Logo
Logo

राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि


252
Shares

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।

सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडीले सहभागिता जनाएकामा प्रादेशिक प्रतियोगितामा सो सङ्ख्यामा खेलाडी र व्यवस्थापक छनोट भएका हुन् । प्रत्येक खेलमा एक जना प्रशिक्षक र एक जना व्यवस्थापक राखिएको छ ।

प्रादेशिक छनोट प्रतियोगितामा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने सवैभन्दा कम मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेछ । भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगितामा कास्कीबाट ६७३ खेलाडी छनोट भएका छन् ।

प्रदेशस्तरीय खेलमा विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी समग्र प्रतियोगिताको खेलको आधारमा स्वर्ण, रजत र कास्यको परिणामलाई मुल्याङ्कन गरी जिल्लालाई प्रथम, द्धितीय र तृतीय घोषणा गरी च्याम्पियन ट्रफी प्रदान गरिने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा गण्डकीबाट ७०९ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा ४०४ इभेन्टमा ४११ पुरुष र २९८ महिला खेलाडीहरुको सहभागिता रहने परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए।

जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि कूल सात करोड ८५ लाख खर्च हुने अनुमान परिषद्को छ । सो रकम विशेष प्रशिक्षण, जिल्ला छनोट, प्रदेश छनोट, खेलाडी बन्द प्रशिक्षण, खेलकुद सामग्री खरीदमा खर्च हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्