Logo
Logo

चौरीदेउराली गाउँपालिकाको वडा कार्यालय निर्माणमा अख्तियारको छानबिन


3.2k
Shares


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकका वडा नं. ८ बिर्तादेउरालीमा वडा कार्यालयको भवन निर्माणका क्रममा अनियमितता भएको छ । वडा अध्यक्ष धन बहादुर तामाङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।


वडा अध्यक्ष तामाङविरुद्ध गत असार १९ गते गाउँलेहरुले नै आयोगमा उजुरी गरेपछि छानबिन सुरु भएको हो । उजुरीमा काभ्रेपलाञ्चोक जिल्ला साविक बिर्तादेउराली गा.वि.स. हाल चौरीदेउराली गा.पा. वडा नं. ०८ बिर्तादेउरालीमा वडा कार्यालय भवन बनाउनका लागि जग्गा किन्ने काममा २०७४ साल जेठ २८ गते जग्गा धनी रमला पन्तबाट साविक पञ्चकमारी वडा नं ३, हाल चौरीदेउराली गा.पा. वडा नं. ०८ बिर्तादेउरालीको कि नं ४८० क्षेत्रफल १–०–०–०(५०८.७४ वर्ग मिटर) भएको जग्गा खरिद गरेको र सोही जग्गामा बडा कार्यालय भवन बनाउन चौरीदेउराली गाउँपालिकाबाट टेन्डर भई वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको उल्लेख गरिएको छ । तामाङ गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट छ सय ३९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।


उक्त वडा कार्यालय भवन सरकारी स्वामित्व रहेको जग्गा साविक पञ्चकमारी वडा नं. ३ हाल चौरीदेउराली गा.पा वडा नं ०८, बिर्तादेउरालीको कि नं. ४८० क्षेत्रफल १–०–०–० (५०८.७४ वर्ग मिटर) भएको स्थानमा बन्नुपर्नेमा वडा अध्यक्ष धन बहादुर तामाङ, जग्गा धनि तथा वडा सदस्य (हाल गाउँकार्यपालिका सदस्य समेत रहेकी) श्रीमती रमला पन्तको मिलोमतोमा निज रमला पन्तको आफ्नै स्वामित्व तथा हकभोग रहेको साविक पञ्चकमारी वडा नं. ३, हाल चौरीदेउराली गा पा वडा नं. ०८ बिर्तादेउरालीको कि नं ४८३ क्षेत्रफल १–४–२–१ भएको जग्गामा निर्माण गरेपछि विवाद सुरु भएको थियो ।


स्थानीय नागरिक समाजका प्रतिनिधिहरुले सो विषयमा नापी कार्यालय काभे्रपलाञ्चोकबाट जारी नक्सा प्रिन्ट भिडायर स्थलगत अवलोकन गर्दा वडा कार्यालय साविक पञ्चकुमारी वडा नं. ३ हाल चौरीदेउराली गा पा वडा नं. ०८ बिर्तादेउरालीको कि.नं. ४८३ क्षेत्रफल १–४–२–१ भएको जग्गामा निर्माण भएको र सो कित्ताको जग्गा उत्तरतर्फ जग्गाधनीहरु क्रमशः साबिक पञ्चकमारी वडा नं ३, हाल चौंरीदेउराली गा.पा वडा नं ०८, बिर्तादेउरालीको कि.नं. ४४ क्षेत्रफल १३–०–२ को हेम लक्ष्मी पन्त, साबिक पञ्चकुमारी वडा नं. ३, हाल चौंरीदेउराली गा.पा वडा नं ८ बिर्तादेउरालीको कि नं. ४४ क्षेत्रफल ०–१५–०–२ ठुली तामाङ र साबिक पञ्चकुमारी वडा न ३, हाल चौरीदेउराली गा पा वडा नं. ०८, बिर्तादेउरालीको कि नं. ४६ क्षेत्रफल १–०–२–३ को चमार सिं तामाङको जग्गा तर्फ सटियर निर्माण भएको स्पष्ट देखिन्छ ।

यसरी जग्गाधनी रमला पन्तसँग वडा कार्यालयलाई जग्गा मिलाएबापत वडा अध्यक्ष धन बहादुर तामाङले वडा कार्यालयको नाममा खरिद गरिएको जग्गासँगैको साबिक पञ्चकुमारी वडा नं.३, हाल चौरीदेउराली गा.पा.वडा नं. ०८, बिर्तादेउरालीको कि.नं. ४८२ क्षेत्रफल ०–१४–०–० भएको जग्गा खरिदबिक्री लेनदेन मिलाएर कारोबार हिसाबकिताबमा मिलान गरी विना पैसामा आफ्नो नाममा पास गरेर भ्रष्टाचार गरेको स्रोत बताएँछ ।


साथै वडा सदस्य रमला पन्तले वडा कार्यालय भवन निर्माण कार्य सम्पन्नपछि यो कार्यालय भवन मेरो नितान्त निजी हकभोग रहेको साबिक पञ्चकुमारी वडा नं ३, हाल चौँरीदेउराला गा.पा वडा नं.०८, बिर्तादेउरालीको कि.नंं. ४८३ क्षेत्रफल १–४–२–१ भएको जग्गामा बनेको हो भनी सार्वजनिक रुपमा भन्दै हिँडेको र करोडौँ मूल्यबराबरको सरकारी सम्पत्ति निजी प्रयोजनमा आउने गरी जिल्ला नापी कार्यालयबाट खटिएको अमिनसहितको टोलीले कित्ताकाट गरी छट्याइएको कि.नं. ४८० क्षेत्रफल १–०–०–० (५०८.७४ वर्ग मिटर) भएको जग्गामा भवन जानी जानी निर्माण नगरी आफ्नो निजी कि.नं. ४८३ क्षेत्रफल १–४– २–१ भाको जग्गामा निर्माण गरी करोडौँ मूल्यबराबरको सरकारी सम्पत्ति हिनामिना गरी भ्रष्टाचारमा संलग्न वडा अध्यक्ष तामाङ, चौरीदेउराली गाउँकार्यपालिका सदस्य तथा जग्गाधनी रमला पन्तलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि बढाउन अनुरोध अख्तियारमा परेको उजुरीमा माग गरिएको छ । आयोगले यससम्बन्धि कागजपत्र मगाएर छानबिन अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्