Logo
Logo

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन


- दृष्टि न्युज/संवाददाता

0
Shares

कावासोती, २९ साउन । पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले बताए । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए । पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनले बताए ।
भाँचिएको पुल मर्मतका लागि भने केही समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उनले बताए ।
बुधबार बिहान ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
पूर्वपश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीमा रहेका पुलहरु झण्डै वर्षेनीजस्तो कुनै न कुनैमा क्षति पुग्ने गरेका छन् । यसबाट यात्रुहरुले समस्या झेल्ने गरेका छन् । नवलपरासीको नवलपुरअन्तर्गत पर्ने जयश्री पुल, बौलाहाखोला पुल, लोकाहा पुलमा गत वर्ष सवारीले ठक्कर दिई क्षति पुग्दा महीनौँसम्म यात्रुले सास्ती पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्