Logo
Logo

खोटाङमा शल्यक्रिया सेवा बन्द


378
Shares

खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

‘एनेस्थेसियन’ बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी छ । दुर्घटनामा परेर उनको खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा. नितु लामाले जानकारी दिइन् ।

भनिन्, ‘दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो । सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्न मिल्दैन । अरुले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो ।’ नागरिकलाई अगाडि नै जानकारी होस् भनेर औपचारिकरूपमा सूचना जारी गरेर गर्भवतीको शल्यक्रिया सेवा नै बन्द गरिएको अस्पतालले जनाएको छ ।

जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवती दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसूति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लामा २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राही चिन्तित बनेका छन् । जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य किरामीलाई काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लानुपर्ने अवस्था सिर्जना भएको छ । यहाँ लानुपर्दा कम्तीमा २ लाख ५० हजारसम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

अर्थावस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् । तर, अर्थावस्था कमजोर भएका परिवार उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य भएको घटनासमेत रहेका छन् ।

स्वास्थ्यमा जटिल किसिमका समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा बसाइँसराई बढ्दो छ । उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि ऐंसेलुखर्क र दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

जिल्लाका दुवै प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि उनीहरु बस्दैनन् । २०४८ सालमा १५ शय्या क्षमतामा स्थापना भएको अस्पताललाई गत आर्थिक वर्षबाट ५० शय्यामा स्तरोन्नति गर्ने काम सुरु गरिएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि सरुवा भएर आएका चिकित्सक बस्दैनन् ।

प्रतिक्रिया दिनुहोस्