Logo
Logo

राष्ट्रपतिद्वारा प्रा. डा. सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान


945
Shares

लन्डन । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्ने घोषणा गरेका छन् । जसअनुसार प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान गरिएको छ ।

अहिलेसम्म गैरआवासीय नेपालीहरुले पाएका मानपदवीहरुमध्ये यस्तो उपल्लो तहको मानपदवी पाउने प्रा. सुवेदी पहिलो व्यक्ति हुन् । भौतिकरूपमा विदेशमा रहे पनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा. सुवेदीले आफ्नो योगदानको मुल्यांकन भएकामा नेपाल राष्ट्रप्रति आभार व्यक्त गरे ।

सरकारमा जो आए पनि परिआउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिका रूपमा नेपालका सबै प्रकारका सरकारलाई प्रा. सुवेदीले सल्लाह दिँदै आएका छन् ।

नेपालको नयाँ नक्सा समावेश गरेर संविधान संशोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सीमासम्बन्धी विज्ञ समूहको सदस्यका रूपमा भूमिका निर्वाह गरेका छन् । साथै नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा. सुवेदीले आफ्नो भूमिका निर्वाह गरेका छन् भने सन् २०२२ मा अमेरिकासँगको एमसीसी सम्झौता संसद्ले अनुमोदन गर्ने कार्यमा उनको भूमिका प्रशंसनीय रहेको सरकारको भनाइ छ ।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने प्रा. सुवेदी संसारकै प्रतिष्ठित विद्वत व्यक्तित्वभित्र पर्छन ।

प्रतिक्रिया दिनुहोस्