लमजुङ । लमजुङमा प्रत्यक्षतर्फ एक जना मात्र महिला उम्मेदवार सिफारिस भएकी छन्। मंसिर ४ गत हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी हुन् । उनी प्रतिनिधि सभामा समानुपातिक तर्फबाट पनि सिफारिसमा परेकी छन् ।
उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ निर्वाचन लडेकी थिइन् । त्यसयता २०७० र ०७४ मा उनी समानुपातिकमा बसेकी थिइन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ महिलाको नाम सिफारिस भएको छैन ।
लमजुङमा समानुपातिक तर्फ भने २९ जना महिलाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभा सदस्यतर्फ २१ जना महिलाको नाम सिफारिस भएको हो । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट तीनजना, नेकपा एमालेबाट दुईजना, माओवादी केन्द्रबाट दुईजना र नेपाल समाजवादी पार्टीबाट एकजना महिलाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।