्न खत्रीसहित केही व्यक्तिको नामलाई ‘सकेसम्म पारिदिनु’ भनेर निर्देशन दिएको एमाले स्रोतले बताएको छ ।