एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले जनाएको छ ।
आक्रमणकारी आफैले विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन । मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको छ भने ८ देखि १० जना घाइते भएको बताइएको छ ।
रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरूसामु बाहिर निस्केपछि विस्फोट भएको थियो । मस्कोको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एजेन्सीले दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।
काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको र अन्य १० जना घाइते भएको बताएका छन् ।
जादरानले विस्फोटमा एक आत्मघाती आक्रमणकारीको संलग्नता रहेको बताएका छन् । उनले दूतावासबाहिर कुरेर बसेको आक्रमणकारीको भीडको नजिक पुग्नुअघि नै पहिचान सुरक्षाकर्मीले गरेको बताए ।
जादरानका अनुसार सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेका थिए । आक्रमणकारीले गोली चलाउनुअघि विस्फोट गराउन सफल भएको थियो वा गोलीले विष्फोटक पदार्थ विस्फोट गराइएको थियो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।
जादरानले घटनाको अनुसन्धान भइरहेको र प्रहरीले उक्त क्षेत्र बन्द गरेको बताए ।