Logo
Logo

अखिल क्रान्तिकारीको मञ्चमा प्रचण्ड र जनार्दनको जुहारी


17.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा बुधबार चिर्वाचन लक्षित ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए भने अर्थमन्त्री तथा माओवादीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ विशेष अतिथि थिए ।

अध्यक्ष र उपमहासचिवबाट प्रशिक्षित हुन धेरै विद्यार्थी सहभागी थिए । तर, उनीहरू अध्यक्ष र उपमहासचिवको जुहारी सुनेर फर्के ।

कार्यक्रम सञ्चालन गरिरहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जनार्दनलाई उपमहासचिव सम्बोधन गर्दै धारणा राख्न रोस्टममा बोलाए । तर, जनार्दनले उपमहासचिव पद अस्वीकार गरे । आफू उपमहासचिव नभएर संगठन विभाग प्रमुखको हैसियतमा सहभागी भएको बताए ।

माओवादीले पदाधिकारी टुंगो नलगाएसम्म जनार्दन पार्टी महासचिवका बलियो दाबेदार थिए । तर, प्रचण्डले देव गुरुङलाई महासचिव बनाएर महासचिवका अर्का दाबेदार वर्षमान पुन ‘अनन्त’ र जनार्दन सहितलाई उपमहासचिव बनाए ।

पार्टीले उपमहासचिवको जिम्मेवारी दिएको दिन देखि नै अस्वीकार गर्दै आएका जनार्दनले बुधबार पनि उपमहासचिव पद अस्वीकार गरे । अध्यक्ष प्रचण्डले अरुको कुरा सुनरे आफूलाई महासचिव नबनाएको आरोप समेत लगाए ।

नेतृत्वको आलोचना र रक्षा गर्नुपर्ने भन्दै जनार्दनले आफू प्रचण्डको कडा आलोचक रहेको बताए । आफूले प्रचण्डको आलोचना र रक्षा दुवै गर्दै आएको बताएका जनार्दनले सही नेतृत्व र नीतिको मात्रै सर्मथन गर्नुपर्ने सम्म भन्न भ्याए ।

घुमाउरो पारामा प्रचण्डले सही नीति लिन र सही नेतृत्व गर्न नसकेको जनार्दनको भनाइ थियो । अरुको कुरा सुनेर आफूलाई महासचिव नबनाएका कारण प्रचण्डको नीति र नेतृत्व गलत रहेको जनार्दनको आशय थियो ।

उनले भने– ‘अध्यक्षको सबैभन्दा कडा आलोचक मै हुँ । ‘अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ । नेतृत्वको कमजोरीको आलोचना गनुर्पछ । म त अध्यक्ष कमरेडको आलोचक हुँ, आलोचना गर्छु । तर, सही नीति र नेतृत्वको मात्र समर्थन गर्न सकिन्छ ।’

कार्यक्रमको अन्त्यमा प्रचण्डले जनार्दनलाई जवाफ फर्काए– ‘जनार्दनले जाँदा जाँदै भन्नु भयो नीति र नेतृत्वको रक्षाको कुरा । जर्नादनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’

पछिल्लो समय संस्थापन इतर गतिविधि गर्दै आएका जनार्दन लामो समय संस्थापन समूहकै नेता थिए । जनार्दनले हरेक कदममा प्रचण्डलाई साथ दिँदै आएका थिए । सोही अनुसार प्रचण्डले जनार्दनलाई जिम्मेवारी र अवसर प्रदान गर्दै आएका छन् । तर, पछिल्लो समय भने जनार्दन संस्थापन इतर समूहको नेताका रूपमा चिनिन्छन् । 

जनार्दनलाई जवाफ फर्काउँदै प्रचण्डले आफू पछिका नेताबाट आफूले गरेका अपेक्षाहरू पनि राखे । मुख्यमगरी पार्टीका आगामी नेतृत्वबारे प्रचण्डको चिन्ता थियो । 

प्रचण्डले भने– ‘अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्, तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्, तिनले तामाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् । र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाती लिएर सबै अगाडि बढून भन्ने छ ।’

माओवादी आन्दोलनका पुरा नेतृत्व माहोन बैद्य, बाबुराम भट्टराई र रामबहादुर थापाहरुको बर्हिगमनपछि माओवादीमा अनन्त र जनार्दनहरूलाई नै प्रचण्डका उत्तराधिकारी नेताका रूपमा हेर्ने गरिएको छ ।
 
उत्तराधिकारी नेतृत्वको रूपमा हेरिएका अनन्त र प्रभारकरहरुले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेपछि प्रचण्डले बारम्बार उत्तराधिकारी नेतृत्वबारे चिन्ता व्यक्त गर्दै आएको छन् ।

प्रतिक्रिया दिनुहोस्