Logo
Logo

अमरबहादुर र सुतार कार्कीको वंशावली


1.3k
Shares

धरान । सुतार कार्की वंश वृक्ष पुस्तक प्रकाशन भएको छ । भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका प्रधानपञ्च स्व. अमरबहादुर कार्कीले संकलन गरेको पुस्तक उनका परिवारले सार्वजनिक गरेका हुन् ।

वार्षिक पुन्य तिथीको अवसर पारेर परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्की वन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्की स्मृति पुस्तक प्रकाशन गरिएको हो । सो अवसरमा सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा १ कार्यक्रम आयोजना गरिएको थियो ।

अमरबहादुरको निधन २०७८ असोज ३ गते भएको हो । सुतार कार्की अभिभावक वयावृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मावि आमचोक–१ का पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोकका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उनका धर्मपन्ती बसन्तदेवी र रामकुमारी कार्कीलगायतले सयुक्त रुपमा पुस्तक सार्वजनिक गरे ।

२ सय ७० पृष्ठको पुस्तकमा स्व. अमरबहादुरले ७ बर्ष लगाएर प्रदेश १ तथा आसपासका जिल्लामा बसोबास गर्ने सुतार कार्कीको पुस्तावली समावेश गरेका छन् । अमरबहादुरको जीवनी, उनका विषयमा विशिष्ठ व्यक्तिले लेखेका लेखसमेत समावेश गरिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले बताए ।

सुतार कार्की कुलपूजा विधि, गोठधुप पूजा विधि, सुतार कार्कीको इतिहास, वंश परमपरा र जातिका विषयबस्तु समेटिएका छन् । बार्षिक तिथिमा पुराण लगाउन फजुल खर्च नगरेर त्यो पैसाले गरिब असहायलाई सहयोग गर्ने योजनासहित पिताका नाममा संस्था खोली सामाजिक काम गर्ने उनले बताए ।

पुस्तकका संरक्षकसमेत रहेका छोरा विश्वराम कार्कीले स्व. पिताका नाममा ट्रष्ट स्थापना गरेर उहाँले पढेको विद्यालय र पढाएको विद्यालय तथा असाहाय व्यक्तिलाई सहयोग गर्ने बताए । पुस्तक प्रककाशन पहिलो र ऐतिहासिक काम भएको बताउँदै यस वंशावलीलाई थप परिस्कृत र पूूर्ण बनाउन सुतार कार्की सेवा समितिसँग सहकार्य गर्ने उनको भनाइ छ ।

कार्यक्रममा अमरबहादुरका भाई तिर्थराज, सँगै विद्यालय अध्ययन गरेका पुन्यप्रसाद पराजुली, पशुपति कार्कीले अमरबहादुर कार्कीको देन, भोजपुरको आमचोक क्षेत्रमा उनले गरेको योगदान र गतिविधीबारे चर्चा गरे ।

अमरबहादुरको चिनारी
२००४ चैत ४मा भोजपुरको आमचोक वासिङ थर्पू–१ सिमन्तुवामा अमरबहादुरको जन्म भएको थियो । पिता गुमासिंह (केशरजंग) कार्की र माता स्व. रत्नमाया कार्की हुन् ।

अमरबहादुरले कक्षा ५ सम्म स्थानीय भवानी प्रावि (हाल पञ्चकन्या मावि) वासिङ थर्पूमा अध्ययन गरे । कक्षा ६ देखि ९ सम्म भोजपुरको विद्योदय माविमा पढे । त्यसपछि विभिन्न व्यावहारिक र घरायसी कामले पढाई अघि बढाउन सकेनन् । उनी धार्मिक व्यक्ति थिए ।

पण्डित डिल्लीराम पराजुली, प्राध्यापक कुलप्रसाद पराजुली, डम्बरुबल्भव कोइराला, पण्डित छविलाल पोखरेललगायतको संगतले सँस्कृत शिक्षा लिएका थिए । औपचारिक सँस्कृत नपठेपनि बनारस, अयोध्यालगायत भारतका धाममा बसेर सँस्कृति शिक्षा आर्जन गरेका थिए ।

उनको स्वभाव
उनका साथी पुन्यप्रसाद पराजुलीका अनुसार विद्यालयमा पढ्दासम्म अमरबहादुर शान्त, लजालु, एकान्तप्रिय, कम बोल्ने स्वभावका थिए । विद्यालयमा पछाडिको कुनामा बस्न रुचाउँथे ।

शिक्षकले सोधेका प्रश्नको उत्तर भने सटीक दिन्थे । अलिकति टेढो बसेर घुँडामा कापी राखी ढिलो लेख्ने बानी थियो । तर, अक्षर कसिला र कलात्मक हुन्थे । तराई निरन्तर झरिरहन्थे । शहरमा आउने नयाँ सामान र खानेकुराको नयाँ स्वाद परिवारलाई चखाउँथे । घरमा जस्तापाताको छाना लगाउने सम्भवतः उनी गाउँकै पहिलो हुन् ।

