Logo
Logo

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिकबीच अद्भूत सम्बन्ध


693
Shares

काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो भने विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखद्वारा विभूषित भए ।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसेका छन् ।

भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण, सम्मान गारत निरीक्षण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्रीे हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्रियालगायतका कार्यक्रमा सहभागी हुनेछन् ।

सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा करिब २२ करोड ३८ लाख ३८ हजार मूल्य बराबरको तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, सिमुलेटर, विस्फोटक पदार्थ प्रतिरोध सवारी साधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरणको सहयोग उपलब्ध गराउने भएको छ ।

दुवै सेनाबीच सहअस्थित्व र समानता छ

नेपाल र भारतबीचको विशिष्ट एवं बहुआयामिक सम्वन्धको परिप्रेक्ष्यमा दुवै देशका सेनाबीच आपसी सहअस्तित्व र समानतामा आधारित प्रचलनले समग्रमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा प्रवद्र्धन तथा सामरिक प्रतिरक्षामा समेत योगदान पुग्ने सैनिक प्रवक्ता नारायण सिल्वाल बताउछन् । उनले भने, ‘मानार्थ महारथीबाट शुशोभन गर्ने परम्पराले दुई देशबीच सद्भाव र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पु¥याउदै आएको छ ।’

नेपाल र भारत दुवै मुलुकले यस्तो सुशोभन कार्यक्रम राष्ट्रपति भवनमै आयोजना गर्ने परम्पराले सहअस्तित्व र समानताका आधारलाई पुष्ट्याइ गरेको छ । केही वर्षअघि भएको नाकाबन्दी खुलाउन सैनिक कूटनीतिमार्फत दुवै देशका सेनाको पहलमा ‘ब्रेक थ्रु’ भएको थियो । प्राकृतिक प्रकोप र भूकम्पका समयमा भारतीय सेनाबाट सक्रियाताका साथ खोज, उद्धार र राहतमा सहयोग प्राप्त हुँदैआएको छ ।

नेपाली र भारतीय सेनाबीच सहकार्यका सिलसिलामा विगतदेखि नै एक–अर्का देशमा विभिन्न सेमिनार, तालिम र अभ्यास चल्दैआएको छ । नेपाली सेनाका अनुसार, भारतमा सञ्चालन भएका विभिन्न तालिममा सन् १९८९ देखि हालसम्म दुई हजार चार सय १७ अधिकृत र एक हजार तीन सय ७८ अन्य दर्जाको सहभागिता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्