Logo
Logo

अन्तिम बैठक : प्रधानमन्त्रीले सुरु गरे, ओली-प्रचण्ड भिडे


35.6k
Shares

काठमाडौं । मंसिर ४ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा भएसँगै आज राति १२ बजेदेखि वर्तमान संसद् अन्त्य हुँदैछ । 
संसद्को अन्तिम बैठक पाँच वर्षे अवधिको समीक्षा गर्दै सांसदहरू सद्‌भावपूर्ण वातावरणमा छुट्नुपर्ने अपेक्षा थियो । तर, नेताहरूले जुहारी खेलेर पाँच वर्षे कार्यकालको बिट मारे ।

वर्तमान संसद्को पाँच वर्षे अवधि सुखद भएन । त्यसको एक मात्र कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन थियो । संसद्को अन्तिम बैठक पनि सोही विषयले तातियो ।

बैठकको प्रारम्भमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् तताउने वातावरण बनाए । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चलेको जुहारी रोचक रह्यो ।

प्रारम्भमा प्रधानमन्त्री देउवाले ‘परमादेशकै कारण सँगै काम गर्न पायौ’ भन्दै एमाले अध्यक्ष ओलीलाई गिज्याए, बारम्बार परमादेशी सरकार भन्दै आएका ओलीलाई जवाफ दिए ।

त्यसपछि ओलीको बोल्ने पालो आयो । ओलीले अन्तिम बैठकबाट पनि प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम ठीक रहेको भन्दै प्रतिरक्षा गरे । ‘परमादेशबाट सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो’ सम्म भन्न भ्याए ।

सम्बोधनका क्रममा ओलीले भने– ‘प्रतिनिधिसभा विघटन गर्नु गलत थिएन । जनताबाट पाएको जनमत खण्डित भएको थियो । त्यस्तो अवस्थामा संसद विघटन गर्दै निर्वाचन घोषणा गर्नुको विकल्प थिएन । त्यो कसरी प्रतिगमन भयो ? प्रतिगमन त परमादेशबाट सरकार गठन गर्नु हो । त्यहाँ प्रतिगमन भएको थियो । निर्वाचन घोषणा गर्नु प्रतिगमन हो भने वर्तमान सरकारले पनि निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको छ ।’

ओलीपछि माओवादी अध्यक्ष प्रचण्डको पालो आयो । ओलीले सम्बोधनका क्रममा अनेक झुट बोलेको भन्दै ओलीको बोलीको एक–एक खण्डन गर्दै प्रश्नै प्रश्न गरे ।

सम्बोधन क्रममा प्रचण्डले ओलीलाई सोधे– ‘हाम्रो संविधानको कुन धारणमा पाँच वर्ष पूरा नगरी प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भनेर लेखेको छ ? प्रतिनिधिसभाले अर्को सरकार दिनसक्ने अवस्था हुँदा हुँदै विघटन गरेर निर्वाचन घोषणा गर्नु कुन संविधानको आधारमा थियो ? यो प्रतिगमन नभएर के हो त ?’

प्रचण्डले संसद अन्तय हुने समयसम्म आइपुग्दा ओली सच्चिएलान् भन्ने लागेको भए पनि उस्तै अवस्थामा देखेको भन्दै दुःख व्यक्त गरे । संसद अन्त्य हुने समयमा ओली उस्तै उदण्ड रूपमा प्रतिस्तुत भएको प्रचण्डको टिप्पणी थियो ।

प्रचण्डले भने– ‘असंवैधानिक कदम चालेका प्रमुख प्रतिपक्षी दलका नेताले यहाँसम्म आइपुग्दा आत्मसमीक्षा गरे होलान् भन्ने लागेको थियो । तर, त्यस्तो होइन रहेछ । आज आएर पनि भ्रम नै छर्न खोज्नु भयो । हामीलाई संविधान र नियम कानुन नै थाहा नभए झै गर्नु भयो । यो सुन्दा दुःख लाग्यो ।’

त्यसपछि बोलेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देउवा, ओली र प्रचण्डकै पारामा धारणा राखे । खनालले ओलीको असंवैधानिक कदमका कारण विकास र समृद्धिको यात्रा रोकिएको र नेकपा विघटन भएको भन्दै ओलीको चर्कोका आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्