तराईबाट सिमेन्ट बोकाएर लगी घरमा प्रयोग गरेका थिए । कपडामा लगाउने आइरन उनकै घरमा मात्र थियो । गाउँभरका मानिसलाई आइरन प्रयोग गर्न दिन्थे । कपाल काट्ने कैंची गाउँमा बिरलै पाइन्थ्यो ।

आधुनिक किसिमको कैंची उहाँले तराईबाट ल्याएका थिए । त्यो कैंची गाउँभरिकालाई कपाल काट्न प्रयोग गरिन्थ्यो ।

जागिरे जीवन
२२ वर्ष पुगेपछि उनले गाउँ पञ्चायतको सचिवको रुपमा सेवा थाले । झापाको चन्द्रगढीमा ३ महिने तालीम समेत लिएका थिए । तालीमबाट श्रेस्ता नियम कानुन, जनताका सेवा, कामको तौरतरिकाबारे जानकारी प्राप्त गरे ।

२०२८ सालसम्म सचिव भएर काम गरे । भोजपुरका ६५ गापमध्ये दोश्रोमा उनको कामको चर्चा हुने गरेको थियो । २०३१ मङ्सिर २७ बाट केही समय श्री पञ्चकन्या निमाविको सहायक शिक्षक पनि भए ।

२०५४ सालमा पञ्चकन्या निमाविको विद्यालयल व्यवस्थापन समिति सदस्यमा मनोनित हुनु भएका थिए ।

जनप्रतिनिधिका रुपमा अमरबहादुर
सचिव हुँदाको कामले २०२९ सालको निर्वाचनमा गापको प्रधानपञ्चको उम्मेदवार भई प्रतिद्वन्द्वी सिंहराज राईलाई भारी मतले पराजय गरी गाउँ सरकारको भूमिकामा आए । ५ वर्ष प्रधानपञ्च भएर सेवा गरे।

विकास निर्माणका काम अघि बढाए । उनकै पालामा वासिङ थर्पूको पञ्चकन्या प्रावि बनेको थियो । त्यसपछि उनी जिल्ला पञ्चायतको सदस्यमा निर्वाचित भए । उपप्रधानपञ्च त्यसपछि प्रधानपञ्च, जिल्ला सभाषद् अनि क्षेत्रीय सदस्यसमेत भएर काम गरे ।

क्षेत्रीय सदस्यको जिम्मेवारी सम्हालेका बेला ७ वटै पञ्चायत र छिमेकी जिल्ला खोटाङका केही गाउँ पञ्चायतसमेतका जटिलभन्दा पनि जटिल परिस्थितिकोे सहजतापूर्वक समाधान निकाल्न सक्षम भएका कारण क्षेत्रीय नेताका रूपमा अमरबहादुर उदाए । जिल्लाका हरेक राजनीतिक, सामाजिक र सरकारी कार्यालय उनको नाम र क्षमताको चर्चा हुन्थ्यो ।

धार्मिक व्यक्तित्व
परम्परादेखि नै वैदिक सनातन हिन्दू धार्मिक सामाजिक परम्परा अङ्गीकार गरेको परिवारका स्व. अमरबहादुरमा पनि सो धार्मिक सामाजिक चेत र व्यवहार थियो । बिहान–बेलुका नित्य पूजा–आराधना गर्थे ।

घरमा स्नान-दान, विभिन्न पुराणको आयोजना, श्राद्ध, रुद्री, अतिरुद्री, विभिन्न देवीदेवताको उपासना, पूजा, कुलपूजा आदि धार्मिक आराधना र साँस्कृतिक एवं सामाजिक कार्य उगरिरहन्थे ।

विभिन्न निकायबाट आएका विशेष अतिथिको सत्कार र साथीभाइ तथा कार्यकर्ता भेला, भेटघाट, चियापान, खानपिन, ब्राह्मणको सत्कारसहित भोजन गराउनेजस्ता कार्यले उनीभित्रको सेवाभाव पनि प्रष्टिन्छ । २०४६ साउन १९ देखि ३० गतेसम्म अतिरुद्री महायज्ञ लगाए ।

महायज्ञमा रुद्री, चण्डी, शिव मन्त्र, शिव गायत्री ब्रह्मा गायत्री, विष्णु मन्त्र र गायत्री गीता आदिको पाठ गरी सम्पूर्ण सुतार कार्कीका पितृ र कुलको उद्वार गर्ने काम भएको थियो । सुतार कार्की, वासिङ थर्पूवासी, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर लगायतबाट विभिन्न व्यक्तित्व सहभागी भए ।

महायज्ञमा पण्डित १५ जना र पुरोहित ३२ जना थिए । अमरबहादुरको इच्छाअनुसार होम गरेको भागलाई शिव मन्दिरमा रुपान्तरण गरिएको छ ।

जेठा छोरा शंकरको सक्रियतामा २०७५ भदौ १३ गते मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्