Logo
Logo

बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु


378
Shares

चितवन । भैंसी चराउन गएका माडी नगरपालिका-२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

शनिबार स्थानीय मध्यवर्ती सामूदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किएका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो । आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

शनिबार करिब १ बजेको समयमा सूर्यनाथ अधिकारी र उनको छोरा २५ वर्षीय होम बहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए । छोराले आफुले भैंसी चराएर आउने भनी बुबालाई घर पठाएका थिए । त्यसपछि घर फर्किएका सूर्यनाथ बाटोबाटै बेपत्ता भएका थिए ।

छोरा होमबहादुर साँझ भैंसी चराएर घर पुग्दा पनि बुबा सूर्यनाथ घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो । खोजी गर्ने क्रममा सूर्यनाथले लगाएको टोपी, चप्पल र उनले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटोसमेत देखिएपछि परिवारले सूर्यनाथलाई जंगली जनावरले लगेको हुन सक्ने भनी आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए ।

जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्