Logo
Logo

चुनावअघि प्रशासनमा व्यापक सरुवा


9.6k
Shares

काठमाडौं । चुनावअघि हरेक मन्त्रालयमा सरुवाको खेती चलेको छ । निर्वाचन आचारसंहिता लागु हुनुभन्दा अघि धमाधम सरुवा भइरहेको छ ।

गृह मन्त्रालयले केही सहसचिव र केही उपसचिवको सरुवा गरेको छ । सरुवाअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा गृह मन्त्रालयमा कार्यरत सहसचिव चक्रपाणि पाण्डेलाई पठाइएको छ । विभागको महानिर्देशक रहेका बासुदेव घिमिरेलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा सरुवा गरिएको छ ।

अध्यागमन प्रमुख रहेका पुष्पराज शाही बैदेशिक अध्ययनमा चीन जान लागेकालाई उनलाई त्यहाँबाट सरुवा गरिएको मन्त्रालयले जनाएको छ । कारागारमा बसेर अकुत कमाएका घिमिरे भिजिट भिसामा सेटिङ मिलाउन त्यहाँ गएको स्रोत बताउँछ।

त्यस्तै, तेह्रथुमका सिडिओ पनि फेरिएका छन् । जहाँ उपसचिव मोहन प्रसाद अर्याललाई पठाइएको छ । अर्याल इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत थिए । तेह्रथुममा कार्यरत अनोज घिमिरेलाई मन्त्रालयमा सरुवा गरिएको छ । गृहले काठमाडौ, ललितपुर लगायत जिल्लाका सिडिओको पनि सरुवाको तयारी गरिरहेको छ ।

अर्थ मन्त्रायले पनि हालै चलखेलका आधारमा धेरै कर्मचारीको सरुवा गरेको छ । जसअनुसार सेटिङमा निपूण राजेश्वर ज्ञवालीलाई ठूला करदाता कार्यालयमा पठाइएको छ । वीरगञ्ज भन्सारमा अकुत कमाएका अर्जुन पोखरेललाई विमानस्थल हाकिमको प्रमुख बनाइएको छ । अर्थका अधिकृतको सरुवामा पनि चलखेल भएको स्रोत बताउँछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि सरुवाको खेती चलिरहेको छ । हरेक दिन जसो मन्त्रालयले सरुवा गर्दै आएको छ । मन्त्रालयमा लामो समय चलखेल गरेर बसेका बसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ ।

यातायात व्यवस्थापन विभागका महानिर्देशक सुरेश राउतलाई तीन महिनामै हटाइएको छ । उनको श्रम मन्त्रालयमा सरुवा भएको छ । विभागमा टोकराज पाण्डेलाई पठाइएको छ । उपसचिव हुँदा पनि विभागमा बसेकाले सेटिङ मिलाएरै पाण्डे त्यहाँ गएको बताइन्छ ।

सञ्चारका गोगनकुमार हमालको गृह मन्त्रालयमा सरुवा भएको छ । सिडिओमा पठाउनेगरी उनको सरुवा भएको बताइन्छ । स्किम श्रेष्ठलाई संघीय मन्त्रालय, रोशनी श्रेष्ठलाई गृह म्न्त्रालय, शम्भु कार्कीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिलामा उपसचिव र अधिकृतको सरुवामा पनि व्यापक चलखेल भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्